वाणगंगा नदीको मधुवन तटीय क्षेत्रमा नदीजन्यवस्तुको ठेक्का सम्झौता विपरित उत्खनन्
कपिलवस्तु : वाणगंगा नगरपालिकाबाट ठेक्का सम्झौता गरी संचालन गरिएको वाणगंगा नदीको मधुवन वगर क्षेत्रमा जथाभावी नदीजन्य वस्तुहरुको उत्खनन् भइरहेको छ । उत्खनन्का क्रममा नगरपालिका र ठेकेदार कम्पनी बीच भएको सम्झौता विपरित नदी क्षेत्रमा ढुंगा गिट्टी बालुवाको उत्खनन् गर्दा चुरे क्षेत्र विनाशको संकटमा पुगेको छ ।
चालु आर्थिक वर्ष २०७८।०७९ का लागि वाणगंगा नगरपालिकासँग खुला प्रतिस्पर्धाका आधारमा पोखरा महानगरपालिका वडा नं. ३१ को शिवम् विल्र्डसले भ्याट बाहेक ५ करोड १ लाख १ सय ५१ रुपैया बोलकबोल गरी ठेक्का लिएको छ । ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले कुल ७५ हजार ९ सय ६८ घन मीटर नदीजन्य वस्तु उत्खनन् गर्ने सम्झौता भएको छ । तर सम्झौताको दुगुना बढी परिमाणमा नदीजन्य वस्तु उत्खनन् गर्ने योजनासहित ठेकेदार कम्पनी अघि बढेको छ ।
नदी क्षेत्रमा ३५ सेन्टिमीटर गहिराइसम्म नदीजन्य वस्तु उत्खनन् गर्ने सम्झौता भएपनि त्यसको ४ गुना बढी गहिरो गरी वाणगंगा नदीको मधुवन तटीय क्षेत्रमा उत्खनन् भइरहेको सजिलै देख्न सकिन्छ । नदीजन्य वस्तुको उत्खनन् र निकासीका विषयमा ठेक्का प्रदायक कार्यालय बाणगंगा नगरपालिका र अन्य सरोकारवाला निकायको पनि गहन अनुगमन हुन नसक्दा नदीजन्य वस्तुको दोहन यसरी बढेको हो ।
बिहान सुर्योदयदेखि साँझ सूर्यास्तसम्मका लागि ठेक्का लगाइएको भए पनि ठेकेदार पक्षबाट स्थानीय तह र प्रहरी प्रशासन समेतको मिलोमतोमा राती अबेरसम्म पनि खोलाबाट नदीजन्य वस्तुको उत्खनन् भइरहेको छ । वाणगंगा नदी क्षेत्रमा रातको समयमा अन्नपूर्णकर्मीसहित स्थानीय सञ्चाचारकर्मीहरु पुग्दा नदी क्षेत्रमा निकासी हुँदै गरेको, ब्याक हु लोडरको प्रयोगबाट नदी जन्यवस्तुको ओसार पोसार भइरहेको भेटिएको हो ।
नदी नियन्त्रणका लागि निर्माण गरिएका तटबन्धहरु पनि ढल्दै गएका छन् । नदी तटीय क्षेत्रको दक्षिणतर्फका गाउँहरुमा पानीको सतह तल झर्दै गएको छ ।
ठेकेदार पक्षले आफ्नो मात्रै फाइदा हेरेर नदीजन्य वस्तुको उत्खनन् गरेको प्रति स्थानीय सर्वसाधारणहरु पनि चिन्तित बनेका छन् । ठेक्का प्रदायक कार्यालयले यसको निरन्तर अनुगमन गरी नदीजन्य पदार्थको उत्खनन्लाई व्यवस्थित बनाउन स्थानीयले माग गरेका छन् । यसरी जथाभावी नदी क्षेत्रमा हुने यस्ता उत्खनन्ले नदी तटीय क्षेत्रका गाउँवस्तीमा बाढी पस्न सक्ने जोखिम बढेको छ । नदी नियन्त्रणका लागि निर्माण गरिएका तटबन्धहरु पनि ढल्दै गएका छन् । नदी तटीय क्षेत्रको दक्षिणतर्फका गाउँहरुमा पानीको सतह तल झर्दै गएको छ ।
स्थानीयका हेण्डपाइपहरु पनि सुक्दै गएका छन् । यसरी चुरे संरक्षणको सट्टा विनाश हुँदै गइरहेको घटनाप्रति जिल्लाका सबै सरोकारवाला निकायहरु जाकरुक हुनुपर्नेमा स्थानीय अगुवा युवा सुरज कुमार अग्रहरीले माग गरेका छन् । सम्झौता विपरित वातावरणीय सन्तुलनलाई बिगार्ने ढंगबाट हुँदैआएको यस्तो उत्खनन् ठेक्कालाई आवश्यक परे रद्द गरेरै भए पनि वातावरण संरक्षणमा जोड दिन स्थानीय नागरिक अगुवा दोलख पर्छाईले वाणगंगा नगरपालिकालाई अनुरोध गरेका छन् ।
सम्झौता विपरित उत्खनन् नगर्न वाणगंगा नगरपालिकाले ठेकेदार कंपनीलाई सचेत गराएको छ । अनुगमनका क्रममा नियम विपरित उत्खनन् गरेको पाइए तत्काल ठेकेदार कम्पनीलाई नियम अनुसार कारबाही गरिने वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पंथीले बताए ।
कपिलवस्तु जिल्लाका अन्य नदी क्षेत्रहरुमा पनि उत्खनन्का लागि लगाइएको ठेक्कामा यसै ढंगबाट सम्झौता विपरित अवैध ढंगबाट उत्खनन् कार्य भइरहेको छ । यसतर्फ स्थानीय प्रशासनलगायत अन्य सरोकारवाला निकायहरु मुकदर्शक बनेर बसेका छन् ।