रुकुम पश्चिममा माओवादी आक्रमणबाट कांग्रेस वडा सभापतिसहित पाँच घाइते

रुकुम पश्चिममा माओवादी आक्रमणबाट कांग्रेस वडा सभापतिसहित पाँच घाइते

जाजरकोट : रूकुम पश्चिमको चौरजहारीमा नेकपा माओवादी केन्द्रको आक्रमणबाट नेपाली कांग्रेसका वडा सभापतिसहित पाँच जना घाइते भएका छन्। चुनावी प्रचारप्रसारका क्रममा शुक्रबार राति चौरजहारी नगरपालिका–१ घारीगाउँमा माओवादी कार्यकर्ताले एक्कासी आक्रमण गर्दा भएको दुई पक्षबीचको झडपमा परि पाँच जना घाइते भएका हुन्।

माओवादी कार्यकर्ताको आक्रमणमा परेर नेपाली कांग्रेसका वडा सभापतिसहित तीन जना घाइते भएका छन्। वडा सभापति यज्ञश बिष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर बिक घाइते भएका छन्।

रूकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुबहादुर सोतीका अनुसार नेपाली कांग्रेस चौरजहारी नगरपालिका-१ का सभापति योगेश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी , कांग्रेस कार्यकर्ता मनबहादुर बिक र वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते छन्। घाइतेमध्ये तरूण दलका योगेश र मानबहादुरलाई नेपालगन्ज रिफर गरिएको छ। अन्यको चौरजहारी स्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाईते बिष्ट र बिकको टाउकोमा गम्भीर चोट लागेको छ।

प्रहरी मुकदर्शक बनेको कांग्रेसको आरोप

ईलाका प्रहरी कार्यालय चौरजहारीबाट घटनामा संलग्नहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको डीएसपी सोतीले जानकारी दिए। दर्जनौं माओवादी कार्यकर्ताहरु एक गाउँबाट अर्को गाउँ गएर कांग्रेस कार्यकर्तामाथि आक्रमण गर्दा पनि प्रहरी मुकदर्शक बनेको नेपाली कांग्रेस चौरजहारीको आरोप छ। कांग्रेसले सुरक्षाको माग गरेको छ।

नेपाली कांग्रेस रूकुम पश्चिमले विज्ञप्ति निकालेर घटनाको भत्र्सना गरेको छ। रूकुम पश्चिममा नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल बलियो देखेर माओवादी केन्द्रले विभिन्न तवरले आक्रमण गर्ने गरेको कांग्रेसको भनाइ छ। ‘माओवादीसँग चुनावी तालमेल गर्ने राष्ट्रिय सहमति कार्यान्वयन हुन नसकेपछि अरू दलहरुसँग भएको चुनावी तालमेलबाट आत्तिएर रूकुम पश्चिममा माओवादीले भौतिक आक्रमण गरिरहेको छ,’ सभापति प्रेमप्रकाश वलीले भनेका छन्। 

यसअघि पनि माओवादी केन्द्रका कार्यकर्ताहरूले आठविसकोट नगरपालिका–८ का उम्मेदवार चन्द्रबहादुर बुढा लगायतका कांग्रेस नेता तथा कार्यकर्तामाथि आक्रमण गरेका थिए। यस्तै त्रिवेणी गाउँपालिका–५ मा उपाध्यक्ष उम्मेदवारले प्रयोग गर्ने गाडी जर्बजस्ती लिएको, अध्यक्षका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड गरेको, घरमा आगजनीको प्रयास गरेको, गरगहना, नगद लुटपाट जस्ता कार्य माओवादीले कांग्रेसलाई लक्षित गरिरहेको विज्ञप्तिमा भनिएको छ। 

चौरजहारीमा बिहीबार मात्रै पनि वाईसीएल र काङ्ग्रेस एमाले कार्यकर्ताबीच वडा नम्वर ७ मा झडप भएको थियो। झडपमा परी ५ जना गठबन्धन तर्फका र २ जना माओवादी कार्यकर्ता घाईते भएका थिए। 
दिनहुँ जसो चौरजहारीमा भैरहेका झडपका घटनाले दलहरुले आफ्ना कार्यकर्तालाई संयमित राख्न नसक्नु र चौरजहारीको सुरक्षा व्यवस्था चुस्त नभएको नै देखाउछ। मेस र क्याम्पिङका नाममा हुने हो–हल्ला र मदिराको बढ्दो प्रयोगले पनि यस्ता घटना भैरहेको स्थानीयको भनाई छ। यस अघि पनि पश्चिम रुकुममा माओवादी कार्यकर्ताको कुटाईबाट एक जना शिक्षकसहित दर्जन कांग्रेस कार्यकर्ता घाइते भएका छन्। 

अर्थमन्त्री शर्माको छायामा प्रहरी प्रशासन 

अर्थमन्त्री जनार्दन शर्माको छायामा प्रहरी प्रशासन पर्दा माओवादी कार्यकर्ता अराजक बन्दै गएको कांग्रेस नेता खडक डाँगीको भनाइ छ। गल्ती गर्दा पनि माओवादी कार्यकर्तालाई कुनै किसिमको कारवाही नहुनु र उल्टै उनीहरुको अर्थमन्त्री शर्माले संरक्षण गरिरहेका कारण माओवादीहरु अराजक बन्दै गएको डाँगीको भनाई छ। स्थानीय तहको आसन्न निर्वाचनमा रुकुम पश्चिममा कांग्रेस र एमालेले तालमेल गरेर माओवादी विरुद्ध मोर्चाबन्दी गरेपछि माओवादी कार्यकर्ता आक्रामक बनेका हुन्।
माओवादी आक्रमणबाट घाइते भएका कांग्रेस कार्यकर्ता 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.