कञ्चनपुरको दोधारा चाँदनीको मेयरमा एमालेका किशोर लिम्बू निर्वाचित
महेन्द्रनगर : महाकाली पारीको गाउँ भनेर चिनिने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गर्दै लिम्बू नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
उनले ७ हजार १०४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी भट्टले ६ हजार १७१ मत ल्याए ।
त्यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गंगादेवी जोशी विजयी भएका छन् । उनले ६ हजार ३६५ मत प्राप्त गरे ।
उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार खिमा चन्दले पाँच हजार ८२२ मत प्राप्त गरे ।
२६ हजार ८०३ मतदाता रहेको दोधारा चाँदनीमा यसअघि प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।
१० वडा रहेको दोधारा चाँदनीमा नेकपा एमालेले छ वडाध्यक्ष जितेको छ । नौ पालिका रहेको कञ्चनपुरमा नेकपा एमालेले दुई र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक/एक पालिकामा जित निकालेको छ ।