गाउँ जोगाउने बारपाक मोडल
लाहुरेहरूको गाउँ भनेर परिचित बारपाकले बिगत ६ वर्षदेखि भूकम्पको केन्द्रबिन्दूको परिचय थप गर्यो। घले, गुरुङहरूको एघार सय घरधुरी एकैठाउँमा झुरूप्प बसोबास भएको यहाँ ४० घर विश्वकर्मा समुदाय पनि छन्। तथ्यांकगत रूपमा भन्न कठिन भए पनि अधिकांश बारपाकी ब्रिटिस, सिँगापुर र भारतीय सेनाका भूपू र कार्यरत छन्। एकिन तथ्यांक दिन कठिन छ। तर, कैयौं बारपाकीहरू अमेरिका, हङकङ र युरोपतिर छन्। सरसर्ती हेर्दा थोरै प्रतिशतबाहेक बारपाकवासी सम्पन्न छन्। त्यसैले गाउँ पनि देशकै अत्यन्त सुन्दर र आकर्षक छ।
२०७२ सालको भूकम्पले यहाँका करिब एकहजार घरधुरी माटोमा मिलायो। सरकारले निजी आवास पुनर्निर्माणको अवधारणा ल्याउनुअघि नै बारपाक जाग्न थाल्यो। सरकारी तथा विभिन्न सामाजिक संस्थाहरूले बारपाकलाई एकीकृत नमुनाबस्तीको रूपमा विकास गर्न परियोजना बनाउन थाले। तर, स्थानीयवासीले सरकारी तथा गैरसरकारी लम्बेतान प्रक्रिया नपर्खी धमाधम निजी आवास निर्माण गरे। अहिले स्वतस्फुर्त रूपमा पहिलेको भन्दा बलियो, सुन्दर र सम्पन्न बारपाक निर्माण भएको छ।
परम्परा, संस्कार र संस्कृति अवलम्बन गर्दै गाउँ बनाउने यहाँका बासिन्दाको आफ्नैपन छ। देश वा विदेश जहाँ रहेर पनि गाउँको साख जोगाउने उनीहरूमा अनुपम गाउँप्रेम छ। बारपाकका ६३ वर्षका मीनबहादुर घले ब्रिटिस सेनामा १९ वर्ष काम गरी निवृत्त भए। स्थानीय आवासीय सुविधा पाएर बेलायत बसेको १४ वर्षपछि उनी बाँकी जीवन गाउँमै बिताउन चार महिनाअघि बारपाक फर्किए। उनका बुबा ४ वर्षअघि ८५ वर्षको उमेरमा बेलायतमै बितेका थिए। ८३ वर्षकी आमालाई बेलायतमा बस्न मन लागेन त्यसैले आमाको आग्रहमा सपरिबार बारपाक फर्किएका हुन्। काठमाडौंमा पनि घर छ, यूकेमा पनि। छोराछोरी उतै पढ्छन्। तर, उनी बारपाकमै फर्किए। सेनामा काम गरुञ्जेल पनि नियमित रूपमा जन्मथलो आउजाउ गरिरहन्थे। अब स्थायी रूपमै बस्न आए। २०७२ सालको भूकम्पले तहसनहस घर करोडभन्दा धेरै खर्च गरी पुनर्निर्माण गरिसकेका थिए। अहिले ८३ वर्षकी आमा, धर्मपत्नी र उनी त्यही घरमा बस्छन्। गाउँलेलाई आफ्नो थातथलोप्रति अगाध मोह छ। त्यसैले रोजिरोटीका लागि जहाँ पुगे पनि गाउँ फर्किने परम्परा रहेको उनको भनाइ छ। कामको सिलसिलामा जुन देशमा गए पनि निवृत्त भएपछि गाउँ फर्कने बारपाकका बासिन्दाको परम्परा हो। घर घडेरी, जहान परिवार जुन देशमा, जुन सहरमा भए पनि गाउँ फर्कनुलाई उनीहरू बाउबाजेको पालादेखिको चलन सम्झन्छन्।
