अध्यात्मको रोबोटिक भविष्य

अध्यात्मको रोबोटिक भविष्य

विज्ञानको क्षेत्रमा २०औं शताब्दीमा भएका अनुसन्धान र अन्वेषणहरूका कारण २१औं शताब्दीको पूर्वाद्र्धका सुरुआती वर्षहरूमै अभूतपूर्व प्रगति देखा पर्न थाले। चालकविहीन गाडी, थ्रीडी प्रिन्टिङ, सामाजिक सञ्जाल, मंगल ग्रहमा पानी, रोबोट सञ्चालित शरीरका कृत्रिम अंगहरूको निर्माण आदिले यसतर्फ संकेत गरिसकेका छन्। यस्तै, एचआईभी भाइरस उपचारमा प्रगतिजस्ता नवीन उपलब्धिहरूले विज्ञान र प्रविधिले निकट भविष्यमा महत्त्वपूर्ण भूमिका खेल्दै जानेमा शंका छैन। यीमध्ये एकैछिन रोबोटिक्सको क्षेत्रमा हालैका वर्ष भएका वैज्ञानिक खोज र आविष्कारबारे चर्चा गर्न सकिन्छ।

प्रविधिभित्र पनि विगतका केही वर्षयता द्रुतगतिमा विकास भइरहेको क्षेत्र हो, रोबोटिक्स। मानवीय कल्पना शक्ति र बुद्धिमत्ताले भ्याएसम्मको रफ्तार रोबोटिक्सको क्षेत्रमा प्रगति हुँदै आएको छ। जसले रोबोटिक्सहरूमा सिक्ने क्षमता, भाषा सीप, समस्याहरूको समाधान गर्ने कला र तार्किक क्षमतालाई मानवीय अनुभवलाई अनौठो पाराले पछाडि पार्ने जानकार बताउँछन्। सोचौं त, एक दशक अघिमात्र कतिले अहिले अधिकांशको हात–हातमा देखिने स्मार्टफोन हाम्रो जीवनको अत्यावश्यक प्रविधि बन्ला भनेर सोचेको थियो ? आज त्यही यथार्थमा हामी छौं। जसरी स्मार्टफोनले विगत एक दशक प्रभावित पार्‍यो, त्यसरी नै ‘रोबोटिक्स प्रविधि’ले आगामी वर्षहरूमा बहुआमायिक किसिमले गहिरो प्रभाव पार्ने जानकार बताइरहेका छन्।

कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)मा आधारित रोबोटले व्यावसायिक कामलगायत हामीले गर्ने १० देखि ५० प्रतिशत कार्य गर्ने भविष्यवाणी रोबोटिक्स प्रविधिका वैज्ञानिकहरूको ठम्याइ छ। अहिलेकै गतिमा रोबोटिक्स प्रविधिको विकास हुँदै गएको अवस्था छ। केही वर्षमै ग्राहक सेवा, डाटा इन्ट्री, रिसेप्सनिस्ट, प्रुफ रिडिङ, कन्स्ट्रक्सन, फर्मासिस्ट, हुलाकी, चिकित्सक, ट्याक्सी चालक, ट्रक चालक, सेना र सुरक्षा गार्डदेखि आर्थिक विश्लेषकको कामसमेत रोबोट प्रविधिका माध्यमले हुने देख्छन् वैज्ञानिकहरू। रोबोटको असंख्य सकारात्मक पक्षहरूका बावजुद पनि वैज्ञानिकहरू एउटा महत्त्वपूर्ण समूह रोबोटको मानव जीवनमा प्रभावबारे भने धेरै आशावादी छैनन्।

सन् २०१६ मा स्विट्जरल्यान्डको डाभोसमा आयोजित भेलामा वैज्ञानिक र हतियार विज्ञहरूले द्रुतगतिमा निर्माण भइरहेको कृत्रिम बुद्धिमत्तायुक्त स्वचालित रोबोटहरूलाई रोक्न कदम चाल्नुपर्ने माग उठाए। बेला–बेलामा सम्भ्रान्त नवउदारवादीहरूको भड्किलो भेला भनेर आलोचना खेपिरहन्छ डाभोस। जसमा रोबोटिक्स प्रविधिको गलत प्रयोगले जन्माउने खतराका विषयमा बहस भएको थियो। त्यसभन्दा केहीअघि ‘रोबोटिक्सको गलत प्रयोग’का विषयमा प्रख्यात बेलायती वैज्ञानिक र खगोलशास्त्री स्टेफेन हकिङ र टेस्लाका संस्थापक र अमेरिकी उद्यमी इलोन मस्कले धारणामार्फत चेतावनी दिइसकेका थिए। संसारभरबाट भेला भएका धनाढ्य खरबपति, वैज्ञानिक र राजनीतिक नेताहरूको बैठकमा त्यस्ता हतियारको विकास रोक्न कडा नियमहरू बनाइनुपर्ने विज्ञहरूको धारणा थियो।

विकसित मुलुकहरूमा विज्ञान र प्रविधिको चरम विकाससँगै धर्मप्रति विश्वास घट्दै गइरहेको छ। धार्मिक संघ र धर्मगुरुले आफ्ना सन्देश र आस्थाहरू फैलाउन नवीन र रचनात्मक प्रयोगहरू गर्न थालेका छन्। विकसित देश जापानकै उदाहरण लिऔं। जापानको सांस्कृतिक र ऐतिहासिक केन्द्र भनेर चिनिने क्योटो सहर परम्परागत मन्दिरहरू, जेन बगैंचा, कलात्मक बजार, रेस्टुराँ र जापानिज उत्सवहरू अनुभव गर्न सकिने ठाउँभन्दा अत्युक्ति हुँदैन होला। यो सहरको आकर्षण देखेर कतिपयले त क्योटोलाई एसियाको सबैभन्दा उत्तम सहर भनेर वर्णन गरेका छन्। क्योटो सहरमा मात्रै युनेस्को विश्व सम्पदा सूचीकृत आकर्षण १७ वटा छन्। जसभित्र चाखलाग्दो अर्को आकर्षण हो, प्रख्यात ४ सय वर्ष पुरानो कोदाइजी बौद्ध मन्दिर। मन्दिरको ऐतिहासिक धरोहरको महत्त्व त छँदै थियो, यो धार्मिक स्थलको सन् २०१९ अर्को एउटा रोचक कारणले समाचार बन्यो। त्यो वर्षको कोदाइजी मन्दिरले आफ्नो परम्परागत शैलीलाई हल्का परिमार्जन गरेर आफूलाई आधुनिक रूप दियो।

आफ्नो प्रवचनका समय ‘मिन्दर’ मान्छे जस्तै आँखा चलाउँछिन्। हात र शरीर चलाउँछिन्। अनि प्रार्थनाका समय दुई हात जोड्छिन्।

बौद्ध धार्मिक परम्पराका अनुसार दीनदुखीहरूलाई कृपा गरी सहायता गर्ने देवी कान्ननलाई एन्ड्रोइड–प्रविधिमा ढालेर यो मन्दिरले विश्वमै पहिलोपटक सुत्र जप्ने रोबोट देवताका रूपमा अनावरण गर्‍यो। जापानका हजारौं मन्दिरमा संकट–मोचनकी देवीका रूपमा पूजा गरिने कान्नोनलाई रोबोटको रूप दिएर जापानले जापानिजहरूको रोबोटिक्सको मोह पनि संसारलाई सन्देश दियो। कान्नोन देवीको यो रोबोट अवतारलाई ‘माइन्डर’ नाम दिइएको छ। सार्वजनिक हुँदाका बखत माइन्डरले पृष्ठभूमिमा संगीत र भित्तामा अंग्रेजी र चिनियाँ भाषामा अनुवादसहित हृदय सुत्र र ‘मानवता’का विषयमा आफ्नो धारणा राखिन्।
अनावरणका दिन कोदाइजी मन्दिरका प्रशासक तेन्सो गोतोले परम्परासित टाढिँदै गइरहेका थिए जापानका युवा पुस्ता। उनैलाई बौद्ध धर्मको सन्देश फैलाउन रोबोट प्रविधिको सहायता लिनु परेको धारणा व्यक्त गरेका थिए। रोबोट प्रविधिको क्षेत्रमा सबैभन्दा प्रख्यात जापानिज वैज्ञानिक हिरोशी इसिगुरोको सहयोगमा निर्माण गरिएको ‘माइन्डर’को हाउभाउ जीवित मान्छेजस्तै तयार गरिएको छ। आफ्नो प्रवचनका समय मिन्दर मान्छे जस्तै आँखा चलाउँछिन्। हात र शरीर चलाउँछिन्। अनि प्रार्थनाका समय दुईहात जोड्छिन्। घट्दो प्रजनन् दर र पाका उमेरहरूको बढ्दो जनसंख्याका कारण धार्मिक आवद्धता र संलग्नतामा ह्रास आउँछन्। त्यही कारण बौद्ध धर्मलगायतका धार्मिक गुरुहरूले जापानका प्राचीन परम्पराहरू विलुप्त हुने खतराको चेतावनी दिँदै आएका छन्।

