फास्ट ट्र्याक परियोजनामा काम गर्ने तीन चिनियाँ नागरिकको दुर्घटनामा मृत्यु
हेटौंडा : मकवानपुरको बकैया-११ घट्टेपाख र लेनडाँडा नजिक फास्ट ट्र्याक (द्रूत मार्ग) निर्माण गर्ने क्रममा लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार द्रूत मार्गमा काम गरिरहेको लोडर एक्कासी सिमात खोलमा खस्दा सोमबार साँझ लोडरमा रहेका छ जनामध्ये तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा चिनिया नागरिक झाङ छि, लुओ गुआन्गिन र सु मिङगाओ रहेको गुरूङले बताए।
अरु तीन जना घाइते भएका छन्। घाइते हुनेमा डोजर चालक पृतमबहादुर लामा, चिनियाँ नागरिक लिउ लिङवाई र डु स्विस रहेको मकवानपुर प्रहरीले जनाएको छ। घाइतेहरूको हेटौंडामा उपचार भइरहेको छ।