औषधिमा आत्मनिर्भरता
लामो समयदेखि आयुर्वेद, आम्ची, जडीबुटी, झारफुक र अन्य घरेलु उपचारको क्रममा नेपालीले आफूलाई चाहिने औषधिको जोहो आफैैं गर्दै आएका हुन्। सरकारबाट चार सय वर्षपहिले स्थापना भई अहिलेसम्म चलेको सिंहदरबार वैद्यखाना विद्यमान नेपाली औषधि उद्योगमध्ये पुरानो मानिन्छ । सरकारी प्रयासमै विसं २०२९ मा नेपाल औषधि लिमिटेड र विसं २०३८ मा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड स्थापना भएका थिए। आधुनिक औषधि उत्पादनको सुरुआत विसं २०२६ मा निजी क्षेत्रको केमिड्रग उद्योगबाट सुरु भएको हो।
सन् २००८ बसेको विश्व स्वास्थ्य सभाले औषधिमा पहुँचको लागि विकासोन्मुख देशहरूले घरेलु उत्पादनमा जोड दिनुपर्ने प्रस्ताव पारित गर्यो। त्यस बेलासम्ममा कुल घरेलु मागको करिब ३५ प्रतिशत औषधि नेपालमै उत्पादन हुन थालेको थियो। पछिल्लो उपलब्ध विवरणअनुसार एलोपेथिक, आयुर्वेदिक र भेटेरिनरीसमेत जोड्दा आर्थिक वर्ष २०७६÷०७७ मा औषधि बजार ५१ दशमलव ११ अर्ब रुपैयाँको थियो, जसमध्ये ४८ प्रतिशत आपूर्ति घरेलु उत्पादनबाट भएको थियो। उसो त यसबाहेक आर्थिक वर्ष २०७६÷०७७ मा ९ अर्ब रुपैयाँको कच्चा पदार्थ र २ दशमलव ५ अर्ब रुपैयाँको प्याकेजिङ सामग्री पनि आयात भएको थियो। औषधिमा आत्मनिर्भरतातर्फको पाइला मुख्यतः निजी क्षेत्रको सक्रियतामा अघि बढ्दैछ।
उद्योग विभागले गरेको एक अध्ययनअनुसार दर्तामा रहेका १ सय ९ वटा औषधि उद्योगमध्ये हाल ६६ वटाले एलोपेथिक, ३ वटाले आयुर्वेदिक र ९ वटाले भेटेरिनरी औषधि उत्पादन गर्छन्। ती उद्योगमा कुल ३५ अर्ब रुपैयाँ लगानी भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) को भनाइमा औषधि उद्योगले ५० हजार मानिसलाई रोजगारी दिएको छ। विभिन्न प्रत्यक्ष÷अप्रत्यक्ष कर र कर्मचारीले तिर्ने आयकरले देशको अर्थतन्त्रमा खेल्ने भूमिका महत्त्वपूर्ण छ। औषधिको बजार वार्षिक ७ प्रतिशतले वृद्धि भइरहेको परिप्रेक्ष्यमा आउँदा दिनमा यस क्षेत्रमा लगानी र रोजगारीको अवसर अझै बढ्ने देखिन्छ।
कच्चा पदार्थमा आत्मनिर्भरता
जनस्वास्थ्यसित जोडिएको औषधि उत्पादनले राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा खेल्ने भूमिका स्पष्ट छ। सबै औषधि उत्पादनको मात्रात्मक र गुणात्मक दुवै प्रकारको महत्त्व हुन्छ। औषधिमा प्रयोग हुने गुणस्तरको कच्चा पदार्थ उत्पादनमा हाम्रो उपलब्धि नगन्य छ। तयारी फर्मास्युटिकल उत्पादनले कुल खपतको आधा हिस्सा ओगटिसक्दा पनि हामी कतिपय औषधिका लागि पूरै परनिर्भर छौं। यहाँ घरेलु उत्पादन हुन नसकेका त्यस्ता क्षेत्र र समाधानका उपायबारे विवेचना गरिन्छ।
औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ धेरै किसिमका छन्। सजिलोका लागि तिनलाई चार समूह बनाई छलफल गर्न सकिन्छ। औषधिको सिधा सम्पर्कमा नआउने प्याकेजिङ सामग्री (सेकेन्डरी प्याकेजिङ), औषधिको सिधा सम्पर्कमा आउने भाँडो वा प्याकेजिङ सामग्री (प्राइमरी प्याकेजिङ), औषधीय गुण भएको पदार्थ (एपीआई), र औषधीय गुण नभएको तर औषधिमा मिसाइने पदार्थ (एक्सिपिएन्ट्स)। एपीआईलाई छाडेर अन्य समूहका अधिकांश कच्चा पदार्थको उत्पादन त्यति कठिन छैन, कस्सिएर लाग्ने हो भने एपोनको पहलमा त्यस्ता उद्योग स्थापना सम्भव छ।
सेकेन्डरी प्याकेजिङ कार्टुन÷बट्टा बनाउन प्रयोग हुने सबै खाले पेपरबोर्ड, कार्डबोर्ड, एड्हेसिभ टेप, बट्टा कस्न प्रयोग हुने प्लास्टिक, स्टिल, नाइलन आदिका डोरी बनाउन सक्षम छ। लेबलिङको मसी, मेसिनहरू पनि नेपालमै उत्पादन गर्न सकिन्छ। यस्तो प्रयासको लागि एपोनमात्र हैन खाद्य उद्योग, खेलौना उद्योग, जुत्ता उद्योग, ढुवानी कम्पनी, होटेल, व्यापारीदेखि लिएर बट्टा र फित्ता, टेप वा डोरी प्रयोग गर्ने सबैजसो उद्योग व्यवसायको हातेमालो सम्भव छ।
प्राइमरी प्याकेजिङका लागि देशको ठुलै धनराशि बाहिरिइरहेको छ। औषधिका लागि उपयुक्त प्लास्टिक र ग्लासका बोतल नेपालमा उत्पादन नभएको नेपाली पुँजी र उपलब्ध प्रविधिले नभ्याएर हैन, इच्छाशक्तिको अभावले हो। सुईद्वारा दिइने सानो आकारमा आउने (स्मल भोलुम) औषधिको उत्पादन सुरु भएसँगै नेपालमा स्तरीय एम्पुल र भायलको बजार वृद्धि हुन्छ, र बजार अलि ठूलो भएपछि यस्ता कन्टेनर पनि नेपालमा बनाउन सकिन्छ। उत्पादित ट्याब्लेट वा क्याप्सुल नबिग्रियोस् भनी तिनलाई राख्न प्रयोग गरिने प्लास्टिक÷एलुमिनियमका ब्लिस्टर र स्ट्रिप नेपालमा अहिल्यै बनाउन सकिन्छ। बजारले यस कदमको माग गरिसकेको छ। भित्र औषधि राखिने कडा र नरम क्याप्सुलको उत्पादनका लागि आवश्यक पर्ने वनस्पति र जन्तु यहीं उपलब्ध छन् र प्रशोधन गर्न चाहेमा नेपाल अहिल्यै सक्षम छ।
एक्सिपिएन्ट्स मुख्यतः वनस्पति, खनिज र जीवजन्तुबाट प्राप्त हुन्छ। जन्तुबाट एक्सिपिएन्ट्स उत्पादन गर्दा पुर्याउन पर्ने सावधानी धेरै छन्, धार्मिक आस्था र शाकाहारी जीवनशैलीले गर्दा यिनको प्रयोग पनि खुम्चिँदै गएको छ। यसर्थ वनस्पति र खनिज मूलका नेपालमा सजिलै उत्पादन हुन सक्ने एक्सिपिएन्ट्स हुन्। कृत्रिम रूपमा बनाइने सिन्थेटिक एक्सिपिएन्ट्सको उत्पादन तत्काल नथाल्न पनि सकिन्छ।
