गौशालाको पचाइन दहमा पार्क निर्माण हुँदै
ढल्केवर(धनुषा) : महोत्तरीको गौशाला नगरपालिका-३ नवराजपुरस्थित करोडौंको लागतमा प्राकृतिक पचाइन दहको सौन्दर्यकरण तथा पिकनिक स्पोर्ट निर्माण भइरहेको छ। गौशाला नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पाँच करोड ८५ लाख ६७ हजार २७६ रुपैयाँको लागतमा पार्कको निर्माण भइरहेको हो।
पृथ्वी इन्जिनियर्स एण्ड विल्डर्स काठमाडौंले ठेक्का लिएको उक्त योजना निर्माणको ७० प्रतिशत काम सम्पन्न भइसकेको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले जानकारी दिए।
पचाईन मन्दिर, पिकनिक स्पोर्ट, बालउद्यान, खानेपानी टयांकी, शौचालय, सुरक्षा गार्ड, अफिसजस्ता भौतिक संरचना धमाधम निर्माण भइरहेको छ। त्यहाँ २ वटा आकर्षक प्रवेशद्वार पनि निर्माण हुँदैछ।
‘दहबाट ५० इन्चको पानी आफैं बग्छ। अरु ठाउँमा पानी सुके पनि त्यहाँको पानी कहिल्यै सुक्दैन। त्यसैले स्थानीय पचाइन माताको नामले पूजा गर्छन्’, मेयर महतोले अन्नपूर्णसँग भने, ‘संरक्षणको अभावमा दह जीर्ण बनेको थियो। हामीले त्यसलाई सरसफाइ गर्यौं। पानीको मुल पुरानै अवस्थामा फर्कियो। त्यसपछि हामीले त्यस संस्थानलाई राष्ट्रिय योजनामा राखेर संरक्षणको काम अघि बढाएका छौं।’ क्रमिक रुपमा निर्माण हुने दहको संरक्षणका लागि १५ करोड बढीको गुरुयोजना बनाइरहेको छ।
‘नमूना रमणीय पर्यटकीय पार्क बनाउन लगाएका छौं। कामबाट वाक्क दिक्क भएका बेला यहाँ आउँदा एक किसिमले शान्तीको महसुस गर्न सकिन्छ’, मेयर महतोले भने, ‘दहमा डुंगा पनि चलाउँछौं।’ जहाँ सबैले एक किसिमको आनन्द प्राप्त गर्न सक्ने उनले बताए। पचाइन दहको क्षेत्रफल १० विघामा फैलिएको छ। अहिले दह वरिपरिका ४ विघामा भौतिक संरचना निर्माण भइरहेको गौशाला नगरपालिकाले जनाएको छ।
दह संरक्षणसँगै हजारौं विघा खेतमा सिंचाई गर्न सहयोग पुगेको छ। यहाँबाट गौशाला, औरही क्षेत्रका किसानले लाभ प्राप्त गरिरहेका छन्। दहमा रहेको फाँटक पनि मर्मत सम्भार गरिने छ।
‘वैशाखमा एउटा नदी जस्तो बग्छ। सय वटा बोरिंगको काम यसै दहले गरिरहेको छ,’ मेयर महतोले अगाडी थपे, ‘दहको वरिपरि तथा पार्कमा वृक्षारोपन पनि गरिने तयारी छ।’