भाषणको भय

भाषणको भय

सामाजिक सभा तथा कार्यक्रम, मानिसको समूह वा यस्ता परिस्थितिहरूमा भीडले चियाउने, हेर्ने वा मूल्यांकन गर्ने सम्भावना हुन्छ। त्यस्ता ठाउँहरूमा जान वा सहभागी हुन डराउनु भनेको एक प्रकारको मानसिक समस्या हो। जसलाई सोसल फोबिया अर्थात् सामाजिक भय भनिन्छ। यस्तो फोबियाबाट ग्रस्त मानिसलाई सधैं चिन्ता हुन्छ कि अरू मानिसले उसलाई कमजोर, मूर्ख तथा घटिया आदि नठानोस्। त्यसैले सामाजिक फोबियाबाट पीडित व्यक्तिले सामाजिक कार्यक्रममा जान, भोजभतेरमा खान र पिउन, अगाडि सरेर बोल्न तथा भाषण गर्न डराउँछन्। सकेसम्म यस्तो अवस्थाबाट तर्किन्छन्। यदि भयजन्य परिस्थितिहरू सामना गर्नुपर्‍यो भने निकै चिन्तित हुन्छन्। उनीहरूलाई घबराहटको दौरा (पैनिक अटैक) पनि आउन सक्छ।

सन् २००४ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता अस्ट्रियाकी नारीवादी लेखिका अल्फ्रिडे जेलनिक पुरस्कार सम्मान कार्यक्रममा सहभागी भइनन्। किनकि उनी भीडबाट निकै हड्बढाउँथिन्। वास्तवमा उनी सामाजिक भयको सिकार थिइन्। उनी मात्र होइन, विश्वका थुप्रै हस्तीसमेत सामाजिक भयबाट ग्रस्त थिए, छन्। सामाजिक भयको सुरुआत प्राय :किशोरावस्थामा विकसित हुन्छ। स्कुलफोबिया पहिचान गर्ने महŒवपूर्ण थलो हो। सधैं पछाडिको मेचमा बस्ने, बोल्न डराउने, प्रश्न सोध्न हिच्किचाउने, नबुझे पनि बुझे भन्ने, अतिरिक्त क्रियाकलापमा भाग नलिने विद्यार्थीलाई पहिचान गरेर समयमै उपचार गर्नु आवश्यक हुन्छ।
सामाजिक भयका अनेक लक्षण हुने भए पनि मुख्य लक्षण यस्ता छन्। सभा, सामाजिक कार्यक्रम, विवाह पार्टी तथा मानिसबीच जान हिच्चकिचाउनु तथा डराउनु। यस्ता परिस्थितिको सामना गर्नुपर्दा बैचनी हुनु, धड्कन बढ्नु, सास फुल्नु तथा दिमाग शून्य भएजस्तो महसुस हुनु। यस्ता परिस्थितिहरूबाट फिर्ता हँुदा उपर्युक्त लक्षणहरू कम हुनु। आँखामा आँखा मिलाएर बातचित गर्न नसक्नु। बातचित गर्दा घबराउनु, आवाज तथा हातखुट्टामा कम्पन पैदा हुनु तथा आत्मविश्वास कमी महसुस हुनु। अन्य मानिसहरूको माँझमा केही विशेष कार्यहरू जस्तै :खानेकुरा खानपिउन तथा लेख्न कठिनाइ महसुस हुनु। मञ्चमा गएर दर्शकको सामाना गर्न तथा बोल्न नसक्नु। यस्ता समस्याहरूको कारण व्यक्तिको जीवनशैली सीमित हुनु।

उपर्युक्त लक्षणहरू यस रोगबाट पीडित अलग–अलग व्यक्तिहरूमा लक्षणको गम्भीरता कम वा बढी हुुन सक्छ। यदि उपर्युक्त अधिकांश लक्षण देखा परे भने त्यसलाई सामान्य सामाजिक भय भनिन्छ। सामाजिक भयबाट ग्रस्त नेता, अध्यापक तथा कलाकारको जीवन ज्यादै कठिनाइपूर्ण हुन्छ। उनीहरू फोबियाका कारण सधैं तनाव, अन्तद्र्वन्द्व र कुण्ठाको जीवन बाँच्न बाध्य हुन्छन्।

