‘गठबन्धन गर्नु आर्जित सफलता माओवादीलाई सुम्पनु हो’
गोरखा : केन्द्रबाट लादिएको चुनावी गठबन्धनप्रति गोरखाका कांग्रेस नेता कार्यकर्ताले विरोध गरेका छन्। चुनावी गठबन्धनले पार्टी संगठन ध्वस्त हुने उनीहरुको गुनासो छ।
‘गोरखामा विगतको चुनावमा पनि ११ पालिकामा नौं पालिका हामीले जितेका हौँ। अहिले पनि एक्लाएक्लै चुनाव लड्ने हो भने ११ वटै पालिका हामीले जित्ने निश्चित छ’, मंगलबार आयोजित छलफल कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि राजनराज पन्तले भने, ‘तर अहोरात्र खटिएर आर्जित सफलता पनि केन्द्रबाट लादिएको गठबन्धनका कारण माओवादीलाई सुम्पन बाध्य हुनेभयौँ। जितको मानसिकतामा संवृद्ध बन्दै गएको कांग्रेसको संगठन यो गठबन्धतका कारण ध्वस्त हुनेछ।’
एमालेको प्रतिगमनकारी कदमविरुद्ध नै गठबन्धन गरिएको भए पनि गोरखाको हकमा त्यो औचित्यहीन भएको उनले तर्क गरे। ‘गोरखामा कि कांग्रेसले जित्छ, कि माओवादीले जित्छ। एमालेले त कुनै पनि पालिकामा जित्दैन’, उनले भने, ‘त्यसैले एमालेलाई हराउने बहानामा पनि गठबन्धन जरुरी छैन। बरु माओवादीले बाहिरबाहिर कांग्रेससित गठबन्धनको झ्याली पिट्ने, भित्रभित्र कांग्रेसइतरका उम्मेद्ववार जिताउन एमालेसित घनिभूत छलफल गरिरहेका छन्।’ पार्टी संगठन ध्वस्त पार्ने गठबन्धन नगर्न उनले सुझाव दिए।
सबैपार्टी मिल्दा पनि चुनाव जित्ने कांग्रेसले अरु पार्टीसित गठबन्धन गर्नु पार्टीमाथि ठूलो घात हुने गण्डकी गाउँपालिकाका पार्टी सभापति होमबहादुर राना बताउँछन्। ‘पार्टी संगठनभन्दा गठबन्धन हुनै सक्दैन’, उनी भन्छन्, ‘अहिले भर्खर एउटा गाउँका डेढसय जना माओवादीबाट कांग्रेस प्रवेश गर्ने तर्खर गर्दैछन् तर कांग्रेसमा आउनेवित्तिकै माओवादीलाई नै भोट हाल्ने भए नआउने भन्छन्। यस्ता घटना गाउँ नै पिच्छे छ।’ गठबन्धनले पार्टी संगठनलाई निमोठ्ने भएकाले गठबन्धन नगर्न उनले आग्रह गरे।
चुनाव जितेर राजनीति हार्नु महाभूल हुने कांग्रेसका अर्का नेता सिपी पोखरेल बताउँछन्। ‘अन्धधुन्ध गठबन्धन होइन, ठाउँ र आवश्यकता हेरेर गठबन्धन गर्नुपर्छ’, पोखरेले भन्छन्, ‘गठबन्धन गरेर चुनाव त जितिएला तर राजनीति हारिन्छ। बरु चुनाव हारौँ तर राजनीति जित्नुपर्छ।’
कांग्रेस र माओवादी गठबन्धन गर्नु भनेको नदीका दुई किनार मिलाउने दुश्प्रयास गर्नु सरह भएको कांग्रेसका गण्डकी प्रदेश समितिका महामन्त्री किरणबाबु श्रेष्ठको विश्लेषण छ। ‘तालमेल गरेर बाबुराम भट्टराई जिताएर कांग्रेसले के पायो ? चुनाव जितेकै भोलिपल्ट बाबुरामले कांग्रेसलाई म्युजियममा राख्नुपर्छ भनेर गाली गरे’, उनले भने, ‘यो गठबन्धन नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार सरह भएको छ। पानीको संगतले फलाममा खिया लाग्छ, माओवादीको संगतले कांग्रेसमा खिया लाग्छ।’ विगतमा गरेको गल्तीबाट पाठ सिकेर फेरि गठबन्धनको भूल दोहोर्याउन नहुने उनको भनाइ छ।
गठबन्धनको नारा लिएर गाउँ पस्न नसक्ने अर्का कार्यकर्ता रामकृष्ण सिँखडाको भनाइ छ। ‘माओवादी कार्यकर्ताहरु हात काटे पनि कांग्रेसलाई भोट हालिनन् भन्दै खुल्लमखुल्ला धम्की दिदैँछन्। इमान्दारिता नभएको पार्टीसित जानाजान कसरी गठबन्धन गर्ने ?’, क्षेत्र नं. २ प्रदेश ‘क’का सभापति नारायण गुरुङले भने।
गठबन्धनले महिलाको सिट गुम्ने महिला संघकी मसलीमाया थोकरको तर्क छ। सबै वडासभापतिहरुले गठबन्धन नगर्न खबरदारी गरिरहेको धार्चे गाउँ कार्यसमितिका सभापति सन्तोष गुरुङले बताए। ‘गठबन्धन गर्नै पर्ने हो भने बरु एमालेसित गरौँ’, उनले भने। ५० प्रतिशत शक्ति कांग्रेस र ४० प्रतिशत शक्ति माओवादी गठबन्धन गरेर १० प्रतिशत मात्र शक्तिमा रहेको एमालेलाई हराउनुको कुनै अर्थ नरहने अर्का सञ्जय अधिकारीको तर्क छ।
‘हाम्रा हात काट्नेलाई हामी भोट हाल्दैनौँ’, अर्का कार्यकर्ता जमिल मियाँ भन्छन्, ‘अरु जिल्लाको चिन्ता नगरौँ। हाम्रो जिल्लाको संगठनको चिन्ता गरौँ। गोरखामा आफ्नै हिसाबले लडौँ। सबै मिलेर आए पनि चुनाव जित्न हामी सक्षम छौँ।’
प्रधानमन्त्री बनाउँदा नै सबै तहमा तालमेल गरेर चुनाव लड्ने समझदारी नभएको तर्क गर्दै जिल्ला कार्यसमिति सदस्य चेतकुमारी श्रेष्ठले गठबन्धन गर्नु कांग्रेस गोरखाका लागि घातसिद्ध हुने बताइन्।
कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले तालमेल परिस्थितिजन्य बाध्यता भएकाले स्वीकार गर्नुपरेको बताए। तैपनि सत्तागठबन्धन दलबाहेकसित तालमेल नगर्ने गरी एक्लाएक्लै चुनाव लड्न आफूले प्रस्ताब गरिरहेको बताए।
प्रतिक्रिया दिनुहोस !