स्थानीय निर्वाचन, राष्ट्रिय उत्सव

स्थानीय निर्वाचन, राष्ट्रिय उत्सव

आज स्थानीय तह निर्वाचन। जनताले पाँच वर्षका लागि घरदैलोको सरकार छान्ने महान दिन। देश विकासका लागि राष्ट्रिय महायज्ञ। निर्वाचनको राष्ट्रिय उत्सवमा सिंगो देश होमिएको छ। संविधान र लोकतान्त्रिक व्यवस्थालाई समुन्नत, बलियो, परिस्कृत र दिगो बनाउन यो निर्वाचनले महत्त्वपूर्ण योगदान पुर्‍याउने नै छ। 

लोकतन्त्रको आधारभूत मूल्यभित्र पर्छ, आवधिक निर्वाचन। २०६२÷०६३ को दोस्रो जनआन्दोलनको सफलतापछि संविधानसभा बनेको संविधानले तीन तहको सरकारसहित आवधिक निर्वाचनको व्यवस्था गरेको छ। त्यस अनुरूप २०७४ मा तीनै तहको चुनाव भयो। कार्यवधि समाप्तिपछि स्थानीय तहको चुनाव हुँदैछ। यसपछि प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन हुनेछन्। 

घर नजिकको सरकार छनोटको गम्भीर र महत्त्वपूर्ण जिम्मेवारी जनताको काँधमा आएको छ। लोकतन्त्रमा जनता सर्वाेपरि हुन र जनताको आदेशले मात्रै शासन सत्ता सञ्चालन हुन्छ भन्ने मान्यता हुन्छ। अर्थात्, जनताले प्रत्येक पाँच वर्षमा निर्वाचनको माध्यममार्फत राम्रालाई सत्तामा पुर्‍याउने र गलतलाई दण्डको फैसला गर्छन्। लोकतन्त्रको सार्थक अभ्यास निर्वाचनबाट मात्रै हुन्छ भन्ने सर्वोपरि मान्यता छ। लोकतन्त्रले प्रत्येक 

नागरिकलाई आफ्नो मन र भावना जित्नेलाई मात्रै प्रतिनिधि छनोट गर्ने सुअवसर प्रदान गर्छ। 

निर्वाचनको मूल मान्यता नै यो स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनुपर्छ भन्ने हो। सबै नागरिकले आफ्नो मत निर्धक्कसाथ राख्ने पाउने र प्रत्येकको मत जाहेर गर्न पाउने हकलाई निर्वाचनले ‘ग्यारेन्टी’ गरेको हुन्छ। निर्वाचन भनेको प्रत्येक नागरिकको मत हाल्ने र मत व्यक्त गर्न पाउने अधिकार हो। कुनै पनि बहानामा कुनै पनि नागरिकको मताधिकार खोस्न मिल्दैन। मताधिकार खोस्नु वा वञ्चित गर्नु भनेको उसको मानवअधिकार हनन् गर्नु हो। लोकतन्त्रमा सबै नागरिक समान हुन्छन् र प्रतिनिधि छनोटमा सबैको मताधिकार बराबर हुन्छ। संविधानले निश्चित उमेर पुगेका सबै नागरिकलाई उम्मेदवार बन्न वा मत जाहेर गर्ने अधिकारको सुनिश्चित गरेको छ। त्यसैले लोकतन्त्रको समृद्धि र समुन्नति गर्ने उच्चतम प्रणाली नै चुनाव हो। 

दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख मतदाता छन। तीमध्ये ३१ लाख नयाँ मतदाता छन। सबै मतदाताले स्थानीय वा केन्द्र सरकारको नेतृत्व एकैपटक गर्न मिल्दैन। त्यसैले जनतालाई आफ्ना प्रतिनिधिमार्फत सरकार बनाउने अवसर दिइएको हुन्छ। निर्वाचनमा एक मत नै निर्णायक हुन्छ। मतदाताले कसैको दबाब, रवाफ र प्रभावमा नपरी स्वइच्छाले भोट हाल्नुपर्छ। पार्टी र उम्मेदवारको सही मूल्यांकन गरेर विकास र समाजप्रति इमान्दारलाई भोट दिन सकियो भने मात्रै स्थानीय सरकार बलियो हुन्छ, गाउँ समाजको विकास हुन्छ। जनताले चाहेको विकास र समृद्धि आउँछ। 
तर, ‘मेरो एक भोट त हो नि’ भनेर हेलचेक्र््याइँ गर्नु हुँदैन। त्यही एक मतले सही मान्छे नेतृत्वमा आउँछ, र एक मत भन्दै हेलचेक्र््याइँ गर्‍र्यौं भने फेरि खराब मान्छेबाट शासित हुन पुग्छौं। आफ्नो गाउँ ठाउँको