गाउँ फर्कने चाहना घरमुलीको मात्र हुँदैन। परिवारले सहजै साथ र सहयोग गर्छन्। ‘ठूला सहरमा एकछिनको मात्रै रमाइलो हो। साँच्चैको रमाइलो आफ्नै गाउँमा हुन्छ। जुन देशमा, जुन सहरमा बसे पनि गाउँ चटक्कै छोड्ने चलन छैन’,बेलायतबाट फर्केकी सीता घले भन्छिन्। जलविद्युत् उद्यमी वीरबहादुर घले बिगत ३० वर्षदेखि काठमाडौंमै व्यस्त छन्। काम विशेषले बर्षमा कैयौं पटक विदेश आउजाउ गरिरहनुपर्छ। अन्तर्राष्ट्रिय सम्मेलनहरूमा ग्रामीण विद्युतीकरणसम्बन्धी प्रशिक्षण दिन्छन्। काठमाडौंमा घरजम छ। सबै सुख, सुविधा छ, पुगिसरी छ, तर सबै काम थाती राखेर पनि उनी नियमित बारपाक आउजाउ गर्छन्। गाउँ आउँदा बस्नका लागि सुविधासम्पन्न पक्की घर बनाउँदैछन्। देशमा सहरको रहरले गाउँ खण्डहर भएका धेरै उदाहरण छन्। तर, बारपाकमा त्यस्तो छैन। बारपाक बनाउनुपर्छ र बनाउने आफैंले हो भन्ने बारपाकीलाई राम्रै ज्ञान छ त्यसैले जो जहाँ भए पनि गाउँ बिर्संदैनन्, गाउँ छाड्दैनन्। देशका ठूला सहर र देशबाहिर बसोबास गर्ने बारपाकीको संख्या सरोबरी छ। कामको सिलसिलामा जो जहाँ गए पनि, जहाँ बसे पनि उतै पलायन हुँदैनन्। दाजुभाइका पूजाआजा, बिहे, मृत्यु संस्कारहरूमा नियमित आइरहन्छन्।
जो जहाँ चर्न पुगे पनि बसाईसराइ भन्ने कुरा हिजोदेखि नै बारपाकमा छँदैछैन भन्छन् वीरबहादुर। ‘चाहे जतासुकै, जेसुकै जस्तोसुकै प्रगति गरे पनि आफ्ना दाजुभाइ छाड्ने भन्ने छँदैछैन। जन्मथलोमा एउटा घर हुनैपर्छ, आउनेजाने गर्नैपर्छ भन्ने हिजो पनि थियो, अहिले पनि छ। भोलिका दिनमा पनि बारपाकलाई गुल्जार बनाइरहनुपर्छ भन्नेमा हाम्रो प्रयास रहन्छ। नयाँ पुस्तामा पनि गाउँप्रतिको माया ममता रहिरहोस् भनेर नियमित गाउँमा ल्याउने लाने गरिरहन्छौं। सहरमै रमेका नयाँपुस्तालाई गाउँको रीतिथिति, चालचलन, संस्कार, संस्कृति सिकाउने गर्छौं’,यो उनकै शब्दहरू हुन्।
गाउँघरका दाजुभाइको सामूहिक पूजाआजा, मर्दापर्दा लाग्ने विभिन्न बस्तुहरू देशविदेशमा भएकाहरूले पनि तिरिरहन्छन्। विदेशमा भएकालेहरूले गाउँका सामाजिक काममा श्रमदान गर्न सक्दैनन् त्यसैले उनीहरूले त्यसबापत लाग्ने सेवाशुल्क तिर्छन्। मर्दापर्दा दामासाहीले पैसा उठाउने चलन छ। मुठी उठाउने परम्परा छ। आफ्नो भागमा लागेको शुल्क विश्वको जुन देशमा रहेको भए पनि तिरिरहन्छन्। यदि लागेको दस्तुर कुनै दाजुभाइसित उठाइएन भने नराम्रो मान्छन्।