आयुर्वेदिक औषधिको मुख्य स्रोत वनस्पति, चलनचल्तीका खाद्य, मसला, मह, खनिज हुन्। मुख्यतः आयुर्वेदिक, होमियोप्याथी र अन्य परम्परागत औषधि निर्माणकै लागि नेपालबाट बर्सेनि अर्बौं मूल्यका यार्सागुम्बा, चिराइतो, जटामसी, अदुवा, अलैंची, त्रिफलाजस्ता धेरै वनस्पति, जडीबुटी निर्यात हुन्छन्। यस्ता औषधिजन्य वनस्पतिको नेपालमै सदुपयोग गर्न सकिए हामी यी औषधिमा आत्मनिर्भर हुन सक्छौं। एलोपेथिक औषधिको एपीआई उत्पादन गर्न अलि समय लाग्छ नै, तर त्यस्तो सम्भावना नै नभएको भने होइन। हेटौंडामा रहेको इभान्स लाइफ साइन्सेस प्रालिले नेपालमै पाइने लौठसल्लाबाट क्यान्सरको औषधिहरू प्याक्लिट्याक्सेल र डोसिट्याक्सेल निर्माणमा प्रयोग हुने १०–डेसिटाइलबेकाटिन–३ उत्पादन गरेर विदेश निर्यात गरिरहेको छ। यस्ता सम्भावना धेरै छन्।
तयारी औषधिमा चुनौती
तयारी औषधिमा मात्रात्मक प्रगतिको तुलनामा नेपालको गुणात्मक प्रगति निकै कम छ। बनोटको हिसाबले अहिले नेपाली उद्योगले अर्ध–स्वचालितदेखि स्वचालित मेसिनद्वारा ट्याब्लेट, क्याप्सुल, तरल, मलम, सुक्खा सिरप, पाउडर, इन्जेक्सनजस्ता औषधि उत्पादन गरेका छन्। इन्हेलर, इन्ट्राथेकल इन्जेक्सनजस्ता बनोट उत्पादन गर्न सकिएको छैन। पछिल्ला दिनमा उपचारको हिसाबले हाम्रो उत्पादन सामान्य खालका औषधिबाट बिस्तारै उच्च रक्तचाप, मधुमेह, क्यान्सरजस्ता रोगको औषधितर्फ पनि लम्किन थालेको छ। तर अझै प्रतिजैविक औषधिका इन्जेक्सन, क्यान्सरका धेरैजसो औषधि, इम्युनोसप्रेसेन्ट, रेडियोडायग्नोस्टिकको रूपमा प्रयोग हुने बेरियम, आयोडिनयुक्त पदार्थ, खोप, बायोलोजिकल, आरडीएनए प्रविधिका उत्पादन र नयाँ अणुहरूका तयारी औषधि बन्न बाँकी नै छ।
हामीले सबै औषधि र खोप बनाउने सामथ्र्य राख्नुपर्छ। तर उत्पादनै चाहिँ आर्थिक रूपमा नाफा हुने देखिएका र जनस्वास्थ्यका लागि अत्यावश्यक परेका औषधि र खोपको मात्र गरिनुपर्छ। कतिपय औषधि छिमेकी र क्षेत्रीय उत्पादक र बजारसित सहकार्य गरेर कुनै नेपालमा उत्पादन गरेर विदेश निकासी गर्ने र कुनै विदेशी उत्पादन नेपाल आयात गर्ने व्यवस्था पनि मिलाउन सकिन्छ। यस्तो व्यवस्थाका लागि देशले विदेशीहरूसित द्विपक्षीय वा क्षेत्रीय समझदारी गरिदिने र उद्योगले सोअनुरूप अघि बढ्ने काम गर्नुपर्छ। निर्यातको लागि देशले सहजीकरण गरिदिन सके नगन्य गन्तव्यमा औषधि निर्यात गरिरहेका हाम्रा उद्योग अहिल्यै केही तयारी औषधि धेरै गन्तव्यमा निर्यात गर्न सफल हुनेछन्।
सबै औषधि उत्पादनको मात्रात्मक र गुणात्मक दुवै प्रकारको महत्तव हुन्छ। औषधिमा प्रयोग हुने गुणस्तरको कच्चा पदार्थ उत्पादनमा हाम्रो उपलब्धि नगन्य छ।
नेपालको १५औं पञ्चवर्षीय योजना (२०७६–२०८१) रणनीतिको पाँचौं बुँदामा ‘नयाँ प्रविधिजन्य स्वास्थ्य सामग्रीहरूको साथै औषधि तथा औषधिजन्य सामग्रीको उत्पादन, आयात, भण्डारण, वितरण तथा प्रयोगको नियमन तथा व्यवस्थापन गर्ने’ भनिएको छ। यसका लागि कार्यनीतिले देशलाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने, औषधिजन्य जडीबुटीको व्यावसायिक खेती र औषधि उद्योगको विकास गर्ने, औषधिको अनुसन्धान गर्ने कुरा समेटेको छ। अहिलेको अभिभारा कागजको योजनालाई व्यवहारमा उतार्नु हो।
हाम्रो योजना नीतिले उत्पादकत्व वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको कुरा उठाइरहँदा देशमा औद्योगिक वातावरण बन्न मुस्किल भइरहेको छ। विदेशी औषधि उद्योगसँगको सहकार्यमा नेपालमा कोरोना खोपको तेस्रो चरणको परीक्षण (क्लिनिकल ट्रायल) र सफल भए नेपालमा खोप उद्योग खोल्ने योजनामा लागेको लागेको एक औषधि उद्योगले परीक्षण स्वीकृति नै पाउन सकेन। केही वर्ष पहिले काठमाडौं एक औषधि उद्योगकी फर्मासिस्ट प्रमुखको भनाइ थियो, ‘अपांग देखेर काममा लगाइदिएको व्यक्तिले जागिरे हुनेबित्तिकै अह्राएको काम गर्न मानेन र भन्यो, ‘मलाई हेप्ने ? म मजदुर नेता हुँ!’ यस्ता सवालमा देशले भूमिका खेल्नैपर्ने हुन्छ। उसो त कतिपय उद्योगका सञ्चालक औषधिको गुणस्तर, पारदर्शिता र स्वस्थ बजार प्रतिस्पर्धामा भन्दा नाफा कमाउने सजिला उपायमा झुकाव राख्ने पनि छन्।
कतिपय व्यक्ति देशलाई आत्मनिर्भर बनाउन देशले निजी क्षेत्रलाई पनि आर्थिक अनुदान दिनुपर्ने पैरवी गर्छन्। नेपालजस्तो आर्थिक अवस्था कमजोर भएको देशले कुनै उद्योगलाई पनि आर्थिक अनुदान दिनु पर्दैन, दिनु हुँदैन। राज्यले कर छुट गरेर, उद्योग व्यापारको वातावरण बनाइदिएर र आयात निर्यातमा सघाउन सक्छ। निजी क्षेत्रले सफलतापूर्वक उत्पादन गरेका औषधि बनाउनतिर लाग्नुको सट्टा सरकारी स्वामित्वका नेपाल औषधि लिमिटेड, सिंहदरबार वैद्यखाना र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडजस्ता उद्योगलाई निजी क्षेत्रले हात हाल्न नचाहेको क्षेत्रमा नाफाघाटा हिसाब नगरी लगाउन सकिन्छ। यसो गर्दा सरकार र निजी क्षेत्रको मिलेमतोमा सरकारी सम्पत्ति दुरुपयोग हुन पाउँदैन। देशले उत्पादन नगरी नहुने औषधि पनि बन्छ, देश आत्मनिर्भरतातिर अघि पनि बढ्छ।