विकास गर्न सक्ने नेतृत्वलाई मात्रै मत दिऔं। जनतालाई सुखी र समृद्धि बनाउन सक्ने प्रतिनिधि छानौं। मत हाल्नु अघि आफूले चुन्ने व्यक्तिका विषयमा एक पटक राम्रोसँग मनन् गरौं। उपयुक्तलाई भोट दिन सकेनौं भने आफू र समाजका लागि दुःख निम्त्याउनु हो। मत खेर फाल्नु हो। त्यस्ता व्यक्तिले देश, समाज र गाउँका लागि काम गर्दैनन्। 

पहिलेदेखि नै मत हाल्दै आएका मतदाता भोट कसरी हाल्ने भन्नेमा केही हदसम्म जानकार हुन्छन्। मतपत्रमा स्वस्तिक छाप लगाउनेदेखि पट्याएर बाकसमा खसाल्न पनि उनीहरू अभ्यस्त भइसकेका हुन्छन्। तर, नयाँ मतदाताका लागि मतदाता शिक्षा अति नै आवश्यक हुन्छ। नयाँ मतदाता भोट हाल्न उत्साहित त हुन्छन्। तर, मतदाता शिक्षाको कमीका कारण बिग्रने सम्भावना पनि उत्तिकै हुन्छ। उनीहरूले किन मतदान गर्दैछु ? कसलाई दिँदा ठीक होला ? भन्ने बुझेर मात्रै मतदान गर्नुपर्छ। हल्ला, प्रलोभन वा त्रासका कारण मत दिनु हुँदैन। मतदान गर्न जानुअघि घरबाट मतदाता परिचयपत्र बोकेर जानुपर्छ भन्ने ख्याल गर्नुपर्छ। 

हाम्रो समाजमा यस्ता पनि मान्छे हुन्छन्, जो अघिपछि घर बाहिर निस्किन पाउँदैनन्। चुनावका बेला निस्कने र अरूसँग भेटघाट गर्ने मौका पाउँछन्। खुसी हुँदै, नयाँ लुगा लगाएर, गीत गाउँदै, भोट हाल्न जाने गर्छन्। यस्ता उमंग र खुसीका अनेक दृश्य चुनावमा देख्न पाइन्छ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा स्थानीय तहको मतपत्र अलि जटिल छ। सात ठाउँमा सात छाप लगाउनुपर्छ। त्यो पनि कोठाभित्रै। वृद्धवृद्धा, शारीरिक अपांगता, हात काम्ने गरेका र आँखा राम्ररी नदेख्नेका लागि त्यति सानो कोठाभित्र छाप लगाउनु निकै कठिन हुन्छ। त्यसकारण मत रद्द हुने जोखिम निकै हुन्छ। त्यसका लागि पर्याप्त मतदाता शिक्षा चाहिन्छ। विगतका निर्वाचनमा पाँच प्रतिशतसम्म मत बदर भएको तथ्यांक छ। बदर मतसंख्या उल्लेख्य रूपमा घटाउन सकेका छैनौं। त्यसैले मतदान गरेर मात्र पुग्दैन। सही मतदान गर्न जान्नुपर्छ। अभ्यासको कमी र मतदाता शिक्षाका कारण मत बिग्रिने हुन्छ। मतदाता आफैं सजग भएर जान्नेसँग सोधेर, बुझेर मात्रै मत हाल्न जानुपर्छ। दान गरेको मत नै बिग्रियो भने के अर्थ हुन्छ र ? निर्वाचन आयोगले पनि चुनावका बेला मात्र नभई वार्षिक कार्यक्रममै मतदाता शिक्षालाई राख्नुपर्छ। जिल्लास्थित निर्वाचन कार्यालयमार्फत अघिपछि पनि मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरेर मतदातालाई जान्ने र बुझ्ने बनाउन सकिन्छ। 

