माया : अदृश्य तर शक्तिवान्

अद्भुत शक्तिवान् तर अदृश्य छ यो माया। जसलाई न छुन सकिन्छ न देख्न नै। जसको न आकार छ न वजन नै। आकारमा आकाश ढाक्छ त वजनमा पूरै ब्रह्माण्ड। हृदयबाट निस्केर सिधै मस्तिष्कसँग सम्बन्ध राख्छ माया। न खोजेर भेटिन्छ न चाहेर पाइन्छ। मुटुका झङ्कारहरूमा विश्वासको टेको लगाएर जीवन्त हुन्छ माया। विश्वासको टेकोमा अडेको मायाको टेको खुस्किँदा कति बेला घृणामा पनि बदलिन सक्छ, पत्तो हुन्न।
मन मस्तिष्कमा मात्र होइन, अनुभूति र प्रत्याभूतिसँग लहराउँदै सर्वांग छाउने शक्ति हुन्छ मायामा। त्यसैले त कहिले मुस्कान भरिएका ओठले त कहिले रसिला आँखाहरूले पनि चित्रण गरिरहेको हुन्छ। माया धेरै प्रश्नको पोको हो भने समस्याहरूको पूर्णविराम पनि। कहीँ प्रश्नचिह्न बनेर तेर्सिदिन्छ। कहीँ पूर्णविराम त कहीँ अल्पविराम बनेर जीवनका पलहरूलाई निरन्तरता दिइरहन्छ। कहिले जिउन सिकाउँछ त कहिले मृत्यु भोगाउँछ। न रूप छ न रंग तर पनि यो शक्तिवान् छ र मुटुसँगै धड्किरहन्छ। स्वार्थ, जलन र आगो पनि हो माया। सायद त्यसैले होला युद्ध र प्रेममा सबै जायज भन्ने गरिएको ! भोगाइ र बुझाइ पनि हो माया। क्षणमै कसैलाई हँसाउने र क्षणमै रुवाउने सामथ्र्य पनि राख्छ। खासमा कसैलाई दुःखी नबनाई खुसी बटुल्नु हो माया। माया भनेको यही हो भनेर निश्चित शब्दहरूको घेरामा राख्दा अन्याय होला। मायाको परिभाषा माया नै हो भन्दा अत्युक्ति नहोला।
माया भन्ने शब्दलाई मानिसबीच अझ प्रेमी र प्रेमिकाबीच मात्र जोडेर बुझ्न खोज्नु गलत हुन सक्छ। माया–प्रेमको न कुनै जात हुन्छ न कुनै धर्म हुन्छ। न त यसको भूगोल नै हुन्छ। माया नै धर्म हो, शक्ति हो अनि माया नै शान्ति पनि हो। मायाको न कुनै सीमा छ त न कुनै समय ! न छेकेर छेकिन्छ न रोकेर रोकिन्छ। यो ब्रह्माण्डका सृष्टिहरूमा सर्वोपरि छ। सर्वत्र छ। यो संसारै मायामा अडेको छ। माया दर्शाउने शैलीहरू फरक हुन सक्छन्। नाता र सम्बन्ध फरक हुन सक्छन्। आवश्यकता र स्वार्थहरूसँगै चाहना र रोजाइहरू बाझिन सक्लान्। तर बाझिँदैनन्, मायाका अनुभूतिहरू र जोखिँदैनन् मायाका महसुसहरू। न यसलाई नाप्न सकिन्छ न त तौलन। कहिले एकान्तमा रुवाउँछ त कहिले एकान्तमै हँसाउँछ। सर्वत्र झांगिएको यो मायाको फूल फुलेको देखिँदैन तर सुवास छाइरहन्छ। मायामा अरूको खुसी र हाँसोमा रमाउन सक्ने भावनात्मक सम्बन्ध हुन्छ।
हिजो आज मायाको भोगाइ फेरियो कि बुझाइ ! मायाका कथाहरू लेखिन्छन्। गीतहरू गाइन्छन्। दुई अक्षरको यो मायाको आडमा सबै गरिन्छन्। आकर्षणलाई मायाको अर्थ दिइन्छ। विश्वास र भरोषाका बाँधहरूमा नअल्झेको माया, घृणा र बदलाका आवेशमा तैरिन पुग्छन्। त्यसैले मायामा तड्पिन्छन्। छटपटाई र ज्वालामा पिल्सिन्छन्। जहाँ माया हुन्छ, त्यहाँ घृणा र तिरस्कारको उपस्थितिको सम्भावना पनि उत्तिकै रहन्छ। माया कोमल हुन्छ तर पहरा फोडेर उम्रने शक्ति पनि हुन्छ।
माया कोमल र शिथिल मात्र होइन, संवेदनशील पनि हुन्छ। मनसँग मन मिल्नासाथ एकै ठाउँमा स्थिर भएर अडिन सक्दैन। बाँधिएका बन्धन तोडेर अनुभूतिका तलाउहरूमा डुबुल्किन्छ।
खाँचो छ त केवल स्वच्छ एवं निस्वार्थीपनको। मायाको शक्ति अतुलनीय हुन्छ। त्यसैले त कोही मायालाई नै हतियार बनाएर आफ्नो स्वार्थ पूरा गर्छन्। अभिनयमा देखाइने स्वार्थरूपी माया, माया होइन। त्यो त अपमान हो। अपराध हो।
माया त छातीभित्र कुँदिएको हुन्छ। शरीरको हरेक धमनी र नसानसामा रगतसरी बगिरहन्छ। मुटुका हरेक धड्कनहरूमा झन्कार बनी गुञ्जिरहन्छ। मनबाट गरिने माया भावुक र प्रेमिल हुन्छ। मनले मनलाई नियालिरहेको हुन्छ। हामीले पढ्दै आएका र सुन्दै आएका मायाका प्रेमकथाहरूलाई हेर्ने हो भने पनि संयोगान्त भन्दा वियोगान्त नै धेरै छन्। यो न दिन सहज छ न पाउन नै सहज छ। भगवान् श्रीकृष्ण र राधाबीच पनि विवाह भएको थिएन। मुनामदन, हिर र राँझादेखि रोमियो अनि जुलियटसम्मले मिलनका कथा कोर्न सकेनन्। तर पनि यी प्रेमिल जोडीहरू चोखोमायाका कारण आज पनि अमर छन्। माया विश्वास हो। भरोसा हो। अहिलेसम्म यो ब्रह्माण्ड र यसको सृष्टि बाँच्नुको कारण पनि माया नै हो। मायाका नाममा कोही कसैप्रति कुनै दुव्र्यवहार नगरौं। मायाको अर्थ बुझेर सम्मान गरौं। मायामा अपराध र अपमानको रंग नदलौं।
माया कोमल र शिथिल मात्र होइन, संवेदनशील पनि हुन्छ। मनसँग मन मिल्नासाथ एकै ठाउँमा स्थिर भएर अडिन सक्दैन। बाँधिएका बन्धन तोडेर अनुभूतिका तलाउहरूमा डुबुल्किन्छ। माया एउटा सागर पनि हो। सागरमा जो पौडिन जान्दछ, उही उत्रने हो। पौडिन नजान्नेहरूका लागि डुब्नुको विकल्प रहेन। त्यसैले यही मायामा हजारौं मानिसले आफ्नो जीवन बर्बाद गरेका छन् र हजारौंले सुखद जिन्दगी जिइरहेका पनि छन्। मायामा अडिएको यो संसारमा मानिसले जानेर होस् या नजानेरै मायाप्रेम गरिरहेका हुन्छन्। ममता, प्रेम, करुणा, स्नेह, सद्भाव, भक्ति, सत्कार, सम्मान, स्वाभिमान, अनुशासन आदि सबै मायाका स्वरूप हुन्। प्रत्येक पल मानिसले कुनै न कुनै स्वरूप धारण गरेकै हुन्छ। एक अर्काप्रति दर्शाइरहेकै हुन्छन्। सद्विचार र सद्चरित्रले गुण निर्धारण गर्छ। निस्वार्थमा ओतपोत त्याग, समर्पणजस्ता भावनामा डुबेको माया नै स्वच्छ पवित्र माया हो।
फूलेको फूलमा मात्र होइन, काँडामा पनि छ। माया त्यसैले त काँडाबीच नै गुलाफ फक्रिरहेको छ। त्याग–समर्पण, सुख–दुःख, मिलन–बिछोड, आँसु–हाँसो, जीवन–मृत्यु सर्वत्र छ माया। कहीँ स्वादमा फेरिन्छ यो त कहीँ मोहमा बेरिन्छ। कहीँ सुखमा अल्झिन्छ त कहीँ दुःखमा बल्झिन्छ। कहीँ स्वार्थमा गाँसिन्छ त कहीँ बदलामा नासिन्छ। कहीँ हारमा छ माया, कहीँ जितमा। आँसुका तलाउ हुन् या हाँसो तथा खुसीका फोहरा सबै मायाका रूप नै हुन्। केवल फरक छ त महसुस।
प्रतिक्रिया दिनुहोस !