यस किसिमको जोखिम नियन्त्रण गर्न क्योटोको यो ४ सय वर्ष पुरानो बौद्ध मन्दिरले बुद्धको सन्देश जस्तो प्राचीन ज्ञानहरूलाई अत्याधुनिक प्रविधिमार्फत जनमानसमा पुर्‍याउने काम गरिरहेको छ। दोहोरो संवादका लागि आवश्यक पर्ने एल्गोरिथ्म (कम्प्युटरमा उपलब्ध तथ्यांकका आधारमा विश्लेषण गर्न सक्ने क्षमता) हाललाई ‘माइन्डर’मा जडित गरिएको छैन। तर, पनि ‘माइन्डर’जस्ता रोबोटका डिजाइनरहरूले भविष्यमा कृत्रिम बुद्धिमत्ताको सहारा लिए। यसले रोबोटजस्ता यन्त्रका माध्यमले धार्मिक सन्देश र प्रवचनहरू कसरी आमसमुदायमा पुर्‍याउन सकिन्छ ? वैज्ञानिकहरू यसमा केन्द्रित छन्। प्रतिनिधि पात्रका रूपमा क्योटोमा ‘माइन्डर’को उदय भइसकेको अवस्थामा छ। २१औं शताब्दीमा अब हजारौंं–लाखौंं माइन्डरहरूको अवतार साक्षात हुनेमा कुनै शंका छैन। के मानव–निर्मित यन्त्र र बुद्धको यो अप्राकृतिक र अनौठो मिश्रणले मानवताको भावी ‘आध्यात्मिक यात्रा’ गर्दैछ त ? सिद्धार्थ गौतमले बोधगयामा ज्ञान प्राप्त गरेपश्चात बुद्ध बने। उनको बुद्धत्वको २५०० सय वर्षपछि मानवताले कसरी र किन उनको शिक्षा लिन ‘माइन्डरहरू’को सहारा लिनुपर्‍यो।

क्योटोको कोदाइजी बौद्ध मन्दिरको कन्नोनदेवीले प्रविधिको विकाससँगै आफूलाई ‘अपडेट’ गर्दै जाने र प्रविधि परिस्कृत हुँदै लगेको छ। यसरी भावीपुस्ताको धर्म र अध्यात्मप्रति रुचि पनि बढ्दै जाने मन्दिरका अधिकारीहरूले ‘माइन्डर’ लामो यात्राको सुरुआत मात्र भएको विचार राखेका थिए। केही वर्षअघि भारतको पशुपतिनाथ मन्दिरमा जस्तै रोबोटले आरती गरेको पनि समाचारमा आएको थियो। आध्यात्मिक अनुभवको खोज र जीवनको अर्थ खोज्न निस्किएका नयाँ पुस्ताका जापानिजहरू प्रविधिक रूपमा ‘माइन्डर’सित जोडिए। भावनात्मक रूपमा रोबोटरूपी बुद्धसित कसरी जोडिन्छन् ? आध्यात्मिक अनुभव मान्छेको अनुभव हो र सबैको अनुभव एकनासको हुँदैन। जीवनको सुन्दरता पनि यही हो।

२५०० वर्षअघिको बुद्धको आध्यात्मिक अनुभवहरूलाई बहुसंख्यकले मार्गदर्शन मान्दा बुद्धको दर्शन ‘संगठित धर्म’मा बदलियो। मूर्ति र कर्मकाण्डी भयो। २००० वर्षअघि जिसस क्राइस्टको आध्यात्मिक अनुभव धर्म हुँदै बर्बरता र आफ्नो आधिपत्य र सर्वोच्चता कायम राख्न उपनिवेश र ‘क्रुसेड’हरूमा परिणत भयो। मूर्तिपूजालाई आशक्तिसित जोडेर हेरेका बुद्धको सन्देशलाई जापानले रोबोटको नयाँ अवतारमा पुनर्जीवित गरेका घटना छन्। जुन रोबोटिक्सको युगमा प्रवेश गरिरहेको मानवतालाई नयाँ सन्देश पनि हुन सक्ला। त्यो समयले बताउला।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.