दैलेखमा पहिलोपटक चुनिए माओवादी

दैलेखमा पहिलोपटक चुनिए माओवादी

सुर्खेत / दैलेख : दैलेखमा कुनै पनि निर्वाचन जित्नु नेकपा माओवादी केन्द्रका लागि ‘फलामको चिउरा’ चपाउनु सरह थियो। अर्थात् सशस्त्र संघर्षबाट संसदीय राजनीतिमा आएपछि माओवादी दैलेखी जनमतबाट अनुमोदन हुन सकेको थिएन। तर, यसपालिको निर्वाचनबाट पहिलोपटक माओवादीलाई स्थानीयले पत्याएका छन्। माओवादीले यसपालि बल्ल वडा र पालिकाको नेतृत्वसमेत हात पार्न सफल भएको हो।

माओवादी शान्ति प्रक्रियामा आएपछि यसअघि सम्पन्न दुईवटा संविधानसभाका निर्वाचनमा सहभागी भयो। तर, जिल्लामा जित हासिल गर्न सकेन। यस्तै यसअघि २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि माओवादी दैलेखमा शून्य नै हुन पुग्यो। त्यसबेला जिल्लामा एउटा पनि वडा र पालिका जित्न नसकेको माओवादीले यसपटक वडा र पालिकामा जित हासिल गरेको हो। दैलेखमा माओवादीले पहिलोपटक जनमतबाट प्रत्यक्ष चुनिएका जनप्रतिनिधि पाएको छ।

माओवादीले जिल्लाका ११ वटा स्थानीय तहमध्ये आइतबारसम्म एउटा स्थानीय तह र चारवटा वडामा जित हात पारिसकेको छ। मतगणना जारी रहेकाले अन्य स्थानमा पनि विजयी हुने सम्भावना कायमै छ। जिल्लाको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका छविराम सुवेदी विजयी भएका छन्। उनले ३ हजार २ सय मत ल्याउँदै कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गरेका हुन्। यद्यपि, उनलाई एकीकृत समाजवादीको साथ थियो। यस्तै माओवादीको तर्फबाटै जिल्लाको डुंगेश्वर गाउँपालिका–१ मा यामबहादुर राना, महाबु गाउँपालिका–६ मा रेशमबहादुर थापामगर, दुल्लु नगरपालिका–२ मा फारमसिंह थापा र वडा–३ मा कुलबहादुर कार्की वडाध्यक्षमा विजयी भइसकेका छन्। 

शान्ति प्रक्रियापछि २०६४ र २०७० मा सम्पन्न भएका दुवै संविधानसभा निर्वाचनमा दैलेखमा माओवादीका उम्मेदवारहरू पराजित भए। पाँच वर्षअघि सम्पन्न स्थानीय निर्वाचनमासमेत माओवादीलाई दैलेखीले पराजित गरिदिएका थिए। त्यसबेला जिल्लाका ९० वटा वडाहरूमध्ये एउटा वडाध्यक्ष पनि माओवादीले जित्न सकेको थिएन।  हरेक निर्वाचनमा जिल्लामा हार बेहोर्दै आएको माओवादीका लागि यसपटकको स्थानीय निर्वाचन भने फापेको छ। कर्णालीलाई आफ्नो आधारक्षेत्र मान्दै आएको माओवादी दैलेखमा भने जनमतबाट अनुमोदित हुन सकेको थिएन। 

जनयुद्धका क्रममा ज्यादती गरेको भन्दै दैलेखीले माओवादीविरुद्ध प्रतिकार अभियान नै चलाएका थिए। २०६१ मंसिरमा स्थानीय महिलाहरूको नेतृत्वमा दैलेखको दुल्लुमा सञ्चालन भएको प्रतिकार अभियानपछि यहाँको जनमत माओवादीविरोधी बनेको थियो। स्थानीयको प्रतिकारपछि माओवादीले जिल्लामा आफ्नो उपस्थिति बलियो बनाउन सकेको थिएन। 

यस्तै, जिल्लाका पत्रकार डेकेन्द्र थापाको हत्या भएपछि पनि स्थानीयहरू माओवादी विरोधी बने। जसले गर्दा माओवादी जिल्लामा निकै कमजोर बनेको थियो। माओवादी विरोधी जनमतका कारण माओवादीले जिल्लामा कुनै पनि निर्वाचनमा जित हात पार्न सकेको थिएन। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.