सिरहा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
सिरहा : सिरहा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
एमालेका जिल्ला उपाध्यक्षसमेत रहेका डा.नवीनकुमार यादव मेयर र बबिताकुमारी साह उपमेयरमा निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले सार्वजनिक गरेको मत परिणामअनुसार मेयर डा.यादव दुई हजार दुई सय २३ मत अन्तरले विजयी भएका हुन् । उनले ११ हजार एक सय ४३ मत प्राप्त गरेका छन् ।
निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री उपेन्द्रकुमार यादवले आठ हजार सात सय २० मत पाएका छन् ।
जनता समाजवादी पार्टीका नगर अध्यक्ष एवं निवर्तमान मेयर अशेश्वरप्रसाद यादवले सात हजार सात सय ३४ र नेकपा एकीकृत समाजवादी पार्टीका रिताकुमारी यादवले पाँच हजार नौ सय तीन मत प्राप्त गरेका छन् ।
रिता यादव मधेस प्रदेशका मन्त्री प्रमोद यादवको पत्नी हुन् । सुरु मन्त्री यादव आफै राजनीमा दिएर मेयरमा चुनाव लड्न आएको थियो । उनी पछि हटेर पत्नीलाई मेयरमा उठाएको थियो ।
मेयरमा निर्वाचित डा. यादव स्थानीय तह निर्वाचन २०७४ मा जसपा नेपालका अशेश्वरप्रसाद यादवसँग एक सय ७१ मत अन्तरले पराजित भएका थिए । यस्तै उपमेयरमा निर्वाचित साहले १० हजार एक सय २६ मत प्राप्त गरेका छन् । उनी एक हजार पाँच सय ३७ मतअन्तरले विजयी भएकी छिन् ।
निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरिताकुमारी यादवले आठ हजार पाँच ८९, जनता समाजवादी पार्टी नेपालकी शशि ऋषि मित्रा माझी मुसहरले सात हजार आठ सय ५५ र नेकपा एकीकृत समाजवादी पार्टीकी रवीन्द्रकुमार साहले ६ हजार सात सय ४२ मत प्राप्त गरेका छन् ।
मेयरमा निर्वाचित डा. यादव ०७० मा दोस्रो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट सिराहा क्षेत्र नम्बर ३ बाट संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका थिए । ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा एक सय ७१ मत अन्तरले पराजित भए पनि एमालेकी डा। नमिता यादव उपमेयरमा निर्वाचित भएकी थिइन् ।
यो नगरपालिकामा २२ वटा वडा मध्ये ३, ८, १०, १२, १३, १४, १६ गरी ७ वटामा एमाले, १, ९, १५, ११ गरी ४ वटामा जसपा, २, १७, १८, २० गरी ४ वटामा कांग्रेस, ४, ५, ६, ७, २२ गरी ५ वटामा एकिकृत समाजवादी, वडा १९ मा माओवादी केन्द्र र वडा २१ मा स्वतन्त्र उम्मेदवार वडाअध्यक्षमा विजयी भएका छन् ।