अध्यक्ष र उपाध्यक्ष गुमाएको रौतामाईको कार्यपालिकामा एमालेको बहुमत
उदयपुर : उदयपुरको रौतामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद गुमाएको नेकपा एमालेले कार्यपालिकामा बहुमत पुर्याएको छ। मंगलबार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा मनोनयन दर्ता गराएका एमालेका सबै सदस्य निर्वाचित भएका हुन्।
निर्वाचित महिला सदस्य भित्रबाट ४ र बाहिर सिमान्तकृत, अल्पसंख्यक समुदायबाट २ जना गरी ६ जना थप हुने कार्यपालिकामा सबै जना एमालेबाट निर्वाचित भएका हुन्। निर्वाचित हुनेहरुमा महिलातर्फ गौरीमाया मगर, ज्ञानकुमारी मगर, देविमाया दहाल, वर्तहिरा राई, दलितबाट दुर्गबहादुर सार्की र अल्पसंख्यकतर्फ बसन्तकुमार चाम्लिङ्ग राई रहेको निर्वाचन अधिकृत सुवास भट्टराईले जानकारी दिए। गठबन्धन उमेदवारलाई पछि पार्दै एमाले उमेदवार विजयी भएका हुन्।
योसँगै रौतामाईमा १६ जनाको कार्यपालिका बोर्ड गठन भएको छ। त्यसमध्ये एमालेका ११ जना, नेपाली काँग्रेसका उपाध्यक्षसहित ३ जना र नेकपा माओबादी केन्द्रबाट अध्यक्षसहित २ जना रहेकाछन्। पालिका अध्यक्ष र उपाध्यक्ष नजिते पनि निर्णायक भूमिकामा भने एमाले नै देखिएको छ।
सर्वसहमत नभएका प्रस्तावमाथि छलफलगर्दा बहुमत र अल्पमतको अंकगणितिय खेलमा एमालेको धारणा नै अन्तिम हुने देखिएको छ। ८ वटा वडा र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी ४२ जना निर्वाचित जनप्रतिनिधि रहेको रौतामाईमा एमालेले एक्लैले २३ जना र बाँकी गठबन्धनबाट विजयी भएका हुन्।
एमालेले वडानं १,२,३,५,७ गरी ५ वडा, काँग्रेसले पालिका उपाध्यक्षसहित वडा नं ४ र ८, माओबादीले पालिका अध्यक्षसहित वडा नं ६ मा वडाध्यक्ष जीत निकालेको हो। पालिका अध्यक्षदेखि वडा तहसम्म गठबन्धन गरेका माओबादी र कांग्रेसलाई एमालेले सहजैपछि पार्दै जीत निकालेको हो।
गठबन्धनकै कारण एमालेले वडाको संख्या बढाउन नसकेको एमालेका रौतामाई गाउँपालिका कमिटी अध्यक्ष केशव राईले बताए। उनले भने, ‘२०७४ को निर्वाचनमा पनि हामीले ५ सिट नै जितेका हौं, त्यसमा वडा नं ६ र ८ बाट दुई जना सदस्य थप गर्न सफल भयौं।' विजयी वडा फेरवदल भएप नि संख्यात्मक हिसावले एमाले पुरानै अवस्थामा रहेको उनले बताए।
यता गठबन्धन गरेर मैदानमा होमिएको माओवादीले भने अघिल्लो दुई सिटलाई खुम्च्याएर एकमा सिमित भएको हो। काँग्रेसले भने अघिल्लो आकारमा एक वडा थप गरेको छ। अघिल्लो पटक एमालेका उमेदवार गजेन्द्रबहादुर खड्कासँग पराजित भएका हालका अध्यक्ष बिरेन्द्रकुमार मगर यसपटक भने गठबन्धन गरेर भएपनि बाजी मार्न सफल भए। अघिल्लो निर्वाचनमा नै अध्यक्षमा तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उमेदवार भुपेन्द्र थापा भने यसपटक गठबन्धनबाट उपाध्यक्षमा जीत निकाल्न सफल भए।