तारा एयरको जहाज धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा बेपत्ता भएको आशंका
जोमसोम : पोखराबाट बिहान ९:५५ बजे उडेको तारा एयरको १९७ नम्बरको ९ एनएईटी रजिस्ट्रेसन भएको बेपत्ता ट्वीनअटर जहाजको खोजी कार्य भइरहेको मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिए ।
पोखराबाट उडेको जहाज बिहान १० बजेर १२ मिनेटमा जोमसोम नागरिक उड्यन कार्यालयको टावरसँग सम्पर्क भएपनि उक्त जहाज त्यसपछि सम्पर्कबिहीन भएको प्रजिअ शर्माले बताए ।
तारा एयरको जहाजलमा १३ नेपाली,४ भारतीय र दुई जर्मन नागरिकसहित चालक दलका ३ सदस्य रहेको जोमसोम नागरिक उड्यन कार्यालले बताएको छ ।
तारा जहाज आउनुअघि सुमित एयरको जहाजले पहिलो उडान पूरा गरी दोस्रो उडान भर्दै जोमसोम आइपुगेको थियो । पोखराबाट तारा एयरले पहिलो उडान भर्दै मुस्ताङ आउने क्रममा अचानक म्याग्दी र मुस्ताङको सीमाक्षेत्रमा मौसम प्रतिकुल हुँदा जहाज अनियन्त्रित दिशाामा उडेको अनुमान गरिएको छ ।
प्रजिअ शर्माका अनुसार सम्पर्कबिहीन भएको जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोममा अवतरण गर्नुपर्ने थियो । अवतरण अवधि सकिएर १५ मिनेटपछि मुस्ताङ प्रशासनलाई यसबारे अपडेट भएको उनको भनाइ छ ।
दुर्घटनाक्षेत्र अनुमान गरिएको स्थानका स्थानीयले बताएर अनुसार कालिगण्डकी नदीको बीच भाग हुँदै उड्नुपर्ने जहाज दिशाहिन अवस्थामा उडेकाले थासाङको नाउरिकोटमाथि धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा दुर्घटना भएको अनुमान गरिएको छ ।
पोखराबाट मुस्ताङ आउँदै गर्दा मुस्ताङकै आकाशमा हराइरहेको जहाजको खोजीकार्य तीब्र भइरहेको प्रजिअ शर्माले बताए ।
प्रजिअ शर्माका अनुसार मौसम प्रतिकुलताका कारण दुर्घटना अनुमान गरिएको क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेकाले खोजी कार्य प्रभावित भएको छ । बिहान १२ बजे फिस्टेल एयरको हेली थासाङक्षेत्रमा गएपनि मौसमका कारण जोमसोममै फिर्कएको थियो ।
अहिले पुन दोस्रो पटक फिस्टेलको हेली दुर्घटना अनुमान गरिएकोक्षेत्रमा प्रस्थान गरेको जनाइएको छ ।
जहाज खोजीका लागि सूचना संकलन र माइकिङ गर्ने काम भइरहेको मुस्ताङ प्रशासनले जानकारी दिएको छ । प्रशासनका अनुसार जहाज खोजीका लागि नेपाली सेना,सशस्त्र प्रहरी , प्रहरी र सो क्षेत्रका स्थानीयलाई परिचालन गरिएको छ ।
जहाज खोज्नका लागि सुरक्षाका सबै युनिटलाई निर्देशान दिएको प्रजिअ शर्माले जानकारी दिए ।