उदयपुुरको उदयपुरगढी गाउँपालिकामा नेपाल एकीकृत समाजवादीका मानबहादुर विजयी
उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिकामा गठबन्धनका उमेदवार विजयी भएका छन् । नेकपा एमालेका गोपाल खत्रीलाई पछि पार्दै गठबन्धन नेकपा एकीकृत समाजवादीबाट अध्यक्षका उमेदवार मानबहादुर केप्छाकी मगर दोस्रो कार्याकालका लागि विजयी भएका हुन् ।
खत्रीलाई ८२८ मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् । मगरले ४ हजार ९४२ मत ल्याए भने खत्रीले ४ हजार ११४ मत पाए । ०७४ मा मगरले नेकपा एमालेबाट अध्यक्ष जितेका थिए ।
त्यसैगरी, उपाध्यक्षमा गठबन्धन नेपाली कांग्रेसका जितबहादुर खड्का विजयी भएका छन् । खड्काले ४ हजार ६४८ मत पाउँदा एमालेका शोभाकुमारी आलेले ३ हजार ८६३ मत पाइन् । खड्का यसअघि हालका अध्यक्षसँगै पराजित भएका थिए ।
८ वडा रहेको उदयपुरगढी नेकपा एमालेकोतर्फबाट वडानं ८ थिरबहादुर राउत, वडानं २ मा स्वतन्त्र उमेदवार इन्द्रबहादुर राउत विजयी भए भने बाँकी सबैमा गठबन्धनका उमेदवार विजयी भए ।
वडानं १ मा नेकपा (एस)का दिलबहादुर राना, ३,४,७ मा नेकपा माओबादी केन्द्रका क्रमश मनोज कार्की, रामबहादुर घले, भुवन मगर विजयी भए । त्यसैगरी वडानं ५ मा नेपाली काँग्रेसका कुमार अधिकार र ६ मा कृष्णबहादुर खत्री विजयी भएको निर्वाचन अधिकृत धनबहादुर कार्कीले जानकारी दिए ।