तारजाली लगाएर पोखरामा बनाइयो मतगणना स्थल
पोखरा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलगत्तै हुने मतगणनाका लागि पोखरामा मतगणना स्थल बनाइएको छ। मतगणना गर्दा पार्टीका प्रतिनिधिबीच हुने झगडाका कारण मतपत्रमा क्षति नपुगोस् भन्ने उद्देश्यले मतगणना स्थलमा तारको जाली प्रयोग गरेर बारिएको हो।
जिल्ला समन्वय समितिको कार्यालय कास्की र मुख्य निर्वाचन अधिकृतको कार्यलयको भवनका ६ वटा ठूला साना कोठामा मतगणना गर्ने गरी तयारी गरिएको हो। ६ वटा कोठामा दश स्थानमा मतगणना गर्ने गरी मतदान स्थल तयार गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीका सूचना अधिकारी निल पनेरुले जानकारी दिए।
शान्तिपूर्ण रुपमा मतादन र मतगणना सम्पन्न गराउने गरी तयारी भएको उनले बताए। सर्वदलीय बैठक बसेर निर्वाचनको आचारसंहिता प्रति प्रतिवद्धता जनाएर मतदान र मतगणना अघि बढाइने गरी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ।
पोखरामा २०७४ सालमा निर्वाचनमा पनि मतगणना स्थल सुरक्षित राख्न यस्तै तारको जालीको प्रयोग गरेर मतगणना स्थल तयार पारिएको थियो। यस वर्ष पनि उसै गरी मतगणनाको क्रममा हुन सक्ने क्षति रोक्न सुरक्षा सर्तकता अपनाएर मतगणना स्थल तयार पारिएको हो। पोखरा महानगपालिकामा ३३ वटा वडा रहेका छन्। यसै गरी कास्की जिल्लामा अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रुपा गाउँपालिका गरी ४ गाउँपालिका रहेका छन्।
पोखरा महानगर र ४ गाउँपालिका समेत गरी कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता रहेका छन्। कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ।