स्वर्गजस्तै सिसाखानी

स्वर्गजस्तै सिसाखानी

सिसाखानी क्षेत्रमा पुग्दा प्राकृतिक भूबनोटको अनौठो दृश्य देखिन्छ। जहाँ ढुंगामा पुजिँदै आएका भगवान्का विभिन्न आकृतिका स्वरूपमा देखिन्छन्। ती ढुंगा सिसाजस्तै देखिन्छन्।


सिसाखानी क्षेत्रमा पुग्दा प्राकृतिक भू—बनोटको अनौठो दृश्य देखिन्छ। पहिलो पटक यहाँ पुग्ने जो कोही अलौकिक यो दृश्य देखेर मक्ख पर्छन्। साहित्य सिर्जनादेखि चलचित्रका दृश्यहरू छायांकन गर्ने गज्जबको ठाउँ छ सिसाखानी। दृश्यमा डुबुल्की मार्नेहरूले भन्नेछन्, स्वर्गजस्तै ठाउँ रहेछ यो।

जहाँ ढुंगामा पुजिँदै आएका भगवान्का विभिन्न आकृतिका स्वरूपमा देखिन्छन्। ती ढुंगा सिसाजस्तै देखिन्छन्। घामको किरण पर्दा टल्किन्छन् सामान्य अर्को ढुंगा वा औंलाले प्रहार ग¥यो भने सिसाको आवाज जसरी बज्ने गर्छ। अधिकांश ढुंगा घर्षण गर्दाको आवाज सिसाको जस्तो आउँछ। त्यसैले झन्डै सात दशक अघिदेखि त्यस ठाउँको नाम सिसाखानी रहन गएको पाइन्छ। मदन भण्डारी स्मृति लोकमार्गदेखि करिब ८ किलोमिटर उत्तरतर्फ उदयपुरको रौतामाई गाउँपालिका— ७ मा यो ठाउँ छ।

सडकबाट हेर्दा झट्ट नदेखिए पनि नजिकबाट नियाल्दा सहजै भगवान्का आकृतिहरू छुट्ट्याउन सकिने ७९ वर्षीय खड्गबहादुर खड्का बताउँछन्। सिसाजस्ता देखिने ढुंगैढुंगाले ढाकिएको त्यस ठाउँको ओढार (सुरुङ)भित्र पस्ने हो भने भगवान् महादेव बसेको स्थान, कैलाश पर्वत, दूधकुण्ड, सिद्धिविनायक गणेश, पार्वती खोप, भीमेश्वर शिलाका दृश्य देख्न पाइने स्थानीय पण्डित महानन्द्रप्रसाद कोइरालाको भनाइ छ।

सत्ययुगमा स्वस्थानी व्रतकथामा बयान भएअनुसार भष्मासुर राक्षसले महादेवलाई लखेट्दै जाँदा भाग्ने क्रममा एक रात त्यस क्षेत्रमा लुकेर बसेको उल्लेख छ। त्यसपछि उनी अर्को दिन रौतामाई गाउँपालिका–४ हुँदै खोटाङ जिल्लाको हलेसीमा पुगेको उनको भनाइ छ। सोही मान्यताका आधारमा त्यस क्षेत्रमा ढुंगाको ओढार (सुरुङ मार्ग) रहेको छ। दक्षिणी क्षेत्रबाट प्रवेश गरी उत्तरी क्षेत्रबाट निस्किएर भागेको हुन सक्ने उनी बताउँछन्। किंवदन्ती खोज्दै जाँदा कथामा लेखिए अनुसारका प्रकृतिहरू मिल्न जान्छन्। भन्छन्, ‘बूढापाकाले पनि भगवान् महादेव बसेको ठाउँ भनेर सुनाउँथे। उनीहरूको भनाइलाई त्यति पत्याएका थिएनौं। पछिल्लो समय नियालेर हेर्दा धेरै कुरा मिल्दाजुल्दा रहेछन्।’

सिसाखानी क्षेत्रका ढुंगामा देवताका आकृतिहरू सहजै देखिन्छ। त्यसैले गोरेटो बाटोमा रहेको ठूलो ढुंगालाई यात्रामा केही नहोस् भन्दै देउरालीको रूपमा ढुंगा चढाएर पुज्ने चलन रहेको छ।

टाढाबाट झट्ट हेर्दा त्यस क्षेत्र अत्यधिक ढुंगाले ढाकिएको छ। ढुंगामाथि स–साना बोटविरुवा पाइन्छन्। मान्छे हिँड्ने गोरेटो बाटोबाट करिब ५० मिटर पर ती ढुंगा रहेकाले कसैको नजर परेको थिएन। स्थानीय नारायणबहादुर रायका अनुसार पशुचौपाया चराउन आएका मान्छेहरूले पशु जंगलमा छोडेर ढुंगामाथि खेल्न जाँदा त्यहाँभित्र ओढार र भित्तामा भगवान्का मन्दिरहरू देखिएपछि हल्ला गरेका थिए।
बूढापाकाले सुनाएअनुसार स्थानीयले देखेका दृश्य मिल्दोजुल्दो भएपछि स्थानीयले ऐतिहासिक तथा पौराणिकस्थलको संरक्षणका लागि गाउँपालिकालाई अनुरोध गरेका थिए। राय भन्छन्, ‘त्यहाँको प्राकृतिक भूबनोट हेर्नासाथ भित्र पूरै अँध्यारो थियो। त्यसैले टर्च लिएर मान्छे पठाउँदा अर्को भागबाट निस्कन डराएपछि पाँच मिनेटमै फर्किएका थिए।’

किंवदन्तीमा भनेअनुसार धेरै चिज ढुंगामा सजिएको अवस्थामा फेला परेको उनी बताउँछन्। ओढारभित्रै थोपाथोपा सेतो पदार्थ झर्ने गरेकाले भित्रै पूजा आराधना गर्ने व्यवस्था मिलाइएको स्थानीय टेकराज रिखाम बताउँछन्। स्थानीय मुर्कुची बजारबाट करिब आठ किलोमिटर पहाडी क्षेत्रमा रहेको उक्त स्थानमा दैनिक एक सय जनाभन्दा बढी सर्वसाधारण हेर्नका लागि आउने गरेको उनी जानकारी दिन्छन्।

सर्वसाधारणको चहलपहल बढेलगत्तै स्थानीयको आग्रहमा रौतामाई गाउँपालिकाले ऐतिहासिक स्थलको संरक्षणका लागि सहयोग गरेको अध्यक्ष गजेन्द्रबहादुर खड्का बताउँछन्। भन्छन्, ‘सबै बजेट विनियोजन भइसकेको अवस्थामा स्थानीयले किंवदन्ती संरक्षणको माग गरेकाले तत्काल सानो रकम सहयोग गरी घेराबार सुरु गरेका हौं।’

पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेगरी ऐतिहासिक स्थलको संरक्षण र संर्वद्धनमा पालिकाले आगामी वर्ष विशेष ध्यान दिनेछ। ‘यो पालिकाको सम्पत्ति÷गहना हो। यसको संरक्षण संवद्र्धन गर्नु पालिकाको दायित्व हो। अधिकतम पर्यटक भिœयाउने लक्ष्यका साथ कार्यक्रम बनाउँछांै।’ अध्यक्ष खड्का थप्छन्। नाम कसरी सिसाखानी हुन गयो ? अनुसन्धानका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गर्ने तयारी गाउँपालिकाको छ। किंवदन्तीहरू जोडिएको र ढुंगा सिसाजस्तो देखिएकाले सिसाखानीको यकिन गर्न विभागसँग मद्दत मागिनेछ।

‘बूढापाकाको भनाइ र हामीले हेर्दा ती सबै ढुंगा सिसा नै हो भन्ने लागेको छ’, अध्यक्ष खड्का भन्छन्, ‘यसको चाँडै परीक्षण गराउँछौं। यदि सिसा नै हो भने संरक्षण गरी खानीको रूपमा विकास गर्छौं।’ प्राकृतिक रूपमै अनुपम ठाउँ रहेकाले यस क्षेत्रको विकासका लागि पालिकाले योजना बनाउने उनको भनाइ छ।

ऐतिहासिक र धार्मिक महत्त्व बोकेको ठाउँ भएकाले यसलाई आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन हुने गरी पालिकालाई कार्यक्रम बनाउन सुझाव दिएको गाउँपालिकाका प्रमुख सल्लाहकार अम्बरबहादुर रायमाझी बताउँछन्। रौतामाई गाउँपालिका प्राकृतिक हिसाबले निकै अब्बल रहेको उनको दाबी छ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार भष्मासुर राक्षसको लामो समयको तपस्यापछि महादेव प्रसन्न भए। उनले मागेबमोजिम जसको शिरमा हात राख्छु त्यसको भष्म होस् भन्ने वरदान दिएको कथामा उल्लेख छ। वरदान दिएलगत्तै सत्य हो होइन भनी महादेवलाई नै जाँच गर्न खोजियो। तर, उनी राक्षससँग डराई भागेर एक रात त्यहाँ बसेको किंवदन्ती छ।