निर्वाचन आयोगले यसपटक मतदाता शिक्षाका लागि विगतमा जस्तो घर दैलो गरेन। घरघरमा स्वयंसेवक पनि पठाएन। स्वयंसेवक पठाउँदा मतदाता शिक्षा प्रभावकारी नभएको र स्वयंसेवकले पनि तोकिएको जिम्मेवारी पूरा नगरेको भन्ने  गुनासा विगतमा आएका थिए। आयोगले यसपटक मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो। मतदातालाई सही रूपमा मतदान गर्न सक्षम बनाउने आयोगको जिम्मेवारी त छँदैछ। स्वयं मतदाता पनि मत खेर नजाओस् भन्नेमा सचेत हुनैपर्छ। कसलाई मत दिनेभन्दा पनि कसरी मत दिने ? भनेर मतदातालाई सिकाउन जरुरी छ। त्यसका लागि आयोगले नमुना मतपत्र छापेको हुन्छ। आयोगले सामाजिक सञ्जालबाट सही मतदानका लागि प्रचारप्रसार पनि गरिरहेको छ। तर आयोगको पहलमात्रै पर्याप्त नहुन सक्छ। राजनीतिक दलका कार्यकर्ता, सञ्चारजगत् वा ज–जसले मतदान गर्न जानेका छन, उनीहरूले अरूलाई सिकाउनुपर्छ। मत खेर फाल्नु भनेको पनि दुरुपयोग हो। कुनै पनि दुरुपयोग निर्वाचनका लागि सकारात्मक मान्न सकिन्न। 

निर्वाचन आयोगलाई चुनावको तयारीका लागि यसपटक समय निकै कम भयो। पाँच वर्षमा चुनावको चक्र (साइक्लिनिङ) आउँछ भन्ने ख्याल गरिएन। त्यसअनुसार तयारी पनि गरिएन। सरकार र दलहरूले चुनावको मिति कहिले तोक्छन् भनेर आयोग पर्खेर बस्नुपर्छ। ढिलोगरी मिति तोकिदिँदा निर्वाचन व्यवस्थापनका काममा प्रत्यक्ष प्रभाव पर्छ। 

निर्वाचन हामी नेपालीका लागि राष्ट्रिय उत्सव हो। सबै जाति, क्षेत्र, लिंग र समुदायका व्यक्तिहरू निकै नै उत्साहित भएर निर्वाचनमा सहभागी हुने गरेका छन्। काठमाडौं रहेका अधिकांश मतदाता भोट हाल्न गाउँ गएका छन्। धनगढी, विराटनगर, नेपालगन्जलगायतका सहरमा रहेका मतदाता पनि गाउँ छिरेका छन्। गाउँमा उल्लास छ। काठमाडौं दसैंको बेलाको जस्तो भएको छ। सडकमा गाडी पातलिएका छन्। अर्कोतिर हाम्रो समाजमा यस्ता पनि मान्छे हुन्छन्, जो अघिपछि घर बाहिर निस्किन पाउँदैनन्। उनीहरू चुनावका बेला निस्कने र अरूसँग भेटघाट गर्ने मौका पाउँछन्। खुसी हुँदै, नयाँ लुगा लगाएर, गीत गाउँदै, भोट हाल्न जाने गर्छन्। यस्ता उमंग र खुसीका अनेक दृश्य चुनावमा देख्न पाइन्छ। शान्तिपूर्ण रूपमा खुसीसाथ सहभागी भइयो भने यसले अर्कै आनन्द दिन्छ। तर हरेक नागरिकले आचारसंहिताको भने ख्याल गर्नैपर्छ। आयोगले पनि मतदातामैत्री निर्वाचनका लागि प्रविधिको प्रयोगलाई बढाउनुपर्छ। विद्युतीय मेसिनको प्रयोगदेखि मतपत्रको ‘डिजाइन’ मा परिवर्तन गरेर पनि मतदानलाई सहज र सरल बनाउन सकिन्छ ।

उप्रेती, पूर्वप्रमुख निर्वाचन आयुक्त हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.