उदयपुरमा वडाध्यक्षमा धमाधम स्वतन्त्र उमेदवारले बाजी मार्दै
उदयपुर : उदयपुरमा वडाध्यक्ष पदमा धमाधम स्वतन्त्र उमेदवारहरु विजयी हुन थालेका छन्। दलहरुका आधिकारिक उमेदवारलाई पछि पार्दै स्वतन्त्र उमेदवाहरु विजयी भएका हुन्।
पछिल्लो मतपरिणाम अनुसार कटारी नगरपालिका वडा नं. ४ मा स्वतन्त्र उमेदवार भुपेन्द्रसिंह तामाङ्ग विजयी भएका छन्। तामाङ्गले ६६८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार चिनबीर दनुवारले ६६५ मत प्राप्त गरे। ३ मतान्तरले तामाङ विजयी भएका हुन्।
योसँगै जिल्लामा स्वतन्त्रबाट विजयी हुनेको संख्या चार पुगेको छ। त्यसमध्ये कटारी नगरपालिकामा २ र अन्य पालिकामा दुई जना रहेका छन्। कटारी नगरपालिकाका निर्वाचन अधिकृत राजकुमार राउतका अनुसार कटारीको वडा नं. ८ मा मुढाछापका स्वतन्त्र उमेदवार नविन्द्रकुमार तामाङ्ग विजयी भए। तामाङ्गले यसअघि २०७४ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका कमल श्रेष्ठलाई पराजित गरेका हुन्।
त्यसैगरी जिल्लाको लिम्चुङ्गबुङ्ग गाउँपालिका वडा नं. ३ मा जेव्रा चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका गुरुमणि कुमाई र उदयपुरगढी गाउँपालिकाको वडा नं. २ मा धारा चिन्ह लिएर उमेदवार बनेका इन्द्रबहादुर राउत विजयी भएका छन्।
१४ वडा रहेको कटारीमा हालसम्म ११ वटा वडाको नतिजा आइसकेको छ। बाँकीको गणना कार्य भइरहेको निर्वाचन अधिकृत राउतले बताए। ८ मध्ये हालसम्म एमालेले एक्लै ६, रुख १, माओवादी केन्द्र १, नेकपा एस १ र स्वतन्त्रले वडा नं. ४ र ८ जित निकालेका हुन्।
एमालेले वडा नं. ५,६,१०,११,१३,१४ मा क्रमश : मोहन तामाङ्ग, प्रेमबहादुर आलेमगर, क्षेत्रबहादुर खड्का, अनन्त हायु, शम्भु श्रेष्ठ, अमर मगर, नेपाली कांग्रेसका सुविन ढुंगानाले वडा नं. ७ मा, माओवादीका यम्बरबहादुर कटुवालले वडा नं. १२ मा, नेकपा एसबाट ९ नं. वडामा वेगबहादुर आले र वडा नं. ८ मा स्वतन्त्र नविन्द्रकुमार तामाङ्ग विजयी भइसकेका छन्।