मनास्लुमा पर्यटक बढ्दा व्यवसायी खुसी
गोरखा : पर्यटक आउन थालेपछि मनास्लु क्षेत्रका पर्यटन व्यवसायी खुशी भएका छन् । चुम उपत्यका र नुब्री उपत्यकाका होटल, लज तथा टी हाउसका सञ्चालकहरु खुशी भएका मनास्लु क्षेत्र होटल व्यवसायी उपसमितिका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । कोभिडका कारण पर्यटक आउन छाडेपछि धरासायी बनेका व्यवसायीमा खुशी छाउन थालेको उनले बताए ।
' विगत दुई वर्षदेखि मनास्लु क्षेत्रका होटल, लज, टिहाउसहरु सुनसान थिए । लाखौं करोडौं लगानी गरेर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेका थिए, उनले भने, 'तर अहिले फाट्टफुट्ट पर्यटकहरु आउन थालेका छन् । अब विस्तारै व्यवसाय चल्ने भो भनेर सबै व्यवसायी खुशी छन् ।'
बन्दाबन्दीका कारण गाउँघर छाडेर गोरखा, काठमाडौं गएर बस्न बसेका व्यवसायी फेरि फर्किए व्यवसाय सुरु गर्न थालेको उनले बताए । मनास्लु क्षेत्रअन्तर्गत चुम र नुब्री उपत्यकामा दैनिक २०, २५ जनाका दरले पर्यटक आउने गरेका मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अजीत तुम्बाहाम्फेले बताए ।
'यो सिजन लागेदेखि फागुन मसान्तसम्म नौसय पाँचजना मनास्लुक्षे त्र प्रवेश गरेका छन्,' उनले भने, 'गतवर्षभरि आएको पर्यटकको संख्या र यो तीन महिनामा आएको पर्यटकको संख्या बराबर भयो ।' चैत लागेदेखि अहिलेसम्म त्यो भन्दा धेरै पर्यटक आएका उनले बताए ।
दुई वर्षदेखि निराश भएका व्यवसायी पर्यटक आउन थालेपछि खुशी भएका चुम उपत्यकाका होटल व्यवसायी ङवाङ सोनाम लामा बताउँछन् । 'कोभिड र पहिरोले गर्दा दुई वर्षदेखि पर्यटक आउन सकेका थिएनन् । अहिले धमाधम गाउँमा विदेशी पर्यटक देखिन थालेका छन्, ' उनले भने, 'पर्यटक आउन थालेपछि लाखौँ, करोडौँ खर्च गरेर धमाधम होटल व्यवसाय सुरु गरेका नयाँ व्यवसायी र क्षमता बढाएका पुराना व्यवसायीहरु विगत दुई वर्ष निराश भएका थिए । तर अहिले खुशी हुन थालेका छन् ।'
पर्यटक आएपछि होटल व्यसायी मात्र नभइ अन्य व्यवसायीहरु पनि खुशी भएका नुब्री उपत्यकाका होटल व्यवसायी छिरिङ धार्के लामाले बताए । 'पर्यटक आएपछि होटल व्यवसाय पनि चल्ने भयो । खाद्यान्न पसल पनि चल्ने भयो । सामान ढुवानी गर्ने खच्चड व्यवसाय पनि चल्ने भयो । सबैले काम पाउने भए ।'
पर्यटक भित्रिएसँगै आउँदो अक्टोबर सिजनका लागि पनि धमाधम बुकिङ आएको खबरले व्यवसायीहरु उत्साहित बनेका सामागाउँका व्यवसायी मिङ्मार लामा बताउँछन् । मनास्लु आरोहणका लागि आरोहीहरु आउन सुरु गरेको उनले बताए ।मनास्लु क्षेत्रमा विश्वकै आठौँ अग्लो मनास्लु हिमाल आरोहणका लागि, लार्केपासका लागि, वीरेन्द्रताल, कालताललगायतका दृश्यावलोकनका लागि पर्यटक आउँछन् । त्यस्तै सयौं वर्षअघिदेखि अहिंसा क्षेत्र घोषित चुम उपत्यकाको वुद्ध धर्म, तिब्बती संस्कृतिको अध्ययनका लागि तथा प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक चुम उपत्यका आउने एमक्यापले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !