गुमेको दृष्टि फेरि पाउँदाको खुसी

गुमेको दृष्टि फेरि पाउँदाको खुसी

रामेछाप : वृद्धवृदा,अशक्त र विपन्न वर्गलाई लक्षित गरी रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको छ । शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा ३० जना स्वास्थ्यकर्मी र स्थानीय स्वास्थ्यकर्मीले आँखा परीक्षण गरेका थिए ।

डा. रुइत हातमा लाइट बोकेर चौरमा घाम तापेर बसिरहेका अप्रेसन गरेका बिरामी माझ पुगे । लाइट बाल्दै आफैंले अप्रेसन गरेर लगाइदिएको पट्टी खोलिदिए । त्यसपछि मिठो मुस्कानसाथ सबैले एकैसाथ ताली पिटे । आफूले नेत्र ज्योति पाएपछि खुशी हुनेमा एक थिए तोयानाथ ढुंगेल ।

देब्रे आँखामा पट्टी लागाएका ७० वर्षीय ढुंगेल आँखा देखेकोमा खुशी हुँदै भने, 'बुढेसकालमा कष्टकर जीवन बिताउनुपर्ने भयो भन्ने  चिन्ता थियो । तर, डा. सन्दुक त भगवान् भएर गाउँमै आउनुभयो र मलाई दृष्टि दिनुभयो ।' लौरो टेक्दै र भित्ताको सहारामा हिँड्न बाध्य ढुंगेल काठमाडौं गएर धेरै पटक उपचार गराएका थिए । तर पनि निको हुन सकेको थिएन ।  'कति खर्च गरेँ, तर पीडा उस्तै थियो । तर अहिले निःशुल्क उपचार गर्न पाएँ, खुशी छु डाक्टर मात्रै हैन रहेछन् डा. रुइत हाम्रो भगवान हुनुहुँदो रहेछ,' खुसी हुँदै भने।'

 शिविरमा तोयानाथजस्ता सयौं वृद्धवृद्धाको एउटा आँखामा पट्टी लगाएर बसिरहेका थिए । ती सबैको डा. रुइतले शिविरमा आँखा प्रत्यारोपण गरेर दृष्टि प्रदान गरेका व्यक्ति थिए ।  दुई सयदेखि तीन सय जनासम्म मात्र आँखाका बिरामीको उपचार गर्ने अनुमान गरेको आयोजकको टोली त्यहाँ उपस्थित मानव सागर देखेर एकछिन सोच्न बाध्य भयो ।

न त्यहाँ कुनै नेता नै आउँदै थिए न कुनै भाषण सुनाउने व्यक्ति । अझ भन्ने हो भने कसैले प्रलोभन देखाएर ल्याएको भीड पनि थिएन त्यो । मात्र थियो त गाउँपालिकाले व्यवस्थापन गरेको सार्वजनिक बसमा आएका आँखाका रोगी । यति धेरै आँखाका रोगी होलान् भन्ने त कसैले पनि परिकल्पना गरेका थिएनन् । 

यस्तै भीडमा थिइन् दोरम्बा शैलुङ ३ डडुवा सुर्केकी ८८ वर्षीया मैती तामाङ । तीन महिनादेखि छोराछोरीको सहारामा उनी हिँड्ने गर्थिन् । उनलाई लागेको थियो कि अब दिसापिसाब पनि गर्न कसरी जानू । ‘सबैले घिन मान्ने भए म त यतिकै मर्छु होला भन्ने लागेको थियो,' गाउँमै आएर डाक्टरले आँखाको ज्योति प्रदान गरेपछि खुसी भएकी मैतीले भनिन्, 'हाम्रो नेपालमा पनि भगवान जस्तै डाक्टर रहेछन्  । हामी भाग्यमानी रहेछौँ ।'

 मानव संसारको सबैभन्दा महत्वपूर्ण अंगको रुपमा रहेको आँखा नदेख्दा संसारै अँध्यारो भएको दोलखा जिल्ला मेलुङ गाउँपालिका ३ का ७० वर्षीय बेतबहादुर तामाङ बताउँछन् । उनी भन्छन्, 'ठूलो डाक्टर आउँदैछन् भन्ने सुनेर एक दिन लगाएर आएँ । डाक्टर त साँच्चै देश विदेशमा कहलिएका रहेछन् । काठमाडौं गएर पचास हजार खर्च गरेँ, तर पनि आँखा देखिन । सहरमा आफन्त नभएकाले बस्ने खाने समस्या भोग्नु पथ्र्यो । अहिले त निःशुल्क उपचार गराउन पाएँ, आँखाको लेन्स पनि निःशुल्क पाएँ । यस्तो खुशी म कसरी व्यक्त गरौं ।’ 

दोरम्बा शैलुङ गाउँपालिकाको काकलिङ माविको प्रांगणमा शिविर हुँदै गर्दा दृष्टिबिहीन वृद्धवृद्धासँगै थिए । सोही पालिकाका अध्यक्ष कमान सिं मोक्तान । वृद्धवृद्धाले गुमेको दृष्टि पाएर खुशी हुँदा आफूलाई पनि जीवनमा आनन्द मिलेको मोक्तानले बताए । पालिकाभित्र धेरै बुवाआमालाई आँखामा समस्या भएको महशुस गरेर शिविर आयोजना गरिएको मोक्तानको भनाइ छ । 

 शिविरका लागि जिल्ला सामुदायिक आँखा केन्द्र रामेछाप, टिडिएच जर्मनी र पिएसएफ लक्जेम्वर्गको सहयोग रहेको थियो।  सामुदायिक विकास समाजद्वारा सञ्चालित महिला तथा बाल सशक्तिकरण परियोजना र तीनवटा गाउँपालिकाको समन्वयमा चैत्र २ गतेदेखि संचालन गरिएको शल्यक्रिया शिविरमा वृद्धवृद्धालाई खुवाउने र बस्ने व्यवस्थापन मिलाउन व्यस्त छन् परियोजना प्रमुख तिलक कार्की । 

कार्की भन्छन्, 'सयौं बुवाआमाले दृष्टि पाएर रमाएको देख्दा मैले त घर नै बिर्सेछु । यस्तै अहोरात्र व्यस्त छु ।’ सामुदायिक विकास समाजका निर्देशक मिलनकुमार घिसिङले समाजमा पुण्यको काम गर्नुछ भने वृद्धाश्राम बनाउने होइन न्यानो माया र मीठो खाना दिए वृद्ध बुवाआमा खुशी हुने बताए । उनले भने, ‘वृद्धावस्थाका मानिसको सेवा गरे मन्दिर जानै पर्दैन भन्ने उद्देश्यले शिविर संचालन गरिएको हो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.