त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
उदयपुर : उदयपुरको सदरमुकामस्थित त्रियुगा नगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् ।
सोमबार सम्पन्न मतणनामा कांग्रेसका मेयर पदका उमेदवार बसन्त बस्नेतले प्रतिष्पर्धी एमालेका उमेदवार भागवत राउतलाई २ हजार ८६ मतले पछि पारे ।
बस्नेतले १३ हजार ९५९ र राउतले ११ हजार ८७३ मत प्राप्त गरे ।
त्यसैगरी, नेकपा माओवादी केन्द्र र नेकपा एस पार्टीबीचको गठबन्धनबाट प्रतिष्पर्धामा उत्रिएका निवर्तमान मेयर तथा नेकपा एसका पोलिटव्युरो सदस्य बलदेव चौधरी तेस्रो भए । विजेता बस्नेतसँग चौधरी ४८१२ मतले पछि परे । एमाले उमेदवार राउतसँग २ हजार ७२६ मतले पछि परे । चौधरीले ९ हजार १४७ मत प्राप्त गरे ।
त्यसैगरी, उपमेयमार एमालेका महेश्वरी राईले निकटतम् प्रतिष्पर्धी कांग्रेसका उमेदवार सरिता राईलाई १ हजार ७२२ मतले पछि पारे । महेश्वरीले १३ हजार ७०३ र सरिताले ११ हजार ९८१ मत प्राप्त गरे । गठबन्धन माओवादी केन्द्रका उमेदवार गिता खड्काले ६ हजार ५६८ मत प्राप्त गरिन् ।
१६ वटा वडा रहेको त्रियुगामा कांग्रेसले ९ वटा वडाध्यक्ष, एमालेले ४ र गठबन्धन माओवादी केन्द्रले ३ वटा वडामा जित निकालेका छन् । कांग्रेसबाट वडानं १,३,४,५,८,९,११,१२ र १३ मा क्रमश मनोजकुमार चौधरी, तिलक कटुवाल, बद्री बस्नेत, उद्धबकुमार थापा, राजकुमार राउत, राजकुमार चौधरी, सुमन्त कोईराला, चुडाराज काफ्ले र नविनकुमार चौधरी विजयी भएका छन् ।
त्यसैगरी, एमालेबाट वडान. २,६,७,१० मा क्रमश घमानसिंह खत्री, योगेन्द्रबहादुर दाहाल, अमरबहादुर दनुवार र किरण पाण्डे विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट वडानं १४,१५ र १६ मा क्रमश हिमराज मगर, गणेशप्रसाद तिमल्सिना र मानबहादुर राई विजयी भएका छन् ।
त्रियुगामा गठबन्धनबाट निवार्चित भएका वडाध्यक्ष सबै माओवादी केन्द्रका हुन् । नेकपा एससँग गठबन्धन भएपनि कुनै पनि वडाध्यक्षहरु एसले जितेन । वडाध्यक्षहरु मध्ये वडानं १ चौधरी, २ खत्री, ५ थापा र १६ मा दोहोरिएका हुन् । उनीहरु सबै २०७४ का निर्वाचित वडाध्यक्ष हुन् ।
यसअघि कांग्रेसले उपसहित ८ वडामा, एमालेले मेयरसहित ६ वडा र माओवादी केन्द्रले २ वडामा जित निकालेको थियो । मेयर बलदेव चौधरीले नेकपा एस पार्टी रोजेपछि पछिल्लो समय एमाले वडामा मात्र सिमित भएको थियो ।
जितसँगै नेपाली कांग्रेसले त्रियुगामा बहुमत प्राप्त गरेको छ । ८२ जना जनप्रतिनिधि रहने त्रियुगामा कांग्रेसले सबै पदमा गरी ४२ सिट जित निकालेको छ ।
यससँगै कांग्रेसले कार्यपालिकामा बहुमत प्राप्त गरेको छ ।
आठ स्थानीय तह रहेको उदयपुरमा नेपाली कांग्रेसले ३ वटा नगरपालिका, नेकपा माओवादी केन्द्रले ३ वटा गाउँपालिका, नेकपा एमालेले १ नगरपालिका र नेकपा एसले १ गाउँपालिकामा विजयी भएका छन् ।
कांग्रेसले मेयर पदमा बेलका नपामा अशोक कार्की, त्रियुगामा बसन्त बस्नेत, कटारी नपामा राजेशचन्द्र श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा रौतामाईमा भुपेन्द्र थापा, ताप्लिमा धनमाया मगर, उदयपुरगढीमा जितबहादुर खड्का र लिम्चुङ्गबुङ्गमा पुष्पकुमार राई विजयी भएका छन् । कांग्रेसले नगरपालिकाका कुनै पनि उपमेयरमा जित निकाल्न सकेन ।
माओवादीबाट गाउँपालिका अध्यक्षमा रौतामाईमा बिरेन्द्रकुमार मगर, ताप्लिमा ढुंगराज विक र लिम्चुङ्गबुङ्गमा मेजरकुमार राई विजयी भएका छन् । कटारी र बेलका नपामा काँग्रेससँग गठबन्धन गरेको माओवादीले कुनै पनि नगरपालिकामा उपमेयरमा जित निकाल्न सकेन ।
त्यसैगरी, एमालेबाट चौदण्डिगढी नगरपालिकामा मेयर कालुमान लामा, उपमेयरमा मणिकादेवी दुलाल, त्रियुगामा महेश्वरी राई, कटारीमा गिता खड्का विजयी भए । नेकपा एसबाट उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा मानबहादुर मगर विजयी भए । गठबन्धनकै कारण यसपटक उदयपुरगढीका अध्यक्ष मगर र लिम्चुङ्गबुङ्ग गापाका अध्यक्ष राई दोहोरिए ।