‘फोहोर’ सभ्य समाजको लाज

‘फोहोर’ सभ्य समाजको लाज

स्थानीय निर्वाचन २०७९ का परिणाम आइसकेको छ। जनप्रतिनिधिले काम सुरु गरिसकेका छन्। पाँच वर्षमा राम्रो काम गर्नेहरू दोहोरिए भने चित्तबुझ्दो लोकरिझ्याइ काम नगरेकाले पुनः निर्वाचित हुन सकेनन्। काठमाडौंलगायतका पालिकामा प्रमुख तथा अध्यक्ष र सयौं जनप्रतिनिधि स्वतन्त्रकै रूपमा निर्वाचित भए। काठमाडौंका मेयर बालेन साह सिसडोल, बञ्चरेडाँडालगायत फोहोर व्यवस्थापन र डम्पिङ साइटको अवलोकण भ्रमण गरिसकेका छन्। देशको पुनर्संरचनापछि ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका गरी २ सय ९३ सहर घोषणा भएका र करिब ६५ प्रतिशत जनता सहरमा बसोबास गर्न थालेका छन्। देशमा एक होइन, बिनापूर्वाधार र योजना आठवटा राजधानी बनेका छन्।

फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो। आधुनिक युगको सहरीकरण, औद्योगीकरण तथा नव जीवनशैलीको पाश्र्वप्रभावकै रूपमा फोहोर व्यवस्थापन ज्वलन्त चुनौती बन्दैछ। नेपालमा जनसंख्या वृद्धिसँगै भवन निर्माण, सवारीसाधन र उपभोग्य वस्तुको तीव्र विस्तारले  वातावरणीय तथा पर्यावरणीय सन्तुलन खल्बलिएको छ। खानेपानीको अभाव छ, ढल निकासको व्यवस्था छैन। अव्यवस्थित सहरीकरणले राजधानी मात्र होइन ठूला मध्यम मात्र होइन साना सहरहरू पनि अत्यन्तै कुरूप तथा फोहोर बनाएको छ। बढ्दो सहरीकरण र जनसंख्यासँगै फोहोर व्यवस्थापनको काम चुनौतीपूर्ण बन्दै गइरहेका बेला फोहोर व्यवस्थापनका लागि तथाकथित अत्याधुनिक फोहोर प्रशोधन केन्द्र अझै सार्थक भएका छैनन्, सपनामै छन्।

एडीबीले करिब एक दशकपहिले गरेको नेपालको अध्ययनमा प्रतिव्यक्ति दैनिक औसत फोहोर उत्पादन ३ सय १७ ग्राम छ। जसअनुसार स्वास्थ्यजन्य तथा औद्योगिक फोहोरबाहेक वार्षिक नगरजन्य फोहोर २ करोड १८ लाख बढी मेट्रिक टन उत्पादन हुन्छ। उत्पादित फोहोरमा २० देखि २५ प्रतिशत पुनर्प्रयोग भएको देखिन्छ भने अन्य अव्यवस्थित रूपमा विसर्जन हुने गरेको छ। ५० प्रतिशतभन्दा बढी फोहोर कुहिने खालका हुन्। मात्रा र प्रकारमा धेरै फरक आइसकेको छ। तुरुन्तै व्यवस्थापन नगरे एकातिर दुर्गन्ध आउने, रोगव्याधिको खतरा हुन्छ। अर्काेतिर जैविक मल, कम्पोस्ट मल, बायोग्यास बनाउन सकिँदैन। नकुहिने फोहोरमध्ये ३० देखि ४० प्रतिशतलाई पुनर्चक्रण र पुनप्र्रयोग गर्न सकिन्छ। यी गर्न नसकिने १० देखि २० प्रतिशत नक¬हिने फोहोरलाई ल्यान्डफिलमा लान र वातावरणीय स¬रक्षाका साथ विसर्जन गर्न सकिन्छ।

स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमा १० देखि १५ प्रतिशत संक्रामक र ७० देखि ९० प्रतिशत हानिकारक हुन्छन्। नियमले हानिकारक फोहोरलाई संक्रमणमुक्त बनाएर व्यवस्थापन गर्नुपर्नेमा सामान्य फोहोरमा सिधै मिसाई सफा नदी किनारमा थुपारिन्छ। यसरी थुपार्दा वातावरण, समाज र नदी पनि संक्रमित र दुर्गन्धित भएका छन्। अस्पतालको फोहोर कुल फोहोरको एक प्रतिशत जति भएता पनि निकै संक्रामक र खतरनाक हुन्छ। चिकित्साजन्य फोहोरमैलामध्ये ७५ देखि ८५ प्रतिशत अन्य घरेलुजन्य फोहोरमैला जस्तै हुने भए पनि बा“की अत्यन्तै हानिकारक हुन्छन्। अत्यन्तै हानिकारक फोहोरमैला सुरक्षित तवरले व्यवस्थापन नगर्ने हो भने वा घरेलु फोहोरसँगै मिसिन गएमा सहरी वातावरण एवं जनस्वास्थ्य, जीवजन्तुमा हानि पुग्छ र ठूलो प्रकोप फैलिन सक्छ। विश्व स्वास्थ्य संगठनले सन् २००२ मा मेडिकल वेष्ट भनेर प्रयोग भएका सामग्रीहरू, रोगको निदान, उपचार, खोप, अनुसन्धान, जैविक कीटाणु उत्पादन गर्ने प्रयोगशाला तथा प्रयोगशालाबाट फ्याँकिने बिरामीको दिसा, खकार, पिसाब, रगत, बिर्य, तन्तु, सुईं तथा ब्लेडलाई लिएको छ।

