पुराना पुस्तक र नयाँ पुस्ता

पुराना पुस्तक र नयाँ पुस्ता

नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ। कोभिड–१९ कारणले यस पटक शैक्षिक सत्र एक महिना पछाडि धकेलियो। नयाँ शैक्षिक सत्रको सुरुवातसँगै पुस्तक पसल, स्टेसनरी, जुत्ता पसल, झोला पसलहरूमा शैक्षिक सामग्री किन्न चहलपहल बढेको छ। अघिल्लो वर्षको तुलनामा सबै शैक्षिक सामग्रीको मूल्य पनि अकासिएको छ। सरकारी र सामुदायिक विद्यालयका पाठ्यसामग्री लगभग एकै प्रकारका हुन्छन्। निजी विद्यालयका पाठ्यसामग्री भने फरक–फरक हुन्छन्। फरक पाठ्यसामग्रीका कारण अभिभावकहरूले सास्ती खेप्नुपर्छ।

हाम्रो पुस्ता र छोराछोरीको सोचाइमा धेरै परिवर्तन भइसकेको छ। विज्ञान प्रविधि र सञ्चार क्षेत्रले फड्को मारेसँगै हाम्रा छोराछोरी पुस्ताको सोचाइमा धेरै नै भिन्नता छ। अझ कोभिड– १९ को बेला सञ्चार र प्रविधिको क्षेत्रमा दोस्रो पुस्ताले प्रत्यक्ष अनुभव गर्न पायो। नयाँ–नयाँ सीप विकासदेखि आधुनिक प्रविधिसँग साक्षात्कार गर्ने सुअवसर पायो। हाम्रो पालामा अन्तिम परीक्षा (ठूलो जाँच) सकिनुभन्दा अगाडि नै अघिल्लो कक्षाका दाजुदिदीहरूसँग किताब सुरक्षित राखिदिन आग्रह गर्नुपथ्र्यो। एउटाले मात्र पढेको किताब पाइयो भने त ठूलो चिट्ठा परेजस्तो हुन्थ्यो। कहिलेकाहीँ त दुई, तीन ब्याच अगाडिदेखि नै पढिएको पुस्तक हात पथ्र्याे। अझ घरैमा आफूभन्दा अघि पास गर्ने दाजुदिदीको किताब पाए त त्योभन्दा अर्को खुसी हुन्नथ्यो।  समय बदलियो, हाम्रा छोराछोरीले पुरानो किताब पढ्ने त के, एउटै कक्षामा दुई पटकसम्म किताब किनिदिनुपर्ने हुन्छ। किताब च्यातचुत पारेर।

प्रख्यात अमेरिकी निबन्धकार, कवि तथा दार्शनिक थोरोकोे ‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन’ भन्ने युुक्ति संसारभर नै प्रख्यात छ। अहिले हाम्रा छोराछोरीहरूले न त पुरानो कोट नै लगाउँछन्, न त पुरानो किताबै नै पढ्छन्। बर्सेनि परिवर्तन हुने शैक्षिक सामग्री र विभिन्न लेखकका पुस्तक तथा प्रकाशन गृहका प्रकाशनले अभिभावकलाई अलमल गराउँछ। रोमन दार्शनिक मार्कस सिसेरोले पुस्तकबिनाको घर, आत्माबिनाको शरीर उस्तै हो भनेका थिए। सिसेरोले भने झै हामीभन्दा अघिल्लो र हाम्रा पुस्तालाई दराजभरि पुस्तकहरू राख्न मन लाग्थ्यो। कसैलाई जन्मदिनमा, विवाहमा वा कुनै प्रयोजनमा उपहार दिनु परेमा पनि पुस्तक उपहार दिने चलन थियो।  यात्रा गर्दा पनि साथमा पुस्तक लिएर हिँड्ने अनि समय पाउनासाथ पुस्तकहरू अध्ययन गर्न जागर चल्थ्यो। तर अहिलेका पुस्तालाई पुस्तकमा खासै चासो देखिएन। न त भएका पुस्तकहरू नै अध्ययन गर्न इच्छा देखियो। केही खोज्नुपर्‍यो भने इन्टरनेटमा सर्च गर्न सजिलो हुन थाल्यो, अबको पुस्तालाई।

शैक्षिक सत्र सुरु हुने बेलामा निजी विद्यालयहरूले सिफारिस गरेका पाठ्यसामग्री र अन्य कुरा जुटाउँदा आर्थिक रूपमा अभिभावकलाई धेरै नै भार पर्न जान्छ। त्यसरी नै कक्षाअनुसारका पोसाक र जुत्ताको कुरा अर्को पाटो भयो। यसरी हेर्दा व्यावसायिक रूपमा खुलेका निजी विद्यालयले विभिन्न बहानामा असुल्ने चर्को शुल्क र त्यसैअनुसारका अन्य कुराहरूले अभिभावकहरूलाई आर्थिक व्यवस्थापन गर्न मुस्किलै परेको यथार्थ सर्वविदितै छ। त्यसमा पनि निम्नदेखि उच्च मध्यम वर्गका परिवारका अभिभावकलाई यसले झनै पिरोलेको हुन्छ।

एउटा बच्चाले पढिसकेपछि ती पाठ्यसामग्री पुनः प्रयोग गर्न नपाउँदा बाध्य भएर पुराना कागज पत्रिका खोज्दै हिँड्नेलाई दिनु बाध्यता नै बनेको छ। सहरी जीवनशैलीमा स्थानाभावका कारण चाहेर पनि पुराना किताबकापी संग्रह गरेर राख्न व्यावहारिक रूपमा सम्भव देखिँदैन। राखेर पनि के गर्नु अर्को बच्चाले ती काम लाग्ने नै भए पनि पढ्न मान्दैनन्। सबै साथीहरूको नयाँ हुन्छन् मेरो मात्र पुरानो हँुदा साथीहरूले जिस्क्याउँछन् भनेर प्रयोग गर्न मान्दैनन् भने विद्यालयले नै पनि नयाँ नै किन्न जोड दिन्छ।एक शैक्षिक सत्र पढेका किताबहरूलाई विद्यालयले नै व्यवस्थापन गरेर त्यही विद्यालयभित्रै पुनः प्रयोग गर्न व्यवस्था मिलाएको खण्डमा केही मात्रामा भए पनि अभिभावकलाई आर्थिक भार कम हुने थियो। फरक विद्यालयमा फरक लेखक र फरक प्रकाशन गृहका पाठ्यसामग्रीहरू प्रयोग हुने हँुदा व्यवस्थापनमा कठिनाइ हुन जान्छ। विद्यार्थीलाई नै स्वयं परिचालन गरेर पनि यो काम सजिलै गर्न सकिएला कि ! निजी विद्यालयले चलाउने किताबहरू प्रायः विदेशी लेखक र प्रकाशन गृहका नै हुन्छन्। बर्सेनि ठूलो रकम बाहिरिएको अवस्थामा नेपाली लेखकले लेखिएका पाठ्यसामग्री चलाउनु उपयुक्त हुन्छ होला। अबका दिनमा नेपालीले नै विद्यालय तहका सम्पूर्ण सामग्रीहरू तयार पार्न नसक्ने भन्ने अवस्था त नहोला कि ! जिम्मेवार निकायहरूले यस विषयमा गम्भीर भएर सोच्न कतै ढिला त भएको छैन। नेपाली विद्वान लेखकहरूले लेखेका किताबहरू संसारका राम्रा किताबमा चिनिन थालेको अवस्थामा अझै कहिलेसम्म हामी विद्यालय स्तरदेखि नै विदेशी लेखक र प्रकाशन गृहका किताबमा भर पर्ने ?

वास्तवमा भन्नुपर्दा अहिलेको पुस्तालाई पुरानो किताब पढ्ने कुरा थाहै छैन।  तर गुरुबा, गुरुमाले त पक्कै पनि पुराना किताब पढेको अनुभव हुनुपर्छ। गुरुबा, गुरुमा र विद्यार्थीबीच त अनुभव र सीप आदानप्रदान हुनुपर्ने हैन र ? हाम्रा पालामा बहुसंख्यक विद्यार्थी सरकारी विद्यालय जाने हुँदा मेचीदेखि महाकालीसम्मको पाठ्यसामग्री एउटै हुन्थ्यो। पूर्वी नेपालको विद्यार्थीको मामाघर बर्दिया छ भने  ठूलो जाँच  सकेर मामाघर जाँदा ल्याएको पुरानो किताब दिल खोलेर पढ्न पाइन्थ्यो। आजकलका अधिकांश बच्चाहरूमा पाठ्यसामग्रीको प्रयोगमा लापरबाहीको कुरा गरी साध्य नै छैन। चाहिनेभन्दा दोब्बर सामग्री दुरुपयोग गर्छन् अचेलका प्रायः बच्चाहरू। विद्यालयमा र घरमा दिनहुँ यस्ता कुराहरू सिकाइरहँदा पनि उनीहरूलाई खासै वास्ता हुँदैन। कतै हाम्रो सिकाइमै कमजोरी त भएको छैन ? बच्चाहरूलाई घरको भन्दा विद्यालयको सिकाइ प्रभावकारी हुने हँुदा विद्यालयमा मितव्ययिताका र अधिकतम सदुपयोगका कुराहरूमा केन्द्रित भएर गराएको सिकाइले अभिभावक र बालबच्चा दुवै पक्षलाई फाइदा हुने देखिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.