सिसाखानी

झन्डै सात दशक अघिदेखि त्यस ठाउँको नाम सिसाखानी रहन गएको स्थानीय वृद्धवृद्धा बताउँछन्। भन्छन्, ‘कहिलेदेखि यो क्षेत्रको नाम सिसाखानी भयो भन्ने यकिन छैन।’ तर, ७÷८ वर्षको उमेरदेखि गाईबस्तु चराउन आउँदा सिसाखानी भन्ने नाम सुनेको ७९ वर्षीय खड्गबहादुर खड्काको भनाइ छ।

खड्का भन्छन्, ‘गाउँघरमा दिउँसो बस्तु चराउन वा घाँस दाउरा काट्न जानुअघि सल्लाह हुन्थ्यो, कहिले सिसाखानी, कहिले आहाल डाँडा जाउँ भनिन्थ्यो। त्यहीअनुसार गइन्थ्यो।’ परापूर्वकालदेखि नै ढुंगा सिसाजस्तो देखिने गरेकाले यसको नाम सिसाखानी राखिएको हुन सक्ने उनको अनुमान छ। घनघोर जंगलको बीच भागमा यो क्षेत्र पर्छ। त्यही जंगल छिचोल्दै सानो गोरेटो बाटोबाट प्रसिद्ध धार्मिकस्थल रौता पोखरी पुग्ने गरिन्छ। सिसाखानी क्षेत्रका ढुंगामा देवताका आकृतिहरू सहजै देखिन्छ। त्यसैले गोरेटो बाटोमा रहेको ठूलो ढुंगालाई यात्रामा केही नहोस् भन्दै देउरालीको रूपमा ढुंगा चढाएर पुज्ने चलन रहेको पण्डित महानन्दप्रसाद कोइराला बताउँछन्।

कोइरालाका अनुसार, देउरालीमा ढुंगा चढाएर नजाँदा बाटोमा नै कुनै न कुनै घटना हुने गथ्र्यो। त्यसैले विश्वासको जगमा उभिएकाहरूको पूजा गरेर मात्र यात्रा गर्ने चलन थियो। बूढापाकाको भनाइअनुसार आजभन्दा ५०/६० वर्षअघि खेती गर्न मुर्कुची भन्ने ठाउँमा झर्ने गरिन्थ्यो। त्यस ठाउँमा औंलोको बिगबिगी भएकाले दिनभर काम गर्ने र राति भएपछि सिसाखानी क्षेत्रका ओढार र त्यहाँ बनाइएका गोठहरूमा सुत्ने गरिन्थ्यो।

भूगर्भ विभागको भनाइ

दार्चुला, मकवानपुरलगायतका केही ठाउँमा सिसाखानी क्षेत्र रहेको फेला परेको छ। बाँकी ठाउँहरूमा पनि सिसाखानी रहेको भन्ने जानकारी आएको छ। त्यसअन्तर्गत खानी तथा भूगर्भ विभागले अन्वेषणको काम थालेको छ। सबै ढुंगा सिसा हुन्छ भन्ने होइन, त्यसको अवस्था हेरेर मात्र सिसा भन्न सकिन्छ। घाममा टल्कने, बज्ने धेरै प्रकृतिका हुन्छन्। त्यो कुन प्रकृतिको हो हेरेर मात्र भन्न सकिने विभागका सूचना अधिकारी नारायण बाँस्कोटा बताउँछन्।

भन्छन्, ‘रौतामाई गाउँपालिकाबाट फलाम (आइरन) खानी छ भन्ने जानकारीमा आएको छ। त्यसका लागि विभागले बजेट व्यवस्था गरिसकेको छ। केही समयमै विज्ञसहितको प्राविधिक टोली स्थलमा जानेछ।’ धेरै प्रकृतिका सिसा हुने भएकाले त्यसको अवस्था र प्राविधिक पक्ष नहेरी यकिन गर्न नसकिने उनको भनाइ छ। उदयपुर सिमेन्ट उद्योगका पूर्वइन्जिनियर नवलकिशोर साह सिसाखानी क्षेत्रको नाम सुने पनि आफू नपुगेकाले केही बताउन नसक्ने जानकारी दिन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.