सामाजिक भयका अनेक कारणहरू हुन्छन्। कतिपय व्यक्तिमा यस फोबिया आमाबाबुको जिन्सबाट आउने गर्छ र यसले अनुकूल वातावरण पाउनासाथ यो रोग छोराछोरीमा देखा पर्छ। यस्ता व्यक्तिका नातागोतामा समेत फोबिया हुने सम्भावना बढी हुन्छ। तर, सामाजिक भयको प्रमुख कारण मानसिक हो। व्यक्तिको अवचेतन मनमा रहेका चिन्ताका कारण अधिकांश फोबिया देखिन्छन्।

सामाजिक भयको उपचार सम्भव छ। जतिसुकै कडा खालको सामाजिक भय पनि उपचारबाट ठिक हुन्छ। औषधि तथा साइकोथेरापी सामाजिक भयका प्रमुख उपचार विधिहरू हुन्। सामाजिक भयबाट ग्रस्त व्यक्तिलाई प्रशान्तक औषधिहरू (ट्र्यांक्लिाइजर) निकै लाभकारी हुन्छन्। तर कतिपय व्यक्तिमा फोबियासँगै अन्य मानसिक लक्षणहरू पनि देखा पर्ने गर्छन्। यदि सामाजिक भयका रोगीमा यस्ता लक्षणहरू पनि देखिएका छन् भने फोबियाको उपचारसँगै यस्ता रोगहरूको पनि उपचार आवश्यक हुन्छ। अन्यथा सामाजिक भय पूर्णरूपमा ठिक हँुदैन। यस्तो अवस्थामा औषधिसँगै साइकोथेरापीको प्रयोग बढी प्रभावकारी हुन्छ।
सामाजिक भयको उपचारमा कग्निटिभ बिहाभियर थेरापी (सीबीटी) रामबाँण मानिन्छ। यसले मानिसको व्यवहार तथा आफूप्रति तथा अरूप्रतिको सोचले मानसिक स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने कुरा अध्ययन गर्छ। सोच तथा व्यवहार परिर्वतन गरी मानसिक स्वास्थ्य कायम राख्ने प्रयास गर्छ। सामाजिक भयको उपचारमा विभिन्न किसिमका सीबीटी टेक्निकहरू अपनाइने गरिन्छ। कडा खालको सामाजिक भयको उपचारका लागि मनोचिकित्सक तथा मनोवैज्ञानिक सहयोग आवश्यक हुन्छ। सामाजिक भयको उपचार माइमोसनल फ्रिडम टेक्निक (ईएफटी) पनि निकै प्रभावकारी देखिएको छ।

सामाजिक भय यस्तो मानसिक समस्या हो, जसले प्रतिभाशाली मानिसलाई समेत खुम्चाएर राख्छ। सामाजिक भयबाट ग्रस्त अति प्रतिभाशाली मानिससमेत घुटुघुटु आँसु पिएर बाँच्न बाध्य छन्। त्यसैले यस रोगप्रति सजग हुनुपर्छ। अधिकांश सामाजिक भयको सुरुआत बाल्यकालदेखि हुने हुँदा परिवारका वरिष्ठ सदस्यहरूले बालबालिकालाई भुलाउन तथा तर्साउन डर देखाउनु हुँदैन। बालबालिकालाई भूतप्रेत तथा राक्षस आदिका डरलाग्दा कथा तथा यस्ता टीभी कार्यक्रमबाट टाढा राख्नुपर्छ। पारिवारिक वातावरण एकदम डररहित तथा सौर्हाद्रमय बनाउनुपर्छ।

घर तथा स्कुलमा बालबालिकाको व्यवहार तथा चालचलनको ख्याल राख्नुपर्छ। यदि सन्तान कुनै बाहिरी मानिस आएको बेलामा भित्र जाने, आँखामा आँखा मिलाएर कुरा नगर्ने, धेरै लजाउने, कक्षामा पछिल्लो मेचमा बस्ने, शिक्षकलाई प्रश्न नसोध्ने, अघि सरेर नबोल्ने तथा एक्लै खेल्ने प्रकृतिका भएको खण्डमा तुरुन्त मनोचिकित्सक तथा मनोवैज्ञानिकसँग सम्पर्क गर्नु ठिक हुन्छ। अन्यथा जीवनमा ठूलो मूल्य चुकाउनु पर्दैन।
बानियाँ साइकोथेरापिस्ट हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.