मुस्ताङका ५ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
जोमसोम :आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि मुस्ताङका ५ वटै स्थानीय तहमा बिहीबार एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।मुस्ताङको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउँपालिकामा एकैसाथ मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिकास्थित जिल्ला समन्वय समितिको हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालत मुस्ताङका माननीय न्यायाधीश रोमाकान्त ज्ञवालीले उद्घाटन गरे ।
थासाङ गाउँपालिकामा निर्वाचन अधिकृत मुकुन्द आचार्य,वारागुङ मुक्तिक्षेत्रमा निर्वाचन अधिकृत सारदादेवी पौडेल,लोघेकर दामोदरकुण्डमा निर्वाचन अधिकृत नेपालहरी रानाभाट र लोमान्थाङ गाउँपालिकामा निर्वाचन अधिकृत घनश्याम सुवेदीले कार्यालय स्थापना गरेका हुन्।
स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको कार्यक्रममा सम्बन्धित स्थानीय तहका राजनीतिक पार्टी प्रतिनिधि ,जनप्रतिनिधि,सुरक्षाकर्मी र सरोकारवाला निकायको उपस्थिति रह्यो । कार्यालय स्थापना भएसँगै, निर्वाचन गतिविधिबारे राजनीतिक दललाई समन्वय तथा परामर्श लिन सहयोग पुग्ने जनाइएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजित मुख्य निर्वाचन कार्यालय स्थापना कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि,प्रशासन,सुरक्षा निकाय ,नागरिक समाज र पत्रकारलगायतको उपस्थित रहेको छ । कार्यालय स्थापनाको अवसरमा आसन्न स्थानीय तह निर्वाचनलाई सोतन्त्र,निश्पक्ष,शान्तिपूर्ण र धाँदलीरहित वातावरणमा सम्पन्न गर्ने मुख्य ४ एजेण्डामा केन्द्रित रही प्रारम्भिक छलफल गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालय स्थापनाको पहिलोदिन कार्यालय स्थापना स्थापना सँगसँगै आसन्न स्थानीय तह निर्वाचन कार्यक्रमबारे जानकारी, निर्वाचन आचार संहिताको पालना र निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सर्वदलीय बैठक गरिएको मुख्य निर्वाचन अधिकृृत रोमाकान्त ज्ञवालीले जानकारी दिए ।
कार्यक्रममा विगतका स्थानीय तह निर्वाचन र संघ प्रदेशको निर्वाचनमा भए गरेका गतिविधिलाई न्यूनिकरण गर्न निर्वाचनमा खटिने कर्मचारी,सुरक्षा निकाय र राजनितिक दल सचेत रुहनुपर्ने सुझाव पेश गरिएको थियो । कार्यालय स्थापनाको अवसरमा जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखले आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन लक्षित सुरक्षा तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीले निर्वाचन सुरक्षाका लागि आवश्यक सयन्त्र तयार भएको बताए । उनले जिल्लाका ३८ मतदान केन्द्रमा ३/३ जना प्रहरी कमाण्ड खटाइने छ भने त्यसका साथमा ५ देखि ६ जनाको संख्यामा म्यादी प्रहरी परिचालन हुने बताए ।
उनका अनुसार म्यादी प्रहरी र नेपाल प्रहरी गरी प्रत्येक पालिकामा २/२ वटा मोबाइल टिम खटाइनेछ । यसका साथ निर्वाचन कार्यक्रम अघि र निर्वाचन कार्यक्रम सम्पन्न नभइन्जेलसम्म प्रहरी कमाण्ड सेन्टर परिचालन हुने प्रहरी निरीक्षक दानीले उल्लेख गरे ।
कमाण्ड सेन्टरले आवश्यक र औचित्यताका आधारमा सुरक्षा निकाय मुभ गर्ने उनको भनाइ छ । यस्तै,सशस्त्र प्रहरीले पनि निर्वाचन सुरक्षालाई केन्द्रित गरी सुरक्षाकर्मी परिचालन गर्ने सशस्त्र प्रहरी निरीक्षक मोहनजंग कार्कीले कार्यक्रममा जानकारी दिए ।
उनका अनुसार ५ वटै पालिकामा निर्वाचन अधिकृतलाई सुरक्षागार्ड (पिएसओ ) खटाइएको छ भने ५ वटै तहमा ३/३ वटा मोबाइल टिममा ३ जना सशस्त्र प्रहरीले सुरक्षा गस्ती गर्ने बताए । प्रत्येक पालिकामा प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्रले सुरक्षा दिने उनको भनाइ छ । मुस्ताङको ५ स्थानीय तहमा १० हजार ४ सय ८५ जना मतदाता छन् ।