धरानमा एमालेकी मञ्जु भण्डारीविरुद्ध रत्न कट्वाल बने बागी उमेद्वार
धरान : यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुनसरीको धरान उपमहानरपालिकामा एमालेकी मञ्जु भण्डारीविरुद्ध रत्न कट्वालले बागी उमेद्वारी दिएका छन् ।
धरान उपमहानगरपालिकाको उपमेयर पदबाट राजीनामा दिएर मेयर पदमा मनोनयन दर्ता गरेकी भण्डारीविरुद्ध धरान-९ को वडाअध्यक्षबाट राजीनामा दिएर कट्वालले बागी उमेद्वार दर्ता गरेका हुन् ।
सत्ता साझेदार दलहरुको गठबन्धनविरुद्ध एमालेलाई चुनाव जित्न असहज भैरहेका बेला आफ्नै पार्टीका बागी उमेद्वारका कारण भण्डारीलाई चुनाव जित्न अर्को समस्या थपिएको छ । कट्वालले भने एमालेले धराने जनताबाट तिरस्कृत व्यक्तिलाई टिकट दिएका कारण आफूले भण्डारीविरुद्ध बागी उमेद्वारी दिएको कट्वालले बताएका छन् । धरानमा सत्तासाझेदार गठबन्धनलाई एमालेका एकल उमेद्वारले पराजित गर्ने अवस्था हुँदाहुँदै पनि सही व्यक्तिलाई टिकट नदिएका कारण आफूले बागी उमेद्वारी दिएको उनको भनाइ छ ।
हिजो धरानमा मेयर तारा सुब्बाको निधनपश्चात् कार्यबाहक मेयर भएको बेलामा भण्डारीले धेरै नराम्रा काम गरेको थाहा पाउँदा पाउँदै पनि एमाले नेतृत्वले उनैलाई टिकट दिनु धरानबासीका लागि घातक भएकाले पनि आफूले बागी उमेद्वारी दिएको कट्वालले बताए । एमालेका उपाध्यक्ष पारस काङमाङले कट्वालको बागी उमेद्वारीले धरान ९ मा केही असर गरे पनि अन्यत्र असर नगर्ने बताएका छन् ।