खेलकुद मन्त्री मनाङेले कुटे कर्मचारी, भन्छन् : 'सम्झाएको मात्र हो'
पोखरा : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । आफ्नो कार्यकक्षमा अरु कर्मचारीहरुको सामुन्नेमै मन्त्रालयका अधिकृत प्रकाश ओझालाई मंगलबार मन्त्री गुरुङले कुटपिट गरेका हुन् । मन्त्रालय स्रोतका अनुसार 'उद्यमी युवा, समृद्ध प्रदेशमा टेवा' सम्बन्धी योजना/कार्यक्रमको मापदण्डका विषयमा असन्तुष्टि जनाउँदै ओझामाथि मन्त्रीले कुटपिट गरेका थिए ।
उक्त मापदण्डमा सरकारको अनुदान लिन चाहने फर्ममा कम्तीमा ५० प्रतिशत युवा हुनुपर्ने प्रावधान किन राखेको भन्दै मन्त्रीले आपत्ति जनाएको मन्त्रालयका कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।
'मलाई थाहै नदिइ जे पायो त्यही लेख्ने भन्दै हातै हाल्नुभयो, 'ती कर्मचारीले भने । तर, उक्त मापदण्ड भने मन्त्री गुरुङ स्वयंले सदर गरेको कर्मचारीहरु बताउँछन् । कार्यविधि मन्त्रिपरिषदले र मापदण्ड भने मन्त्रीले सदर गर्ने चलन छ। उक्त मापदण्ड निर्माण गर्न मन्त्रालयले समिति बनाएको थियो। समितिमा अधिकृत ओझासहित कर्मचारी थिए।
समितिले तयार गरेको मापदण्ड सचिव हुँदै मन्त्रीले सदर गरेका हुन् । आफूहरुलाई दिउँसो ३ बजे आफ्नै कार्यकक्षमा डाकेर अपशब्दसमेत बोलेर मन्त्री हातपातमा ओर्लिएको भन्दै कर्मचारीहरुले मन्त्रालयका सचिव, आन्तरिक मामिला मन्त्रालयका सचिव र प्रमुख सचिवसम्मलाई घटनाको मौखिक जानकारी गराएका छन् ।
ओझालाई कुटपिट लगत्तै अरु कर्मचारीले अस्पताल लगेर जँचाएका थिए । उक्त घटनापछि पीडित ओझा मन्त्रालय आउन नसकेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार यसअघि पनि मन्त्री मनाङेले एक उपसचिवमाथि हातपात गरेका थिए । डराएरै ती उपसचिवले कतै मौखिक उजुरबाजुरसमेत गरेका थिएनन् ।
दुई वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेको आरोपमा मनाङे पक्राउ परेका थिए । मन्त्री गुरुङले आफूले कर्मचारीलाई हातपात र कुटपिट नगरेको बताएका छन् ।' मैले कुटपिट र हातपात गरेको होइन सम्झाइको मात्र हो,' उनले भने।