धरानमा गठबन्धनले टुंगो लगायो भागबण्डा
धरान : सरकारमा सहभागी पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि धरानमा भागबण्डा मिलाएको छ। केन्द्रको सहमतिलाई कार्यान्वयन गर्दै धरान उपमहानगरपालिकामा पनि सर्बसहमतिले उम्मेदवारको भागबण्डा मिलाइएको कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले बताए।
कांग्रेसलाई धरानमा मेयरसहित १३ वडाअध्यक्ष, माओवादी केन्द्रलाई उपमेयरसहित चार वडाअध्यक्ष, जसपालाई दुई वडाअध्यक्ष र नेकपा एकीकृत समाजवादीलाई ४ नम्बर वडा अध्यक्षसहित सबै सदस्य दिएर भागबण्डा मिलाएको छ।
कांग्रेसलाई मेयरसहित १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ वडाअध्यक्ष दिएको माओबादी केन्द्रका सुनसरी सह इन्चार्ज अइन्द्रबिक्रम बेघाले बताए। माओवादीलाई उपमेयरसहित ३, १५, १७ र २० नम्बर वडाअध्यक्ष सहित सबै सदस्य दिएको उनले बताए।
जसपालाई धरानको १० र १९ वडाअध्यक्षसहित सबै सदस्य दिएको छ। गठबान्धले बिहीबार पत्रकार सम्मेलन गरी धरानमा मेयर उपमेयरसहित सबै वडामा विजय गर्ने दाबी गरेको छ।