हिमाल र मानबहादुर च्याम्पियन
जोमसोम : मुस्ताङमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय हाइअल्टिच्युड ट्री एडभेन्चर प्रतियोगिताअन्तर्गत साइक्लिङ, रनिङ र क्लाइमिङमा त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा र मानबहादुर थापामगर च्याम्पियन बनेका छन्। महिला ट्री एडभेन्चरतर्फ हिमालयन गल्फका भूमी बुढामगर र इन्द्रकला नेम्वाङले पहिलो स्थान हात पारे।
शनिबार मुस्ताङको जोमसोममा सम्पन्न ट्री एडभेन्चर प्रतियोगितामा आर्मीकाका हिमाल र मानबहादुरले एक घण्टा १५ मिनेट ०२ सेकेन्डमा निर्धारित दूरी पार गरे। यस्तै महिलातर्फ भूमी र इन्द्रकलाले एक घण्टा ४३ सेकेन्ड २३ मिनेटमा निर्धारित दूरी पार गरे।
पुरुषतर्फ त्रिभुवन आर्मीकै बसन्त थापा र नवराज न्यौपानेले एक घण्टा १७ मिनेट १६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो स्थान हात पारे। पुरुषतर्फ सी ग्रुपका कमल ओली र प्रेमसिंह बस्याल एक घण्टा २१ मिनेट ३० सेकेन्डका साथ तेस्रो भए।
महिलातर्फ आर्मीका उषा खनाल र मञ्जुकुमारी खड्का एक घण्टा ४३ मिनेट २३ सेकेन्डका साथ दोस्रो र आर्मीकै केशरी थापामगर र सुधा राई दुई घण्टा १८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भए।
प्रतियोगिताका विजेताले तीन हजार अमेरिकी डलर पुरस्कार पाए। दोस्रोले दुई हजार र तेस्रो स्थान हात पार्ने खेलाडीले एक हजार डलर पुरस्कार पाए। विजेतालाई नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्मालेलगायतले पुरस्कार प्रदान गरे।
सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको समन्वयमा भएको प्रतियोगितामा नेपालसहित भारत, बेलायत र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा बेलायतका चार, भारतका दुई, बंगलादेशका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा एक सय मिटर क्लाइमिङ, ४.७५ किमी रनिङ र १५.३५ किमी साइक्लिङ गरी २०.१० किमी दूरीमा तीन इभेन्ट समावेश गरिएको थियो।