धुर्कोटमा कांग्रेसबाट भण्डारी अध्यक्षका उम्मेदवार, गठबन्धन धरापमा
गुल्मी : धुर्कोट गाउँपालिका गुल्मीमा नेपाली कांग्रेसले महेन्द्रप्रसाद भण्डारीलाई गाउँपालिका अध्यक्ष उम्मेदवार बनाउने सर्वसम्मतरुपमा निर्णयका लागि सिफारिस गरेपछि सत्तारुढ गठबन्धन धरापमा परेको छ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि भण्डारीलाई सर्वसम्मत गाउँपालिका अध्यक्षका लागि सिफारिस गरिएको कांग्रेस गाउँपालिका सभापति हरिबहादुर थापाले बताए।
धुर्कोटको समग्र विकासमा भण्डारीले देखाएको चासो र चिन्ताका कारण गाउँपालिकाले उनलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको थापाले सुनाए।
अहिले धुर्कोटमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा भुपाल पोखरेल र नेपाली कांग्रेसबाट उपाध्यक्षमा शिव केसी छन्। ०७४ को निर्वाचनमा माओवादी र कांग्रेसको तालमेल थियो।
यसपाली माओवादीले पुनः पोखरेललाई नै दोहोर्याउने निर्णय गरेको छ। कांग्रेसको उम्मेदवारीपछि गठबन्धन भत्किएर एक्लाएक्लै प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ।