लमजुङको आठ स्थानीय तहमा एमालेको उम्मेदवार तय, गठबन्धन दलको टुङ्याउन बाँकी
बेंसीसहर : स्थानीय तह निर्वाचनको उम्मेदवारी दिने अन्तिम दिन नेकपा एमालेले लमजुङका आठ वटै तहमा उम्मेदवारको अन्तिम टुंगो लगाएको छ। एमालेले बेसीशहर नगरपालिकाको प्रमुखमा वर्तमान मेयर गुमानसिं अर्याललाई उम्मेदवार बनाउने भएको छ भने उपप्रमुखमा पद्मा गुरुङलाई उठाउने भएको छ। त्यसैगरी सुन्दरवजार नगरपालिका प्रमुखका लागि भीमबहादुर गुरुङ र उपप्रमुखमा भवानी केसीलाई उम्मेदवार बनाएको छ।
त्यस्तै मध्यनेपाल नगरपालिकामा हालका उपप्रमुख राजकुमार श्रेष्ठलाई प्रमुखमा उठाउने भएको छ भने उपप्रमुखमा सीता गुरुङलाई उम्मेदवार बनाउने भएको छ। राईनास नगरपालिकामा वर्तमान मेयर सिंहबहादुर थापालाई पुनः नगरप्रमुखको उम्मेदवार बनाइएको छ भने उपप्रमुखमा शोभा पन्थीलाई उम्मेदवार बनाएको छ।
त्यसैगरी गाउँपालिकातर्फ दोर्दी अध्यक्षमा युवराज अधिकारी र उपाध्यक्षमा उषा गुरुङ, मस्र्याङदीमा वर्तमान अध्यक्ष अर्जुन गुरुङ र उपाध्यक्षमा जुना थापा, क्होलासोँथार गाउँपालिका अध्यक्षमा सुर्य गुरुङ, उपाध्यक्षमा गमी गुरुङ, र दुधपोखरी गाउँपालिका अध्यक्षमा धनबहादुर गुरुङलाई उम्मेदवार बनाउने भएको छ। दुधपोखरी गाउँपालिका उपाध्यक्षमा टुंगो लगाउन बाँकी रहेको एमाले जिल्ला कमिटि सचिव सुवास पौडेलले जानकारी दिए।
सत्तारुढ गठबन्धन दलहरुका तर्फबाट सबै पालिकामा उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ। स्रोतका अनुसार सातवटा पालिकामा नेपाली कांग्रेस र एउटा पालिकामा माओवादी केन्द्रको नेतृत्वमा चुनावमा जाने सहमति भएको दलहरुले बताएका छन्।
नेपाली कांग्रेसले मध्यनेपाल नगरपालिकामा वर्तमान मेयर रमेशकुमार पाण्डेलाई पुनः उम्मेदवार बनाएको छ भने मस्र्याङदी गाउँपालिका अध्यक्षका लागि लोकनाथ घिमिरेलाई उठाउने भएको छ। यसैगरी बेसीशहर नगरप्रमुखमा श्रीकान्त घिमिरे, सुन्दरवजार नगरप्रमुखमा कृष्णप्रसाद कोईराला, राईनासमा खड्गबहादुर गुरुङलाई उम्मेदवार बनाउने स्रोतले बताएको छ। त्यसैगरी गाउँपालिकातर्फ क्होलासोँथारमा टेकबहादुर गुरुङको नाम चर्चामा रहेको छ भने दुधपोखरीको अध्यक्ष पदमा उम्मेदवारको नाम सार्वजनिक भएको छैन।
सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नेकपा माओवादी केन्द्रले दोर्दी गाउँपालिका अध्यक्षमा संविधानसभा सदस्य लालबहादुर गुरुङलाई उम्मेदवार बनाउने भएको छ भने मस्र्याङदी गाउँपालिका उपाध्यक्षमा अजय तामाङ, दुधपोखरी गाउँपालिकाको उपाध्यक्षमा क्षेत्रबहादुर गुरुङलाई उम्मेदवार बनाउने भएको छ। त्यसैगरी राईनास नगरपालिका उपप्रमुखमा पुष्प खनाल उम्मेदवार बन्ने भएका छन्।
गठबन्धन दलहरुबीच बेसीशहर नगरपालिका र सुन्दरबजार नगरपालिका उपप्रमुखमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डा गर्ने भनिएपनि सहमति हुन सकेको छैन। बेसीशहर र सुन्दरबजारबीच भागबण्डा पछि मात्रै उम्मेदवार टुंगो लाग्ने दलहरुले बताएका छन्। उम्मेदवार टुंगो लगाउने विषयमा सत्तारुढ दलहरु बैठक बसिरहेका छन्।