रौता र ताप्लिमा मेलाको रौनक
उदयपुर : उदयपुरका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरी र ताप्लि पोखरीमा धार्मिक मेला लागेको छ। नयाँ वर्षको अवसरमा रौतामाई गाउँपालिका–६ स्थित रौतापोखरी र ताप्लि गाउँपालिका–२ ओख्लेको ताप्लि पोखरीमा मेला लागेको हो। ऐतिहासिक तथा धार्मिक महत्व बोकेका यी दुवै स्थलको नामबाटै गाउँपालिकाको नामाकरण गरिएको छ।
कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको मेला यस वर्ष स्थानीयले भव्य रुपमा मनाएका छन्। मेला हेर्न र पूजाआराधना गर्न उदयपुर, सिरहा, सप्तरी, मोरङ, सुनसरी, धनुषा, खोटाङलगायतका जिल्ला र छिमेकी मुलुक भारतबाटसमेत दर्शनार्थीको भीड लागेको स्थानीय मनोज कार्कीले जानकारी दिए। उनले सोच्दै नसोचेका ठाउँबाट समेत भक्तजनको घुइँचो लागेकाले व्यवस्थापनमा कठिनाइ भएको बताए।
‘दुई वर्षदेखि मेला लागेको थिएन, यस वर्ष पनि सामान्य रुपले मनाउने योजना थियो। तर, स्वस्तस्र्फुत रुपमा दर्शनार्थीको भीड बढेपछि आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको छ’, उनले भने। रौता भगवतीको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास भएकाले नयाँ वर्षमा भगवतीको दर्शन गर्न आउने भक्तजनको संख्या वर्षेनी वढ्दै गएको उनी बताउँछन्।
रौता र ताप्लि क्षेत्र पर्यटकीय स्थल भएकाले त्यस क्षेत्रमा मानिसको भीड लाग्ने गरेको छ। नयाँ वर्षको पहिलो दिन बिदाको सदुपयोग गर्दै कर्मचारीदेखि व्यापारीसमेतको बाक्लो उपस्थित रहेको थियो। सदरमुकाम क्षेत्रका अधिकांश व्यापारी पसल नै बन्द गरी मेला भर्न पुगेका थिए।
युवा युवतीहरूको जमघटले रौता र ताप्लि पोखरीको वातावरणलाई थप रमणीय र रौनक बनाएको स्थानीय बताउँछन्। सांगीतिक कार्यक्रमसँगै उनीहरूले रमाइलो गरेका थिए। परिवारसहित सर्वसाधरण पुगेकाले मेलाको रौनक र व्यापार निकै बढेको स्थानीय सन्तोष काफ्लेले बताए।
उदयपुरको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल रौतापोखरी
दुवै क्षेत्रमा गाउँपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा पर्यटक लोभ्याउने र धार्मिक आस्थाको केन्द्र बनाउने गरी संरचनाहरू निर्माण गरेका कारण मेला भर्न जानेहरू आकर्षित भएका हुन्। रौता पोखरीलाई धार्मिक आस्थाको केन्द्र बनाउन पोखरी र मन्दिर संरक्षण, मन्दिर आसपासका क्षेत्रमा विभिन्न देवीदेवताका मठमन्दिर निर्माण, शालिक निर्माण गरिएका छन्। यसैगरी पर्यटकको सुविधाका लागि पदमार्ग निर्माण गर्नुका साथै ठाउँ–ठाउँमा पहिचान झल्काउने स्थलहरू बनाइएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए। ‘रौतापोखरीको महत्व झल्कने गरी र त्यहाँ भएका किम्वदन्तीहरूलाई तीर्थयात्री र पर्यटकले सहजै बुझ्ने गरी होडिङ बोर्ड, देवताका मुर्ती, स्तम्भहरू निर्माण गरिएको छ’, उनले भने, ‘यसका अलावा डाँडामा भ्युटावर, सेल्फी खिच्ने स्थलसँगै मनमोहक दृष्यावलोकन गर्न सकिन्छ।’
९३ रोपनी धार्मिक वन क्षेत्रमा अवस्थित रौता पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गाउँपालिकाले केन्द्र र प्रदेश सरकारको सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण, प्रवेशद्वारमा गणेशको मुर्ति र अन्य स्थानमा शिवपार्वती, यलम्वर, गौतमबुद्धलगायतका मुर्तिहरू राखिएको गाउँपालिका उपाध्यक्ष कुमारी ठकुरीले बताइन्।
गाईघाटबाट ४६ किलोमिटर दूरीमा रहेको रौता पोखरी समुन्द्री सतहदेखि पाँच हजार नौ सय मिटरको उचाइमा छ। त्यसैगरी ताप्लि पोखरी समुन्द्री सतहबाट झन्डै सात हजार फिटको उचाइमा रहेको छ। यो पोखरी ७५ मिटर चौडाइ र तीन सय मिटर लम्बाईको छ।