दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी
दैलेख : जिल्लाको नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। संविधान जारी भएपछि पहिलोपटक भएको स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसले जितेको यो गाउँपालिकामा अहिले माओवादी केन्द्र विजयी भएको हो।
गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका हुन्। उनी ३ हजार २ सय मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। अधिवक्तासमेत रहेको सुवेदी जिल्लामा शालीन नेताको रुपमा चरिपचित छन्।
गाउँपालिकाको अध्यक्षमा सुवेदीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले २५ सय ४४ मत प्राप्त गरेका छन्। बुढामगर निवर्तमान अध्यक्षसमेत हुन्। नेकपा एमालेका शशिराम विश्वकर्माले १९ सय २० मत ल्याए। यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। उनले २८ सय ३४ मत प्राप्त गरे। नेपाली कांग्रेसकी अमृता सिंहले २४ सय ५ र एमालेकी गीता चन्दले १९ सय १८ मत प्राप्त गरिन्। नौमुलेमा नेकपा माओवादी र एकीकृत समाजवादीको चुनावी गठबन्धन थियो।
८ वटा वडा रहेको नौमूले गाउँपालिकामा ५ वटा नेपाली कांग्रेस, दुई वटा वडा एकीकृत समाजवादी र एउटा मात्रै वडा नेकपा एमालेले जीतेको छ। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नौमूले गाउँपालिका–१ का वडाध्यक्षमा नेपाली कांग्रेसका रुपेश थापामगर, २ मा कांग्रेसका दुर्गप्रसाद शर्मा, ३ मा एमालेका नरबहादुर पुरी, ४ मा कांग्रेसका चन्द्रलाल बस्नेत, ५ मा एकीकृत समाजवादीका कृष्णबहादुर सलामी, ६ मा कांग्रेसका लालबहादुर चन्द, ७ मा कांग्रेसका टेकबहादुर सिजाली मगर र ८ मा एकीकृत समाजवादीका दिपकबहादुर हमाल विजयी भएका छन्।