मनमोहनकी नातिनी भित्र्याउँदै लिङ्देनले भने, ‘ठूला दलको बाकस खाली गरेपछि मात्र देश बन्छ’
हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टीको बाकस खालि नगरेसम्म देश विकास नहुने बताएका छन्। आइतबार हेटौंडामा राप्रपा मकवानपुरको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘त्यसो गर्न सकियो भने उनीहरुको अघि दुईवटा विकल्प हुन्छ, कित मैदान छाडेर हिँड्नुपर्छ कित सच्चिनुपर्छ।’ देश विकासको लागि राप्रपा मात्र सच्चिएर नहुने भएकाले यी सबैलाई सुधार गर्नुपर्ने लिङ्देनको भनाई छ।
भोट दिने भनेको हात काटेर दिनु सरह भएकाले एक क्षणको निर्णयले देशको भविष्य निर्धाराण हुने उनले बताए। ‘जनता मालिक हुने भनेको पाँच वर्षमा एक दिन एक क्षण हो’, लिङ्देनले भने, ‘त्यो बेलामा गर्ने निर्णयले ठूला भनिएकाहरुलाई धुलो चटाउन सकिन्छ, राम्रा काम गर्ने मान्छेहरुलाई सत्तामा पुर्याउन पनि सकिन्छ।’ एक भोटले देशको भविष्य कता जाने निर्धारण हुने भएकाले छोरी दिनुभन्दा पनि बढि सोचेर मात्र भोट दिन उनले सबैलाई आग्रह गरे।
कांग्रेस, एमाले र माओवादीलाई ३० वर्षसम्म लगातार सत्तामा पुर्याएपनि देश झन विकराल गरिबीतर्फ धकेलिन थालेको भन्दै लिङ्देनले चिन्त ब्यक्त गरे। ‘अबकति पटक कांग्रेस, माओवादी र एमालेलाई भोट दिएपछि देश बन्छ?’, उनले प्रश्न गरे, ‘एक पटक राप्रपालाई भोट दिनुहोस्, अर्को पटकदेखि हाम्रो कामले भोट माग्नेछ।’ भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह भएको बताउँदै उनले आफूले एक रुपैयाँ कतै भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिन तयार रहेको बताए।
कार्यक्रममा बोल्दै राप्रपाका नेता बुद्धिमान तामाङले काले काले मिलेर खाउँ भाले भनेजस्तै ठूला दलहरु मिलेर देशलाई खोक्रो बनाएको बताए। ‘भ्रष्टाचार मुक्त, सुशासनयुक्त र समृद्ध देश विकासको लागि राप्रपाको स्थानीय तहदेखि केन्द्र सरकारसँग राप्रपाको नेतृत्व आवश्यक छ’, उनले भने, ‘हामीले जितको स्थानीय तहमा घरघरमा सरकारको काम पुर्याउनेछौं।’
हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार तथा राप्रपा नेता दिपक सिंहले जितेमा हेटौंडा सदाको लागि भ्रष्टाचार मुक्त बनाउने बताए। ‘विकास कस्तो हुन्छ, हामीले नेतृत्व गर्ने सौभाग्य पायौं भने गरेर देखाउँछौं’, उनले भने, ‘मलाई आफ्नो लागि गर्नु छैन, समग्र नगरको विकासको लागि काम गर्छु। सबै नागरिकलाई सुखी र खुशी बनाउँदै मेरै जस्तो सबै नागरिकको चिल्लो गाला बनाउछु।’
उनले हेटौंडामा सुविधा सम्पन्न अस्पताल निर्माण, मुआब्जा बितरण गरेर हेटौंडाको सडक विस्तार, सबै नागरिकको नि:शुल्क बिमालगायतका काम गर्ने बताए। कार्यक्रममा तत्कालिन नेकपा एमालेका महासचिव तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नातिनी स्वेता खड्का राप्रपामा प्रवेश गरिन्। उनलाई पार्टी अध्यक्ष लिङ्देनले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए।
प्रतिक्रिया दिनुहोस !