गुमेको दृष्टि फेरि पाउँदाको खुसी
रामेछाप : वृद्धवृदा,अशक्त र विपन्न वर्गलाई लक्षित गरी रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको छ । शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा ३० जना स्वास्थ्यकर्मी र स्थानीय स्वास्थ्यकर्मीले आँखा परीक्षण गरेका थिए ।
डा. रुइत हातमा लाइट बोकेर चौरमा घाम तापेर बसिरहेका अप्रेसन गरेका बिरामी माझ पुगे । लाइट बाल्दै आफैंले अप्रेसन गरेर लगाइदिएको पट्टी खोलिदिए । त्यसपछि मिठो मुस्कानसाथ सबैले एकैसाथ ताली पिटे । आफूले नेत्र ज्योति पाएपछि खुशी हुनेमा एक थिए तोयानाथ ढुंगेल ।
देब्रे आँखामा पट्टी लागाएका ७० वर्षीय ढुंगेल आँखा देखेकोमा खुशी हुँदै भने, 'बुढेसकालमा कष्टकर जीवन बिताउनुपर्ने भयो भन्ने चिन्ता थियो । तर, डा. सन्दुक त भगवान् भएर गाउँमै आउनुभयो र मलाई दृष्टि दिनुभयो ।' लौरो टेक्दै र भित्ताको सहारामा हिँड्न बाध्य ढुंगेल काठमाडौं गएर धेरै पटक उपचार गराएका थिए । तर पनि निको हुन सकेको थिएन । 'कति खर्च गरेँ, तर पीडा उस्तै थियो । तर अहिले निःशुल्क उपचार गर्न पाएँ, खुशी छु डाक्टर मात्रै हैन रहेछन् डा. रुइत हाम्रो भगवान हुनुहुँदो रहेछ,' खुसी हुँदै भने।'
शिविरमा तोयानाथजस्ता सयौं वृद्धवृद्धाको एउटा आँखामा पट्टी लगाएर बसिरहेका थिए । ती सबैको डा. रुइतले शिविरमा आँखा प्रत्यारोपण गरेर दृष्टि प्रदान गरेका व्यक्ति थिए । दुई सयदेखि तीन सय जनासम्म मात्र आँखाका बिरामीको उपचार गर्ने अनुमान गरेको आयोजकको टोली त्यहाँ उपस्थित मानव सागर देखेर एकछिन सोच्न बाध्य भयो ।
न त्यहाँ कुनै नेता नै आउँदै थिए न कुनै भाषण सुनाउने व्यक्ति । अझ भन्ने हो भने कसैले प्रलोभन देखाएर ल्याएको भीड पनि थिएन त्यो । मात्र थियो त गाउँपालिकाले व्यवस्थापन गरेको सार्वजनिक बसमा आएका आँखाका रोगी । यति धेरै आँखाका रोगी होलान् भन्ने त कसैले पनि परिकल्पना गरेका थिएनन् । 
यस्तै भीडमा थिइन् दोरम्बा शैलुङ ३ डडुवा सुर्केकी ८८ वर्षीया मैती तामाङ । तीन महिनादेखि छोराछोरीको सहारामा उनी हिँड्ने गर्थिन् । उनलाई लागेको थियो कि अब दिसापिसाब पनि गर्न कसरी जानू । ‘सबैले घिन मान्ने भए म त यतिकै मर्छु होला भन्ने लागेको थियो,' गाउँमै आएर डाक्टरले आँखाको ज्योति प्रदान गरेपछि खुसी भएकी मैतीले भनिन्, 'हाम्रो नेपालमा पनि भगवान जस्तै डाक्टर रहेछन् । हामी भाग्यमानी रहेछौँ ।'
मानव संसारको सबैभन्दा महत्वपूर्ण अंगको रुपमा रहेको आँखा नदेख्दा संसारै अँध्यारो भएको दोलखा जिल्ला मेलुङ गाउँपालिका ३ का ७० वर्षीय बेतबहादुर तामाङ बताउँछन् । उनी भन्छन्, 'ठूलो डाक्टर आउँदैछन् भन्ने सुनेर एक दिन लगाएर आएँ । डाक्टर त साँच्चै देश विदेशमा कहलिएका रहेछन् । काठमाडौं गएर पचास हजार खर्च गरेँ, तर पनि आँखा देखिन । सहरमा आफन्त नभएकाले बस्ने खाने समस्या भोग्नु पथ्र्यो । अहिले त निःशुल्क उपचार गराउन पाएँ, आँखाको लेन्स पनि निःशुल्क पाएँ । यस्तो खुशी म कसरी व्यक्त गरौं ।’
दोरम्बा शैलुङ गाउँपालिकाको काकलिङ माविको प्रांगणमा शिविर हुँदै गर्दा दृष्टिबिहीन वृद्धवृद्धासँगै थिए । सोही पालिकाका अध्यक्ष कमान सिं मोक्तान । वृद्धवृद्धाले गुमेको दृष्टि पाएर खुशी हुँदा आफूलाई पनि जीवनमा आनन्द मिलेको मोक्तानले बताए । पालिकाभित्र धेरै बुवाआमालाई आँखामा समस्या भएको महशुस गरेर शिविर आयोजना गरिएको मोक्तानको भनाइ छ । 
शिविरका लागि जिल्ला सामुदायिक आँखा केन्द्र रामेछाप, टिडिएच जर्मनी र पिएसएफ लक्जेम्वर्गको सहयोग रहेको थियो। सामुदायिक विकास समाजद्वारा सञ्चालित महिला तथा बाल सशक्तिकरण परियोजना र तीनवटा गाउँपालिकाको समन्वयमा चैत्र २ गतेदेखि संचालन गरिएको शल्यक्रिया शिविरमा वृद्धवृद्धालाई खुवाउने र बस्ने व्यवस्थापन मिलाउन व्यस्त छन् परियोजना प्रमुख तिलक कार्की ।
कार्की भन्छन्, 'सयौं बुवाआमाले दृष्टि पाएर रमाएको देख्दा मैले त घर नै बिर्सेछु । यस्तै अहोरात्र व्यस्त छु ।’ सामुदायिक विकास समाजका निर्देशक मिलनकुमार घिसिङले समाजमा पुण्यको काम गर्नुछ भने वृद्धाश्राम बनाउने होइन न्यानो माया र मीठो खाना दिए वृद्ध बुवाआमा खुशी हुने बताए । उनले भने, ‘वृद्धावस्थाका मानिसको सेवा गरे मन्दिर जानै पर्दैन भन्ने उद्देश्यले शिविर संचालन गरिएको हो ।’
प्रतिक्रिया दिनुहोस !