मेडिकल वेस्ट अत्यन्तै संक्रामक र शिघ्र फैलिने हुन्छ, वातावरणीय स्वास्थ्यका लागि ठूलो चुनौती उत्पन्न गर्न सक्छ। तसर्थ हरेक क्लिनिक र अस्पताललाई फोहोर संक्रमणमुक्त बनाएर मात्र बाहिर निकाल्न बाध्यकारी बनाएको छ। निजी क्लिनिक तथा अस्पताल सञ्चालन तथा स्तरवृद्धि मापदण्डले तर व्यवहारमा अन्य नियम कानुनझै कागजमै सीमित छ। सबै महानगर, उपमहानगर तथा नगरउन्मुख सहरहरूमा न त व्यवस्थित बसोबास छ न त योजनाबद्ध पूर्वाधार निर्माण नै। नेपालका हरेक नगर क्षेत्रमा  मानवीय संकट बढ्दो छ। सार्वजनिक स्थान र सडकपेटीमै भान्साको फोहोर, शौचालयको फोहोर, वीर्ययुक्त कण्डम, महिनावारीमा प्रयोग भएका प्याड, पोलिथिन, प्लास्टिकजन्य कागज छन्। यस्तै, सामान, म्याद गुज्रेका औषधि, खाद्यपदार्थ, कीटनाशकहरू, होटलका बासी खाना, चुरोटका ठुटा, मदिराका बोतल, सवारीसाधनजन्य फोहोर, कवाडी, पशुपतिका मल तथा मृत जनावर नै देखिन्छन्।

गर्मी तथा वर्षायाममा त झन् फोहोरमा झिंगा र थुप्रोबाट पानी, रस बगिरहेका हुन्छन्। फोहोरको डंगुरबाट झिंगा, लामखुट्टे, मुसा, चरा तथा गाडीका पाङ्ग्रा, जुत्ता चप्पलबाट वरिपरि तथा घरभित्र संक्रमण पुग्छ। रसाएको फोहोर पानी तथा अन्य जीवजन्तुबाट पानीका स्रोतहरू पनि संक्रमित हुन्छन्। जसबाट कीटजन्य, पानीजन्यलगायतका संक्रमणहरूले महामारीको रूप लिन सक्छन्। दूषित पानीका कारण जन्डिस, हैजा, झाडापखाला, आऊ, हेपाटाइटिस, टायफाइड र छालाजन्य तथा एलर्जिक समस्याहरू र मौसमी रोगहरू जस्तै शीतलहर र विभिन्न फ्लुको प्रकोप भइरहेको छ। यथेष्ट शारीरिक व्यायामको अभावमा मोटोपनाको समस्या, मुटुरोग, मधुमेह, उच्च रक्तचाप, हृदयाघातजस्ता दीर्घरोगहरू बढ्दो छन्। एचआईभी, औलो, क्षयरोगको संक्रमणको जोखिम बढ्दो छ। वायु प्रदूषण, मानसिक तनाव, धूमपान, मद्यपान, लागूऔषध सेवन, हिंसा, लुटपाट, अस्वस्थकर खाना, ताजा हरियो सागपात र फलफूलको कमीले गर्दा सहरियाहरूको जीवन प्रत्येक पल जोखिमपूर्ण बन्दै गइरहेको पाइन्छ।

सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौंको गोर्कणेश्वर नगरपालिकाले घरघरबाट निस्कने फोहोरलाई धुवाँरहितरूपमा जलाउने जापानी प्रविधिको इन्सिनरेटर जडान गरी आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरु केही महिनादेखि गर्दैछ। मेसिनले निस्केको धुवाँलाई मेसिनभित्रै फिल्टर गरेर धुवाँ शुद्धीकरण गरी मानिसले प्रयोग गर्न सक्ने बाफको रूपमा बाहिर फाल्छ। दैनिक २५ टन कुहिने र नकुहिने दुवै फोहोर सुकाएर जलाएर खरानी बनाउन सक्छ। एक सय किलो फोहोर जलाउँदा एक किलो मात्र खरानी निस्कन्छ। फोहोरलाई पुन: प्रयोग, पुनर्निर्माण र कम गर्ने गरी तीन भागमा विभाजन गर्दैं शून्य फोहोर र थ्रीआर—रिडक्सन, रियुज र रिप्रोडक्ट सिद्धान्तमा आधारित भएर प्लान्ट बनाइनु जरुरी छ।

अन्तमा, सडक, चौक र गल्लीको फोहोर सभ्य समाजका लागि लाज हो। प्रत्येक घर, अस्पताल, कारखाना, संघसंस्थाहरूले आफ्नो फोहोर आफैं जम्मा गरेर व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्छ। फोहोर व्यवस्थापन प्रत्येक नागरिकको कर्तव्य हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.