मुस्ताङको लोघेकरको अध्यक्षमा एकीकृत समाजवादीबाट गुरुङले उम्मेदवारी दिने
जोमसोम : स्थानीय तह निर्वाचन २०७९ का लागि नेपाली कांग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको तीन दलीय गठबन्धनले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा देवबहादुर गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको वर्चश्व रहेको मुस्ताङमा कांग्रेसले लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा एकीकृत समाजवादीका उम्मेदवार देव गुरुङलाई उम्मेदवार बनाउन सहमत भएको हो । एकीकृत समाजवादीबाट लोघेकर दामोदरकुण्ड गापाको अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने तयारी गरेको एकीकृत समाजवादीका जिल्ला नेता गुरुङले जानकारी दिए ।
नेकपा एमाले मुस्ताङको एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल सचिव समेत भइसकेका गुरुङ पछिल्लो समय नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनी उपल्लो मुस्ताङ यातायात व्यवसायी प्रालिको अध्यक्ष र पूर्वशिक्षक हुन् ।
स्नाकोत्तरसम्म अध्ययन गरेका गुरुङ शिक्षण पेशाबाट अवकाश पछि यातयात व्यवसायमा संग्लन हुँदै आएका छन्। उनले उपल्लो मुस्ताङको चराङमा १३ वर्ष र लोमान्थाङको राष्ट्रिय निमाविमा ११ वर्ष अध्यापन गराएका थिए ।
मुस्ताङमा कांग्रेस ,माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी गठबन्धन गरिए पनि जिल्लाको ५ स्थानीय तहको अधिकांश स्थानमा नेपाली कांग्रेसले आफ्नो उम्मेदवार उठाउने भएको छ ।
एमालले ५ वटै स्थानीय तहमा उम्मेदवारी दिने जनाइएको छ ।