त्रियुगा नगरपालिका - १२ मा पुनः मतदान कि मतगणना ?
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका- १२ मा पुनःमतदान वा झरेको मतगणना गर्ने भन्ने विषयमा टुङ्गो नलाग्दा गणना कार्य प्रभावित बनेको छ। शुक्रबार दिउँसो मतदान कार्य जारी रहँदा विवाद सिर्जना भएपछि मतदान कार्य स्थगित भएको हो।
स्थगित मतदान प्रकृयाको विषयमा निर्वाचन आयोगको निर्णयको प्रतिक्षामा रहेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले बताए। उनले भने, ‘हामीले स्थलगत अनुगमन पश्चात त्यहाँबाट आएका सुझाव र समस्याका विषयमा आयोगलाई जानकारी गराइसकेका छौं, हालसम्म कुनै त्यस्तो निर्णयको जानकारी नआएकाले स्थगित नै छ।'
‘रद्ध गरी पुनः मतदान गर्ने वा झरेको मतकै आधारमा गणना गर्ने भन्ने आयोगको निर्णयको प्रतिक्षामा छौं।' खनालले भने, ‘सायद दिउँसोसम्म केहि निर्णय होला त्यसपछि समाधान खोजिन्छ।'
जनप्रेमी माध्यमिक विद्यालयमा निर्वाचन प्रकृया चलिरहँदा बर्षात भएपछि मतदान प्रकृया अवरुद्ध भएको थियो। बर्षातका कारण मतपत्र सुरक्षित गरी मतदान प्रकृया अगाडि बढाउन खोज्दा स्थानीयले अवरोध गरेका थिए।
मतदान कार्य स्थगन भइरहँदा मिश्रित प्रतिकृया आएको छ। धेरैजसोले ५१ प्रतिशत मत खसिसकेकाले सोही मतलाई सदर गरेर गणना कार्य अघि बढाउनु पर्ने भनाई छ भने अर्को थरीले रद्द गरी पुनः मतदान गर्नु पर्ने सुझाव आएको छ।
पुनः मतदान गर्दा सबै पार्टीको नेतृत्वदेखि कार्यकर्तासम्म सोही वडामा केन्द्रित हुने र मतदाता प्रभावितदेखि लिएर धम्की, आर्थिक चलखेल, झडप हुने सम्भावना रहेकाले झरेको मतलाई नै सदर गर्नु पर्ने प्रतिक्रिया छ।
त्रियुगा नगरपालिका क्षेत्रमा वडा नं. १२ बाहेक ३८ हजार ४५८ मत अर्थात ६७ दशमलव ८४ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।