गोरखाको अन्तिम गाउँ सामागाउँ र साम्दोमा मोबाइल सेवा सुरु
गोरखा : तिब्बतको सीमानामा रहेको गोरखाको सबैभन्दा अन्तिम गाउँ सामागाउँ र साम्दोमा मोबाइल सेवा सञ्चालन भएको छ। मंगलबारदेखि नेपाल टेलिकमको टुजी प्रविधिको नमस्ते मोबाइल सेवा सुरु भएको चुमनुब्री गाउँपालिका-१ सामागाउँका अध्यक्ष डा वीरबहादुर लामाले जानकारी दिए।
मंगलबारदेखि सीमावर्ती सो वडाका २२५ घरधुरीका बासिन्दाले मोबाइल सुविधा पाएका उनले बताए। ‘टेलिकमका कर्मचारीहरुले तीन दिन काम गरेर आजदेखि मोबाइल सेवा सञ्चालन गर्नुभएको छ’, उनले भने, ‘कम्तिमा पनि प्रत्येक घरका दुईजनाले मोबाइल सेवा प्रयोग गर्छन्।’
नेपाल टेलिकमले सामागाउँमा टावर स्थापना गरेको छ। सो टावरबाट सामागाउँ, साम्दो र मनास्लु बेसक्याम्पसम्म मोबाइल सेवा सञ्चालन हुने वडाअध्यक्ष लामाले बताए।
सडक सञ्जालले नजोडेका कारण यातायातको सेवा नचलेको दुर्गम गाउँमा मोबाइल सेवा सञ्चालन हुँदा काठमाडौँ लगायतका ठाउँमा सम्पर्क गर्न सजिलो हुने वडा सदस्य मिङ्मार लामाले बताए। ‘गाउँलेलाई पनि सुविधा हुने भयो, पर्यटक र उनीहरुसित आउने नेपाली गाइड, भरियाहरुलाई पनि सहज हुने भयो’, उनले भने, ‘त्यसैले गाउँले खुशी भएका छन्।’
वडाअध्यक्ष लामाका अनुसार अहिले ‘टुजी’ प्रविधिको मोबाइल सञ्चालन भएको हो। छिट्टै फोरजी सेवा सञ्चालन हुने नेपाल टेलिकमबाट जानकारी प्राप्त भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !