लोमान्थाङ र लोघेकरमा एमालेका उम्मेदवारको मनोनयन दर्ता
जोमसोम : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन-२०७९ का लागि मनोनयन दर्ताको अन्तिम दिन उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले धमाधम उम्मेदवारी दर्ता गरेका छन् । लोमान्थाङ गाउँपालिकामा एमालेका २३ जना र लोघेकर दामोदरकुण्डमा ५ जनाले मनोनय दर्ता गरेको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिए ।
यस्तै,घरपझोङ गाउँपालिकामा दोस्रो दिन १ जनाको मनोनयनपत्र दर्ता भएको छ भने वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा अहिले कसैको उम्मेदवारी दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लोमान्थाङमा नेकपा एमालेका तर्फबाट अध्यक्ष टसी नर्वु गुरुङ र उपाध्यक्षमा छिमी बिष्ट गुरुङसहित २३ जनाले २३ पदमा उम्मेदवारी दर्ता गरेको लोमान्थाङका निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।मनोनयपत्र दर्ताको पहिलोदिन त्यहाँ नेपाली कांगे्रसका तर्फबाट अध्यक्षमा टसी गुरुङ र उपाध्यक्षमा छिरिङ ढोका गुरुङसहित २३ पदमा २३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा एमालेका तर्फबाट लोप्साङ छोम्फेल बिष्टले उम्मेदवारी दर्ता गरे । उनी लोघेकर दामोदरकुण्ड गापाको अध्यक्ष पदमा उम्मेदवार बन्न अध्यक्ष पदबाट राजीनामा दिएका थिए । यस्तै, एमालेका तर्फबाट छिरिङ ल्हामो गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । उनी जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख थिइन् । लोघेकरमा उपाध्यक्ष बन्ने भएपछि दुईदिन अघि जिसस प्रमुखबाट राजीनामा दिएकी थिइन् ।
लोघेकरमा अध्यक्ष-उपाध्यक्ष र वडाध्यक्षसहित दुई सदस्यले उम्मेदवारी दर्ता गरेका छन् । लोघेकरमा उम्मेदवारी दर्ता गर्ने काम भइरहेको निर्वाचन अधिकृत नेपाल प्रहरी रानाभाटले जानकारी दिए । यस्तै,मुस्ताङको घरपझोङ गाउँपालिकामा मनोनयपत्र दर्ता गर्नेदिनको पहिलोदिन एकजनाले मात्र उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत गौरीनाथ आचार्यले जानकारी दिए ।
यहाँ नेपाल नेकपा समाजवादीको तर्फबाट जिसस सदस्य दुर्गादेवी रसाईलीले पदबाट राजीनामा दिँदै मनोनयनपत्र दर्ता गरेकी हुन् । यहाँ नेपाली कांग्रेस र एमालेले मनोनयपत्र फारम लिएपनि मनोनयपत्र दर्ता भने नभएको उनले बताए । स्थानीय तह निर्वाचनका लागि वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा पहिलोदिन र अन्तिम दिनको १ बजेसम्म कसैको उम्मेदवारी दर्ता नभएको जनाइएको छ । त्यहाँ राजनीतिक पार्टीले मनोनयपत्रको फारम लैजाने र उम्मेदवारी दर्ता प्रक्रियाका बारे सोधपुछ गर्ने काम भने भइरहेको छ ।