शव नउठ्दा मतगणना प्रभावित

शव नउठ्दा मतगणना प्रभावित

उदयपुर : प्रहरीको गोली लागि मृत्यु भएका उदयपुरको कटारी नगरपालिका–१० सोरुंगछविसेका १९ वर्षीय नवीन कटुवालको शव २४ घण्टा बित्दासमेत उठेको छैन।  वार्ता र संवादबाट समाधान भएपछि मात्र शव उठाउने भन्दै स्थानीयले घटनास्थलमा नै शव राखेका हुन्। स्थानीयले गोली चलाउने प्रहरी हवल्दार र आदेश दिने इन्स्पेक्टर दुवैलाई जागिरबाट बर्खास्त गर्नुपर्ने, मृतक र घाइतेलाई उचित क्षतिपूर्ति, घाइतेको उपचार खर्च व्यहोर्नु पर्ने, सहिद घोषणा गर्नुपर्नेलगायतका माग अघि सारेका छन्।

उनीहरूले माग पूरा नभएसम्म र प्रमुख जिल्ला अधिकारी स्थलगत निरीक्षणमा नआएसम्म लास नउठाउने बताएका छन्। स्थानीयले प्रहरीको चरम लापरबाहीबाट घटना घटेको हुँदा माग पूरा नभएसम्म शव उठाउन नदिने बताए। 

घटनामा प्रहरी प्रशासन गठबन्धन सरकारको मतियार भएको स्थानीयको आरोप छ। शान्तिपूर्ण तवरबाट भएको निर्वाचनमा मोवाइल गस्ति गर्दै आएका इन्स्पेक्टरले करिब ४ बजेको समयमा मतदान स्थल अघि रहेका सर्वसाधारणलाई हटाई कांग्रेसका कार्यकर्तालाई फर्जि मत हाल्नेगरी सिधैभित्र प्रवेश गराएपछि स्थानीयले अबरोध गरेका थिए।

एमालेका वडाध्यक्षका उम्मेदवार क्षेत्रबहादुर खड्काले भने, ‘इन्स्पेक्टरले मतदानस्थल आइपुग्नासाथ बाहिर रहेको भीडलाई एक सय मिटर पर बस भन्दै लखट्नु भयो, त्यसपछि कांग्रेसका कार्यकर्तालाई भित्र प्रवेश गराउनुभयो।’ मतदानस्थलमा रहेका नेकपा एमाले, नेकपा एस र स्वतन्त्रका कार्यकर्ताले प्रतिवाद गरिरहेको बताउँदै उनले भने, ‘त्यतिकैमा मृतक १९ वर्षीय नवीन कटुवाल थोरै सुरक्षा घेराभित्र प्रवेश गरेका थिए। 
त्यतिकैमा इन्स्पेक्टरले ठोक भन्ने आदेश दिए, प्रहरी हवल्दारले गोली चलाएका थिए। ‘हामी कसैले पनि ढुंगामुढा गरेका थिएनौं’, उनले भने, ‘भनाभन मात्र भएको हो, गोली त के, अश्रुग्यास, लाठीचार्ज गर्ने अवस्था पनि थिएन।’ स्थानीयले भने दिनभर सुरक्षा व्यवस्था फितलो भएको बताएका छन्। 

स्वतन्त्र उमेदवार गौरबहादुर कटुवालले फितलो सुरक्षा व्यवस्थाबारे प्रहरीलाई जानकारी गराउँदासमेत बेवास्ता भएको बताए। मतदान एरिया वरपर भीडभाड रहेकाले अघिल्ला निर्वाचनमा पनि धाँधली भएको र यसपटक पनि सम्भावित खतराका बारेमा सुरक्षा प्रशासनलाई जानकारी दिइएको उनले बताए। गोली चलिरहँदासमेत भित्र प्रवेश गरेका कांग्रेसका कार्यकर्ताले मतदान गरिरहेको उनले बताए। स्थानीयले घटनाको विषयमा प्रशासन फितलो ढंगले प्रस्तुत भएको बताएका छन्। उनीहरूले घाइतेको उपचारका लागि हेलिकप्टर पठाउन गरिएको आग्रहलाई आश्वासन दिएर नपठाएको बताए। उनले भने, ‘सिडियो सापले कटारीमा हेलिकप्टर आउँछ भने, घाइतेलाई त्यहाँ पुर्या‍उँदासमेत हेलिकोप्टर आएन।’

घटनाको विषयमा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अलग–अलग विज्ञप्ति जारी गर्दै खेद व्यक्त गरेका छन्। विप्लवका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले प्रहरी प्रशासनले कांग्रेसका कार्यकर्तासँगको मिलेमतोमा गोली चलाएको बताए। 

सरकारको चरम दुुरुपयोग गर्दै कांग्रेसले सुनियोजित रूपमा घटना घटाएको उनले बताए। उनले भने, ‘सुरक्षा घेराभित्र सत्ताको चरम दुरुपयोग गर्दै फर्जी मत खसाल्न खोजियो हामीले प्रतिवाद गर्‍यौं अन्ततः गोली चल्यो।’ 

स्थानीयले खिचेको भिडियोमा समेत गोली चलेपछि अव कांग्रेसले झन् धाँधली गर्छ भन्ने आवाज सुनिएको छ। घटनाको विषयलाई लिएर नेकपा एमाले उदयपुरले राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लगाउँदै एक विज्ञप्ति जारी गरेको छ। एमाले अध्यक्ष परमेश्वर घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामान्य विवाद समाधान गर्नुको साटो राज्यशक्तिको दुरुपयोग गरी नागरिक माथि गोली प्रहार गर्नु निन्दनीय भएको बताएका छन्। विज्ञप्तिमा गठबन्धन सरकारद्वारा परिचालित प्रशासनले निर्दोष मतदातालाई छातीमा गोली हानेर हत्या गर्नुले कानुनी राज्यकै धज्जी उडाएको बताइएको छ।

दुवै पार्टीले घटनाको यथार्थ जनता सामु ल्याउन र मृतक परिवारलाई व्यवस्थापन गर्दै क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। शुक्रबार दिउँसो ५ः२० बजे प्रहरीले चलाएको गोली लागेर १९ वर्षीय नवीन कटुवालको घटनास्थलमा नै मृत्यु भएको थियो। उनको छातीमा गोली लागेको छ। 

प्रहरीले चलाएको गोली लागेर घरमा बसिरहेका स्थानीय १३ वर्षीय मन श्रेष्ठ घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ। बाहिरबाट ढुंगामुढा प्रहार गर्दा प्रहरी जवान विष्णु तामाङ घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। 

प्रजिअ यादवले मदतान प्रक्रिया सकिइसकेपछि दलका कार्यकर्ताबीच विवाद सिर्जना भई प्रहरीमाथि ढुंगामुढा गर्दा शान्तिसुरक्षाका लागि गोली चलाइएको बताए। उनले भने, ‘मतदान सकेर दलका प्रतिनिधिले मुचुल्कामा समेत हस्ताक्षर गर्दै गर्दा अकस्मात बाहिरबाट ढुगांमुढा हान्न थालेपछि प्रहरीले जवाफी फाइरिङ गरेको हो। 

उनले भने, ‘स्थितिलाई नियन्त्रणमा लिन मतदानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीको टोलीले गोली फायर गरेको हो। कालीका मावि सोरूङ छविसे मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ प्रहरी र ८ जना म्यादी प्रहरी गरी जम्मा १२ जना थिए। 

प्रहरीले एसएलआरबाट ४ राउन्ड र थ्रीनटथ्री राइफलबाट ४ राउन्ड गरी जम्मा ८ राउन्ड गोली फायर गरेको जनाएको छ। कटारी–१० मा वडाध्यक्षका लागि नेकपा एमालेबाट क्षेत्रबहादुर खड्का, कांग्रेसबाट बलबहादुर कार्की, नेकपा एकीकृत समाजवादीबाट लेटनारायण श्रेष्ठ र स्वतन्त्रबाट गौरबहादुर कटुवाल उम्मेदवार छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.