त्रियुगा १२ मा मतगणना सुचारु गर्न माग गर्दै एमाले र कांग्रेस धर्नामा
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका १२ को मतगणना कार्य सुरु गर्न मुख्यनिर्वाचन अधिकृतमाथि दवाव बढेको छ। समय लम्बिंदै जाँदा परिस्थिति झन असहज हुने भन्दै प्रमुख पार्टी नेकपा एमाले र नेपाली कांग्रेसले दवाव बढाएका हुन्।
प्रमुख दलको उक्त मागमा नेकपा माओबादी केन्द्रको एक समुह, अन्य साना दल र स्वतन्त्र समुहले समर्थन गरेका छन्। दलहरुले दैनिकजसो मुख्यनिर्वाचन अधिकृतको कार्यालय घेराउ गर्दै नाराजुलुस प्रर्दशन गरेका छन्।
उनीहरुले मतगणना कार्य रोक्नु कुनै कारण नै नभएकाले यथाशीघ्र सुरु गर्न माग गरेका छन्। घेराउ कार्यक्रममा एमाले अध्यक्ष परमेश्वर घिमिरेले लहडको भरमा पुनःमतदानको प्रकृया अघि सारे दुर्घटना हुन सक्ने चेतावनी दिए। उनले भने, ‘मतदान प्रकृया चलिरहेको बेला आफैं असहज परिस्थिति सृजना गर्ने अनी धाँधली गर्न पुनः मतदान गर्नु पर्ने कसै–कसैको भनाइबाट प्रभावित नभइ झरेको मतलाई गणना गर्नु पर्छ।'
घिमिरेले भने, ‘निर्वाचन आयोग र मुख्यनिर्वाचन अधिकृतलाई निर्णय गर्न कसले बाधा पुर्यायो, कसैको दवाव र प्रलोभनमा नपर्नुस संम्भावित खतराबाट जोगिन गणना नै उपयुक्त विधि हो।' मतगणना कार्य बढाउनु पर्ने एमाले र कांग्रेस दुबै पार्टीको वटमलाइन छ।
कांग्रेसका जिल्ला सभापति हिमाल कार्कीले मतगणना कार्य सुचारु गर्न माग गरे। उनले मतगणना कार्य तत्काल सूचारु नगरिए नेपाली कांग्रेस उदयपुर आन्दोलनमा जान बाध्य हुने र आन्दोलनबाट हुने क्षतिको जिम्मा लिन नसक्ने चेतावानी दिए। ‘मतगणना गर्ने भन्ने विषयमा यतिका दिनसम्म कुनै निर्णय हुन नसक्नुले विभिन्न आशंकासमेत पैदा गरेको र लामो समयसम्म अनिर्णित अवस्था रहनु दुर्भाग्यपूर्ण रहेको कार्कीले बताए। यता नेकपा माओबादी, नेकपा एस लगायतका केही साना दलले भने निर्वाचन गर्नु पर्नेमा जोड दिँदै आएका छन्।
दसदिन बित्न लाग्दासमेत विवाद किनारा लाग्न सकेको छैन। सहमतिको प्रयासका लागि मुख्यनिर्वाचन अधिकृतले सर्वदलीय बैठक बोलाए पनि दलहरुले आफ्नो बटमलाइन नछोड्दा निष्कर्षमा पुग्न सकेको छैन। देशभर मतगणनाको परिणाम आइसक्दासमेत हालसम्म प्रकृया सुचारु गर्न नसक्नु आयोगको लापरवाही भएको स्थानीयको भनाइ छ।