इटहरीमा कार्यकर्तासँगै छमछमी नाचे माधव नेपाल
धरान : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल इटहरीमा छमछमी नाचेका छन् । सोमबार इटहरी आएका नेपाल कार्यक्रमा कार्यकर्ताहरुसँगै छमछमी नाचेका हुन् । नेकपा एस इटहरी उपमहानगर कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा ७ सय बढी कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरे।
सोही कार्यक्रममा नेता नेपाल मञ्चमा नाच्न थालेपछि सबै कार्यकर्ताहरु उनीसँगै नाचेका थिए । कार्यक्रममा प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले रचना गरेको धर्तीको माटो ढोकेर, जनताको सपना सोचेर, एकीकृत समाजवादी आयो सिर्जनाको कलम बोकेर बोलको गीत र कानथापेर सुनिदेउ बोलको गीत कालाकारहरुले गाउनासाथ नेता नेपाल नाच्न थालेका थिए ।
कार्यकर्तासँग नाचेर सम्बोध गरेका नेता नेपालले आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई हराएर धूलो चटाउने चेतावनी दिए । उनले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको र कलम चिन्हप्रति जनताको आकर्षक बढेको दावी गरे । उनले राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेलाई धूलो चटाएइको स्मरण गर्दै अब आउने तीन तहको निर्वाचनमा सरकारमा सहभागी दल आबद्ध गठबन्धन मिलेर एमाले अध्यक्ष केपी ओलीको अहंकारलाई समाप्त पारिदिने चेतावनी दिए।
कार्यक्रममा प्रदशे १ का मुख्यमन्त्री राजेन्द्र राईले केपी ओली सरकारको पालामा भ्रष्टाचार भएको भन्दै छानबिन गरी दोषिमाथि कारबाही हुनुपर्ने बताए । उनले झापाको गिरीबन्धु टी स्टेटको जग्गा घोटाला काण्डको तत्काल छानविन गरी ओली लगायत दोषीाथि कारबाही गर्न माग गरे।