तरकारी खेतीले आत्मनिर्भर बन्दै चेपाङ

तरकारी खेतीले आत्मनिर्भर बन्दै चेपाङ

गोरखा : गोरखाको गण्डकी गाउँपालिका–६, कौदीफाँटमा चेपाङको १९ घरधुरी छ। ती सबै व्यावसायिक तरकारी खेतीमा लागेका छन्। तरकारी खेतीबाट उनीहरूको कमाइ मनग्य हुन थालेको छ। ‘हाम्रो कौदीफाँटका १९ घरका सबै चेपाङ तरकारी खेती गर्छौं,’ स्थानीय जनक चेपाङ भन्छन्, ‘कमाइ राम्रो हुन थालेपछि थुम्काबाट धमाधम यहाँ झरेर तरकारीखेती गर्न थालेका छन्।’ 

यसअघि उनी हेटौँडा सिमेन्ट कम्पनीको चुनढुंगाखानीमा काम गर्थे। भन्छन्, ‘२० वर्षसम्म ढुंगाखानीमा काम गरें। न पेन्सन भयो, न उपदान,’ उनी भन्छन्, ‘तरकारीखेती गर्न थालेको ५÷६ वर्ष भयो। अहिले राम्रो कमाइ छ।’ तरकारीको कमाइले गाउँका चेपाङ समुदायले पहिले झै ढिँडो खान नपरेको उनले बताए।

गण्डकी–१,३,६,७ र ८ तथा सहिदलखन गाउँपालिका–४ का विभिन्न गाउँमा चेपाङ समुदायको बसोबास छ। तरकारी खेतीले जीवनस्तर उकास्न थालेपछि कौदीजस्ता विभिन्न गाउँका चेपाङ समुदायले निमेक र कन्दमुलबाट मुक्ति पाएका छन्। 

अहिले थुम्काबाट धमाधम कौदीफाँटमा झर्ने क्रम बढिरहेको स्थानीयको भनाइ छ। ‘कसैले तीन रोपनी, कसैले चार/पाँच रोपनी खेतमा तरकारी खेती गर्न थालेका छन्,’ जनक चेपाङ भन्छन्, ‘आफ्नै जग्गा नहुनेले भाडामा लिएर पनि तरकारी लगाउन थालेका छन्।’

४६ वर्षीय पूर्णबहादुर चेपाङ पनि कुल्ली काम छाडेर केही वर्षदेखि तरकारी खेती गर्छन्। उनी भन्छन्, ‘दुई रोपनीमा लगाएको तरकारीबाट पोहोर एकै सिजनमा साढे ३ लाख कमाएँ। यसपालि पनि राम्रै छ। खाडी जानुभन्दा यहीँ ठीक छ।’ तरकारीबाट कमाएको पैसाले छोरीलाई कृषि विषयमा क्याम्पस पढाएको उनले बताए।  

अतिसीमान्कृत चेपाङ समुदाय अन्य अर्काको खेतबारीमा काम गर्ने, घर बनाउने, भारी बोक्नेलगायतका शारीरिक श्रम बढी पर्ने काम गरेर जीविकोपार्जन गर्ने गर्छन्। उनीहरूसित लालपुर्जा भएको जग्गा एक डेढ रोपनी मात्र हुन्छ। सबैले खोरिया फाँडेर ऐलानी जग्गामा खेती गर्छन्। आफ्नो जग्गाको आम्दानीले वर्षभरि खान नपुगेपछि उनीहरू राजमार्गका बजारी क्षेत्रमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्छन्। 
‘३/४ वर्ष भयो अरूको निमेक र ज्याला मजदुरी गर्नुपरेको छैन,’ अर्का स्थानीय धनबहादुर चेपाङ भन्छन्, ‘पहिले तरकारीखेती थाहा थिएन। लिबर्ड संस्थाले तरकारी खेती गर्न सिकायो। तालिम पनि दियो। त्यसपछि यहीँ सानो जग्गामा ३ सिजन तरकारी खेती गर्छौं। यसैले पेट पाल्न पुगेको छ। छोराछोरी पढाउन पुगेको छ।’ 

तरकारी खेतीले कतिपयको जीवन निर्वाह सहज बनाए पनि धेरैजसो चेपाङ समुदायलाई तरकारी खेती गर्ने जग्गाको अभाव छ। चेपाङ किसानले उत्पादन गरेको तरकारी फिस्लिङमा लगेर बेच्छन्। त्यहाँ किसानले भन्दा काँटावाला (बिचौलिया)ले धेरै नाफा खाने किसानहरूको गुनासो छ। ‘बेच्ने पनि ठगिन्छ। किन्ने पनि ठगिन्छ। काँटावाला मालामाल छ,’ उनी भन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.