मुस्ताङमा १३५ पदमा २२६ जनाको उम्मेद्वारी
जोमसोम : मुस्ताङमा ५ स्थानीय तह निर्वाचनका लागि अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित कुल १३५ पदमा २२६ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले तोकेको आइतबार र सोमबारको समयअवधिमा पहिलो दिन २३ जना र दोश्रो दिन १०३ जनाको मनोनयपत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाको लोमान्थाङ गाउँपालिकामा ४६ जना, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ३० जना, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ५४ जना, घरपझोङ गाउँपालिकामा ४१ जना र थासाङ गाउँपालिकामा ५६ जनाको उम्मेदवारी दर्ता भएको हो। लोमान्थाङमा अध्यक्ष र उपाध्यक्षसहित कांग्रेस र एमालेले समान २३—२३ पदमा उम्मेदवारी मनोनयपत्र दर्ता गरेका हुन्।
लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कांग्रेसले ९, एमालेले २० र एकीकृत समाजवादी १ पदमा उम्मेद्वारी मनोनयनपत्र दर्ता भएको छ। लोघेकरमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा उम्मेदवारी दिएको छ भने एकीकृत समाजवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको हो।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ५४ जनाको उम्मेदवारी मनोनयपत्र दर्ता भएको छ। वारागुङ मुक्तिक्षेत्रमा कांग्रेस र एमालेले अध्यक्ष र उपाध्यक्षसहित पुरै सेटमा उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका हुन्। सदरमुकाम घरपझोङ गाउँपालिकामा कुल ४१ जनाले मनोनयनपत्र दर्ता गराएका छन्। घरपझोङमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित १८ जना, एमालेले अध्यक्ष र उपाध्यक्षसहित १७ जना, राप्रपाले उपाध्यक्षसहित ४, माओवादी केन्द्र र एकीकृत समाजवादी १—१ जना सदस्य पदमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरेको सहायक निर्वाचन अधिकृत गौरीनाथ आचार्यले जानकारी दिए। उनका अनुसार घरपझोङको १, २ र ५ वडामा एकल उम्मेदवारी परेकोले निर्विरोध भएको हो।
मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकामा कुल ५५ जनाको मनोनयपत्र दर्ता भएको निर्वाचन अधिकृत मुकुन्द आचार्यले जानकारी दिए। थासाङमा एमालेले २७ र कांग्रेसले २६ पदमा मनोनयपत्र दर्ता गरेका छन्। थासाङमा माओवादी केन्द्रले एक वडासदस्य र राप्रपाले १ वडाध्यक्षमा मनोनयपत्र दर्ता गराएको निर्वाचन अधिकृत अचार्यले बताए।
मुस्ताङमा ५ दलीय गठबन्धन अनुसार जिल्ला तहमा मतभारको आाधरमा कार्यगत रुपमा मिलेर निर्वाचनमा भाग लिने जनाईएको थियो। जसअनुसार जिल्लाको ५ स्थानीय तहमा एकिकृत समाजवादीले १ अध्यक्ष र १ सदस्य र माओवादी केन्द्रले २ वडासदस्य आफ्नो भागमा पारेको थियो।
मुस्ताङमा १३५ पदमध्ये २४ पद निर्विरोध
हिमाली जिल्ला मुस्ताङमा अध्यक्ष र उपाध्यक्षसहित कुल १३५ पद संख्यामध्ये २४ पद निर्विरोध भएको छ। लोघकर दामोदरकुण्ड र घरपझोङमा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन्।
अन्य स्थानमा तहमा भने एमाले कांग्रेस, राप्रपा र समाजवादीबीच कडा प्रतिपस्पर्धा हुने भएको छ। लोघेकरमा एमालेले वडाध्यक्षसहित १३ सदस्य र कांग्रेसले २ वडासदस्य निर्विरोध भएका छन्। घरपझोङमा एमाललेबाट १ वडाध्यक्षसहित ५ जना, कांग्रेसका २ वडाध्यक्षसहित ५ जना, राप्रपाका २ जना, माओवादी र एकीकृत समाजवादीका समान १—१ जना सदस्य निर्विरोध भएका छन्।
पार्टीगत भन्दा माथि उठेर वडागत सहमती हुँदा निर्विरोध
मुस्ताङको फरक भूगोल, यहाँको मिलेको समाज, मुखियाप्रथा, गाउँबीचको आपसी सौहार्दता आदिका कारण लोघेकर र घरपझोङका ६ वटा वडामा उम्मेदवारी दिने व्यक्ति निर्विरोध भएका हुन्। राजनीतिले समाज र गाउँलाई पछिसम्म फाटो ल्याउने र आपसको सम्बन्ध बिग्रिने भएकाले जिल्ला तहको निर्देशनलाई पन्छ्याएर गाउँबीच नै पदीय भागबण्डा गरी पद बाडफाड गरेका हुन्। मिलेर जाँदा नै गाउँको भलो हुने सम्बन्ध पनि यथावत रहने भएकाले यस्तो निर्णय भएको ठिनीको युवा निरज थकालीले जानकारी दिए।
मुस्ताङमा स्वतन्त्र उम्मेदवारी परेन
आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कुनै पनि व्यक्तिले स्वतन्त्र उम्मेदवारी दर्ता नगरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। मनोनयनपत्र दर्ता गर्ने अवधि भित्र यहाँ स्वतन्त्र उम्मेद्वारी नपरेपछि नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
संघीयतापछि पहिलो स्थानीय तह निर्वाचनमा हिमाली जिल्ला मुस्ताङमा ३३ जनाले स्वतन्त्र उम्मेद्वारी स्वरुप मनोनयनपत्र दर्ता गरेका थिए। स्थानीय तह निर्वाचन २०७४ मा लोमान्थाङ गाउँपालिकामा अध्यक्ष पदमा स्वतन्त्र, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्ष पदसहित ५ जना, वारागुङ मुक्तिक्षेत्र गाउपालिकामा स्वतन्त्र वडासदस्य १ जना, घरपझोङ गाउँपालिकामा अध्यक्ष १ र उपाध्यक्ष १ स्वतन्त्रसहित ९ जना र थासाङ गाउँपालिकामा उपाध्यक्ष १ जनासहित १७ जनाले उम्मेद्वारी दिएका थिए। यसपटक भने मुस्ताङमा स्वतन्त्र उम्मेद्वारी नभइ पार्टीगत प्रतिस्पर्धा हुन लागेको हो।