निर्वाचित भए सरकारी सुविधा लिन्न : वडाध्यक्षका उम्मेदवार श्रेष्ठ
रामेछाप : खाँडादेवी गाउँपालिका-३ बाट अध्यक्ष उम्मेदवार बनेका भक्तबहादुर श्रेष्ठले आफूलाई निर्वाचित गराएमा सरकारी सेवा सुविधा केही नलिने घोषणा गरेका छन्।
नेपाली काँग्रेसकातर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका श्रेष्ठले आफूले प्राप्त गर्ने सम्पुर्ण सेवा सुविधा शैक्षिक सुधार र विपन्न वर्गको सहयोगमा खर्च गर्ने उद्घोष गरेका छन्।
३६ वर्ष शैक्षिक क्षेत्रमा सेवा गरे अब गाउँको र वडाबासीको सेवामा लाग्नेसमेत श्रेष्ठले बताए। श्रेष्ठ भन्छन् ‘वडाबासीको आग्रहमा नै आफू उम्मेदवार बनेको हुनाले वडाका नागरिकलाई केन्द्रमा राखेर काम गर्ने छु।’ गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता भएको र आधारभूत विद्यालयको भौतिक संरचना सुधार गरेर अंग्रेजी माध्यमको सुरुवात गराउनेसमेत श्रेष्ठले बताए।
सुत्केरी महिलालाई प्रोत्साहनस्वरुप छोरी जन्मिएमा जन्मदर्ता पश्चात ५ हजार रुपैयाँ बाल बचत खाता खोलेर जम्मा गरिदिने पनि श्रेष्ठले जानकारी दिए। समाजमा छोरी जन्मेपछि नाक खुम्च्याउने प्रवृत्ति रहेकाले यसको निर्मूल पार्नको लागि आफूले यस्तो योजना बनाएकोपनि श्रेष्ठको भनाइ छ।
बाल बचतमा वडाले ५ हजार जम्मा गरेर खाता संचालन गरेपछि बालिकाको शिक्षा र पछि उसको आवश्यकता अनुसार खर्च गर्न सहज हुने उद्देश्यले यस्तो योजना बनाएको श्रेष्ठले बताए। वडाको विकासको मोडल समेटिएको २५ बुँदे प्रतिबद्धता पत्र जनताको हातहातमा पुर्याएको छु सबै पूरा गरेर नमूना वडा सुखी वडाबासी बनाएरै देखाउँछु श्रेष्ठ भन्छन्।
आफूलाई कुनैपनि लोभ लालच नभएरै राज्यको सेवा सुविधा नलिने निर्णय गरेको पनि उनको भनाइ छ।