उदयपुरका दुई स्थानीय तहमा गठबन्धन टुट्यो, अन्यमा निर्णय हुन बाँकी
उदयपुर : उदयपुरको दुई स्थानीय तहमा गठबन्धन नहुने भएको छ । गठबन्धनको बिहीबार बसेको बैठकले दुबै स्थानीय तहमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो। अन्य स्थानीय तहका लागि भने शुक्रबारदेखि गठबन्धनको बैठक जारी छ । ८ वटा स्थानीय तह रहेको उदयपुरमा बाँकी ६ वटामा गठबन्धनको प्रयास भइरहेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राहुल यादवले बताए ।
उनका अनुसार त्रियुगा नगरपालिकामा नेपाली कांग्रेस र ताप्लि गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले प्रमुखदेखि वडासदस्यसम्म आफ्ना उम्मेदवार तयार गर्नेछ । त्रियुगामा कांग्रेसविरुद्ध गठबन्धन साझेदार दलहरु नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) जसपा र राष्ट्रिय जनमोर्चा (राजमो) एक भएर गठबन्धन गर्ने तयारी भएको यादवले बताए ।
त्यसैगरी ताप्लिमा जसपाविरुद्ध अन्य नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, राजमो पार्टीको गठबन्धन हुने उनले बताए । उनले भने,'कांग्रेस एक्लै हुन्छ, बाँकी रहेका ४ दलLय गठबन्धन हुन्छ ।'गठबन्धनका लागि आफ्नो पार्टीले अधिकतम लचकता अपनाए पनि कांग्रेसको अडानका कारण तोडएको हो,' उनले भने, ‘सबै पालिका प्याकेजमा सकौ भन्दा कांग्रेस पार्टीका नेता मान्नु भएन्, यसले उहाँहरु आफै संकटमा पर्दै हुनुहुन्छ ।'
कांग्रेसले यसअघि दोस्रो दल आफूहरु भएकाले पाउनुपर्ने माग अघि सारेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले केन्द्रको मापदण्ड लागू गर्नुपर्ने माग गरेको छ । मापदण्डअनुसार सूर्यचिन्हबाट निर्वाचित त्रियुगाका मेयरले नेकपा एसलाई रोजेका कारण आफूहरुले पाउनुपर्ने माग अघि सारेका छन् ।
त्यसैगरी ताप्लि गाउँपालिकामा जनता समाजवादी पार्टीले गठबन्धनमा आफ्नो अडान कायम राखेको छ । २०७४ को निर्वाचनमा स्वतन्त्र उमेदवार पदम तामाङ्गले दोस्रो मत प्राप्त गरेकाले त्यसैलाई आधार मानेको छ । जसपा नेता यादवले भने, 'पदमजी चुनाव सकिए लगत्तै हाम्रो पार्टीमा हुनुहुन्छ, पालिकाका ५ वटै वडामा अरुभन्दा हाम्रो संगठन मजबुत छ, त्यसैले आफूहरुले पाउनुपर्ने माग राखेका हौं ।'
नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गर्दै आएका कांग्रेससहित पाँच दलबीच सहमति कायम गर्न नसक्दा गठबन्धन नै संकटमा परेको छ। आधिकारिक निर्णय भइनसके पनि चौदण्डिगढी नगरपालिकामा पनि गठबन्धन नहुने संकेत देखिएका छ ।
यसअघि कांग्रेसले जितेको ठाउँ भएकाले कांग्रेसले आफ्नो अडान कायम राखेको छ । पार्टीभित्र आ-आफ्नै अडानका कारण गठबन्धन छिन्नभिन्न हुने अवस्थामा पुगेको बताइएको छ ।