स्थानीय एक स्कुलका प्रिन्सिपल प्रदीप गुरुङका अनुसार यहाँका मान्छेमा गाउँप्रेम यति छ कि, बरु सहरको घर छोड्लान् तर गाउँको घर छाड्दैनन्। यूके, हङकङ, अमेरिका बसेकाहरू यदि उत्तै मरे भने अन्त्येष्टि गर्न जति दिन, महिना लगाएर पनि, जति खर्च गरेर पनि, भिसा हानेर पनि गाउँमै ल्याउँछन्। गाउँमै बरखी (अर्गुङ) गर्छन्। देशबाहिर स्थायी रूपमा बस्नेहरूले आफ्नो घरबारीको रेखदेख र स्याहारसम्भार गर्न नजिकको दाजुभाइलाई जिम्मा दिएका हुन्छन्। कसैको घरमा घाँस उम्रिएमा, बेस्याहार भएमा दाजुभाइकै इज्जतमाथि प्रश्न उठ्छ भन्ने मान्यता छ। त्यसैले मान्छे नभएका कुनै पनि घरमा झारपात, झाडी उम्रिएको पाइँदैन।
गाउँका हरेक दाजुभाइको वर्षभरिको खर्चको हिसाबकिताब चण्डीपुर्नेको दिनमा हुन्छ। लागेको खर्च कसैबाट आएन भने उसको नजिकको दाजुभाइले तिरिराख्छन्। बाहिर हुनेबाट पछि असुलउपर गर्छन्। ‘घरवालाहरू दुई÷तीन वर्षसम्म नआए पनि कसैको घरमा झारपात उम्रिएको हुन्न, कसैको जग्गा बाँझो हुन्न। दाजुभाइले रेखदेख गरिराखेको हुन्छ’, अर्का स्थानीय दूतराज घले भन्छन्। बारपाकका भारतीय तथा ब्रिटिस सेनाका भूपू सैनिकहरू गाउँघरमै भेटिन्छन्। उनीहरू जहाँ घरजग्गा बन्दोबस्त गरेर बसेको भए पनि सक्थे, तर कतै पलायन हुँदैनन्। गाउँमै बस्छन्।
सन् १९४५ मा भर्ती भएर १९६५ मा निवृत्त भएका ९२ वर्षका पूर्वभारतीय सैनिक वनबहादुर घले ‘जुनबेला भगवानले लान्छ, त्यही बेला गाउँ छाड्ने हो’ भन्छन्। भारतीय सेनाबाट निवृत्त भएर फेरि दोहोरो सरकारी सेवा गरेका ७५ वर्षका धनबहादुर पनि १५ वर्षअघि गाउँ फर्किए। उनी जहाँ घर बनाएर बस्न चाहेको भए पनि सक्थेँ, तर म बसेनन्। बारपाकमा उनीजस्ता एउटै घरमा तीनचारजना भूपू, तीन÷चार जना बहालवाला लाहुरे छन् तर कसैले ठाउँ छाडेका छैनन्। दाजुभाइ, इष्टमित्र सबै गाउँमै बसेकाले उनीहरू पनि देखासिकी गर्न बाध्य हुन्छन्। १९०० मिटर उचाइमा रहेको बारपाकमा एघारसय घरधुरी छन्। उनीहरूमध्ये ४० घर दलित समुदायको छ, अरू सबै घले र गुरुङहरू मात्र हुन्। गर्मी पनि नहुने, सर्प पनि नलाग्ने, मच्छेड पनि नलाग्ने, हावापानी राम्रो भएकाले गाउँ नछाडेको उनीहरू बताउने गर्छन्।
गाउँको सिरानमा मनेडाँडा छ। प्रायः भूपूहरू त्यहीँ भेला हुन्छन्। देश, विदेशका कुराकानी गर्छन्। समय बिताउँछन्। नजिकैको वन बिहार गर्छन्। ‘ज्यान तन्काउन एकछिन वनमा पस्यो, सिस्नु त्यहीँ पाइन्छ। च्याउ त्यहीँ पान्छ। न्यूरो पाइन्छ। वनको सागसब्जी त्यहीँ पाइन्छ। छाक टार्न पनि सजिलो, स्वास्थ्यलाई पनि राम्रो’ तमाम भूपूको प्रतिनिधि बोली वनबहादुर घलेले यसरी भने। सहरिया हुनुलाई यहाँ कसैले राम्रो नमान्ने उनी बताउँछन्।
प्रतिक्रिया दिनुहोस !