पर्यटकीय 'हब' बन्दै मुस्ताङको ढुम्बाताल
जोमसोम : मुस्ताङमा पर्यटक लोभ्याउने एक आर्कषक गन्तव्य हो मुस्ताङको घरपझोङ—५ मा पर्ने मनमोहक ढुम्बाताल ।समून्द्री सतहदेखि २ हजार ८ सय ३० मिटर उचाईमा अवस्थित ढुम्बाताल निलगिरि हिमालको फेदमा पर्छ ।मुस्ताङमा आउने पर्यटकले मुक्तिनाथ र कोरलानाकाको भ्रमण गरिसकेपछि यो ताल हेर्न छुटाउँदैनन्।
हिमाली फेदको भिरालो सतहको खाल्डोमा ढुम्बाताल अवस्थित छ ।निलो रङमा देखिने पानीको सहतमा निलगिरि र धौलागिरि हिमालको बिम्व तालमा प्रतिस्थापन हुँदा यस तालको सुन्दरता अझ घनिभूत देखिन्छ ।मुस्ताङ सदरमुकाम जोमसोमदेखि कच्ची ३ किमी कच्ची सडक पार गरेपछि ढुम्बाताल पुग्न सकिन्छ । पछिल्लो समय यहाँसम्म पुग्ने बाटोको थप स्तरोन्नति भइरहेकाले पर्यटकलाई यहाँ पुग्न कुनै कठिनाई पर्दैन । गण्डकी प्रदेश सरकारले ढुम्बाताल हुँदै थाक ५ गाउँ जोड्ने सडक विस्तार गर्दैछ ।
विगत १० वर्षअघि सडक सञ्जाल जोडिएसँगै बर्सेनि लाखौं आन्तरिक पर्यटक मुस्ताङको आउने गर्छन् । जसमध्येले ढुम्बाताल चाहार्ने गर्छन् ।ढुम्बातालकै कारण जोमसोम बजारक्षेत्रका होटल र ठिनी गाउँका सामुदायिक होमस्टेको आन्तरिक व्यापारमा समेत टेवा पुर्याएको छ। पछिल्लो समय मुस्ताङको ढुम्बातालमा नेपाली चलचित्र जेरी,चिनो,छिरिङ,प्रेमगीत जस्ता चलचित्र छायांकन भइसकेकाले ढुम्बातालको चर्चा चुलिएको ठिनीका युवा निरज थकालीले जानकारी दिए । हिउँदयाममा दैनिक ३ सय बढी आन्तरिक पर्यटक ढुम्बाताल पुग्ने गरेको उनले बताए ।
प्राकृतिक सौन्दर्यताले भरिएको ढुम्बातालबाट निलगिरी ,धौलागिरि र मानामाथी हिमाल आर्कर्षण देखिन्छ । यस्तै,उत्तर कोरलापास र दामोदरकुण्डबाट आएको कालिगण्डकी नदी र जोमसोम बजारको सुन्दरता तालबाट नियाल्न सकिन्छ । मुलुकमा संघीय व्यवस्था आएपछि ढुम्बातालको स्तरोन्नति भइरहेको छ । यहाँ घरपझोङ गाउँपालिका र अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना एक्यापले पर्यटक लक्षित विभिन्न पूर्वाधारहरु निर्माण गरिसकेको छ ।
राउण्ड अन्नपूर्ण चक्रिय पदमार्गमा यात्रा गर्ने पर्यटकले समेत ढुम्बाताल सौन्दर्यता देखेर मख्ख पर्छन् ।हिउँदयाममा निलो आकृतिमा सुन्दर देखिने ढुम्बाताल हिउँदयाममा भने चिसोले जमेर ठप्प बस्छ । ढुम्बातालसंग ऐतिहाँसक कथा समेत जोडिएको स्थानीय बताउँछन् । ढुम्बातालको सरक्षण कुछप तेरङ्गा गुम्बा सरक्षण समितिले गर्दैआईरहेको छ ।