हङकङका कार्यकारीमा जोन निर्वाचित
हङकङ : हङकङका कार्यकारी प्रमुखमा जोन ली का चिउ निर्वाचित भएका छन्। हालसम्मकै सर्वाधिक ९९.४ प्रतिशत मत प्राप्त गर्दै उनी छैटौं कार्यकारी प्रमुख बनेका हुन्। जोन एकल उम्मेदवार थिए। १ हजार ४ सय २४ सदर भोटमध्ये जोनको समर्थनमा १ हजार ४ सय १६ परेको थियो।
जोनले आफुलाई प्राप्त मतको सम्मान गर्दै देश र जनताका लागि उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘सुशासन र कानुन देशको मूल स्तम्भ हो। सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षाको रक्षा गर्दै सर्वांगिण विकासलाई पूर्ण आत्मविश्वासका साथ चुनौतीहरूको सामना गर्दै अगाडि बढ्नेछु’, उनले भने।
आफ्नो कार्यकालमा हङकङलाई आन्तरिक र बाह्य खतराबाट जोगाउने र स्थायित्वलाई प्रमुख महत्व दिइने उनले बताए। ६४ वर्षीय पूर्वप्रहरी अधिकारी जोन सुरक्षामन्त्री भएका थिए। बेइजिङको समर्थन पाएका जोनले जुलाई १ मा कार्यकारी प्रमुख क्यारी लामलाई बिदा गर्दै पदधारण गर्नेछन्।