पालिकाको भागबण्डा नमिल्दा गठबन्धनको बैठक पटकपटक स्थगित
गोरखा : पालिका बाँडफाँटमा कुरो नमिल्दा गठबन्धन दलको शुक्रबार पाँचौ पटक बसेको बैठक पनि निश्कर्षबिना स्थगित भएको छ। भागबण्डामा कुरा अड्केपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको नेपाली कांग्रेसका सहसचिव लुमनाथ लामिछानेले जानकारी दिए।
‘कुनै पनि दल आआफ्नो अडानबाट टसका मस भएनन्। त्यसैले प्रसस्त गृहकार्य गरी आइतबार फेरि बस्ने भनेर उठ्यौँ’, लामिछानेले भने। उनका अनुसार कांग्रेसले यसअघि जितेका सबै पालिका आफूहरुले पाउनु पर्ने दाबी गरिरहेको छ।
माग दाबीमा सबै दल अडिग रहेपनि बैठक अत्यन्त सौहाद्र्र रहेको र आइतबार निश्कर्षमा पुगिने जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले जानकारी दिए। ‘केन्द्रमा भएको पार्टी गठबन्धनको मर्म र भावनालाई कुल्चने काम गोरखाका कांग्रेस, माओवादीले गर्ने छैनन् भन्ने आशा गरेका छौँ’, उनले भने, ‘तर आशंका गर्ने ठाउँ पनि छन्।’
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेतले भने भागबण्डाको बिषय टुंगोमा पुग्नै लागेको बताएका छन्। ‘सबै पार्टी एउटा–एउटा खुड्किलो ओर्लन बाँकी छ’, उनले भने, ‘केहीदिन अघिसम्म धुम्म तुवाँलो लागेको जस्तो दृश्य थियो तर शुक्रबारको बैठकले आँधीहुरीले तुवाँलो बढारेर लगेपछिको जस्तो छ्याङ्ग हुन लागेको छ।’ बजार हल्ला भएजस्तो नभै मुख्य दलहरु अडानबाट लचिलो देखिएको उनले बताए।
संयन्त्रको बैठकमा नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपाने, सहसचिव लुमनाथ लामिछाने, कोषाध्यक्ष बलराम खड्का, माओवादीका अध्यक्ष लेखबहादुर थापा र लोकप्रसाद बञ्जरा, जनता समाजवादी पार्टीका अध्यक्ष यानप्रसाद भट्ट र सचिव विपिनचन्द्र ढकाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष यादव बस्नेत र जुद्ध विलास भण्डारी सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !