प्लास्टिकमा जेलिएको जिन्दगी
विश्वमा सबैभन्दा बढी प्लास्टिकको झोला प्रयोग हुने देशमध्ये एक थाइल्यान्डको एउटा घटना सन् २०१८ मा अन्तर्राष्ट्रिय समाचार बन्यो। थाइल्यान्डको समुद्रमा ८ किलो बराबरको ८० वटा प्लास्टिकका झोला खाएको एउटा ह्वेल माछा मृत अवस्थामा फेला परेको थियो। उसको शरीरभित्र भएका प्लास्टिकका कारण ह्वेल माछालाई आफ्नो आहारा खान असम्भव भएकाले मृत्यु हुन पुगेको समाचारलले प्लास्टिक झोलाको विषय फेरि बहसमा आयो। मानव–सभ्यताको यात्रामा प्लास्टिकको उदयबारे चर्चा गरौं। लगभग ८ अर्ब पुग्न लागेको विश्व जनसंख्यामध्ये बहुसंख्यकले बिहान उठेपछि प्रयोग गर्ने पहिलो वस्तु दाँत माझ्ने ब्रसदेखि अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षमा अक्सिजन सास फेर्नसमेत प्लास्टिकले बनेका सामग्री प्रयोग भएका हुन्छन्।
प्लास्टिक मानिसको दैनिक जीवन र हाम्रो वरिपरी यति गहिरोसँग जोडिएको छ कि हामी प्लास्टिकको प्रयोगका विषयलाई खासै महत्व दिन आवश्यक ठान्दैनौं। हुन पनि हामीलाई बिहान–सबेरै ब्युँझाउन पनि प्लास्टिककै अलार्म–घडी हुँदै दिनभरको २१औं शताब्दीको आधुनिक मान्छे हुनका लागि अपरिहार्य जस्तै भएका कुरा धेरै छन्। स्मार्टफोन र कम्प्युटरसम्मका दिनचर्याका उपयोगी वस्तुहरूमा प्लास्टिकको उपस्थितिलाई हेर्दा यो थाहा हुन्छ। नयाँ–नयाँ आविष्कारलाई प्रेरित गरेको छ र त जीवनलाई सहज, स्वस्थ र प्रत्येक दिन सुरक्षित बनाउन मद्दत गरेको छ। विज्ञान र प्रविधिको द्रुततर विकासका कारण सम्भव भएको आविस्कार र डिजाइनहरूमा प्लास्टिकको प्रयोगले नवीनता र उल्लेखनीय विशेषता थपिएका छन्।
प्लास्टिकको इतिहास त करिब डेढ सय वर्षको मात्र हो। आधुनिक जीवन बाँच्न अब प्लास्टिकबिना सम्भव छैन भएको छ। प्लास्टिकबिना जीवन नै सम्भव छैन जस्तो लाग्छ।
मोटरसाइकल चढ्दा प्रयोग हुने प्लास्टिकका हेलमेटहरू हुन् वा बच्चाहरूका लागि गाडीभित्र राखिने सुरक्षा सिटहरू हुन् अन्य सुरक्षा र स्वास्थ्य सेवासित जोडिएका विद्युतीय उपकरणहरू हुन्। सबैमा प्लास्टिकको मात्रा धेरै–थोरै प्रयोग भएकै हुन्छ। प्लास्टिकले हाम्रो दैनिक जीवनमा ल्याएको सुबिधा र छरितोपनाले अब यो बिनाको दैनिकी कल्पना गर्न पनि लगभग असम्भव छ। आधुनिक मनोरन्जनका उपकरणहरू त झन् प्लास्टिकबिना कल्पना पनि गर्न सकिँदैन। बच्चाहरूले खेल्ने खेलौनादेखि टेलिभिजन सबै प्लास्टिकले निर्माण गरिएको हुन्छ।
प्लास्टिकको इतिहास
प्लास्टिकको पहिलो प्रयोग बिलियार्ड (नेपालमा स्नूकर भनेर चिनिने एक किसिमको खेल) बलहरू बनाउन सन् १८३९ मा हात्तीको सँुडको विकल्पका रूपमा प्रयोग गर्न आविष्कार गरिएको भनिन्छ। ‘सेल्युलोइड’ नाम दिइएको सेतो रसायन हात्तीको सुँड जत्तिकै कडा र पानी न छिर्ने हुनाले बिलियार्ड बलका रूपमा यसको प्रयोग हुन थाल्यो। त्यसपछिका दिनमा सेल्युलोइडको प्रयोग फोटोग्राफी र चलचित्रका सामग्रीहरू, सांगीतिक यन्त्र र उपकरणहरू, चस्माको फ्रेमलगायत दैनिक रूपमा प्रयोग हुने काइँयो र ब्रस आदि बनाउन हुन थाल्यो।
सेल्युलोइडको प्रयोगका केही दशकपछि प्लास्टिकको अर्को रूप गालालिथ भन्ने नयाँ वस्तु प्रयोगमा आउन थाल्यो। कपडाका बटनहरू र चलन–चल्तीका पोसाकहरूमा गहना डिजाइन दिन प्रयोग हुने गा(लालिथ अहिले पनि बटनहरू बनाउन प्रयोग गरिन्छ। प्लास्टिकको विकास क्रममा पारदर्शी सेलोफेन (पानी कागज), सेलो (टाँस्ने) टेपमा प्रयोग हुने प्लास्टिक, खाद्यान्न प्याकेज हुँदै चेसका गोटीहरू र टेलिफोन जस्ता इलेक्ट्रोनिक उपकरणमा प्रयोग हुने तातो प्रतिरोधी पहिलो पूर्ण सिन्थेटिक प्लास्टिक बेकलाइटको प्रयोग सर्वत्र हुन थाल्यो। कपडामा लगाउने इस्त्री र भान्सामा प्रयोग हुने भाँडाकुँडाका ह्यान्डलहरूमा बेकलाइटकै कम्पोनेन्टहरू प्रयोग हुन्छन्। बेकलाइटको उदयपछि दोस्रो विश्वयुद्धताका र त्यसपछिका दशकहरूमा विकसित देशमा प्लास्टिकले परम्परागत सामग्रीहरू प्रतिस्थापन गर्न थाल्यो। सस्तो, उत्पादन गर्न सजिलो र बहुउपयोगी आफ्नो उपस्थितिलाई घर–घरमा बाक्लो बनायो। कागज, शिशा र काठका आकर्षक सामग्रीहरू पनि क्रमशः प्लास्टिकमा देखा पर्न थाले।
प्रविधि र मनोरन्जनको आमपहुँच र अभूतपूर्व आर्थिक प्रगतिले गर्दा सन् साठी र सत्तरीका दशकमा अमेरिका, युरोपलगायत विकसित मुलुकमा देखिएको उपभोक्तावादी संस्कृतिको विकासले अकल्पनीय ढंगले प्लास्टिकको खपत हुन थाल्यो। विकसित देशहरूमा बजारको आक्रामक विस्तार र भौतिकवादी चरित्रको सामाजिक संरचनाहरूले मान्छेलाई उपभोक्तामा परिणत ग¥यो। उपभोक्ता संस्कृतिको यो यात्रा प्लास्टिकको झोलामा टुंगिनु अपरिहार्य भयो। बिसौं शताब्दीको सुरुतिर अमेरिकामा सिन्थेटिक पोलिमरमा आधारित पोलिथिनको आविष्कार भयो। फलस्वरूप हामीले दैनिक रूपमा प्रयोग गर्ने प्लास्टिकको झोलाको जन्म भयो।
रोचक कुरा त यो छ कि विकसित देशहरूमा जंगल मासेर बनाइएको कागजको झोलाको विकल्पका रूपमा वातावरण विनास रोक्न प्लास्टिकको झोला विकसित गरी सर्वसाधारणले प्रयोग गर्ने गरी आमप्रचलनमा ल्याइयो। बितेका दशकहरूमा बजार र किनमेल भन्नेबित्तिकै अभिन्न अंगकै रूपमा जोडिएर आउने प्लास्टिकको झोलाहरू नेपालमा सर्वव्यापी प्रयोग हुन थालेको इतिहास सन् ८० को दशक हो। हामी सानै छँदा बजारमा कुनै समय प्लास्टिकको झोला नौलो लागेको सम्झना छ। किराना पसलदेखि नाम चलेका डिपार्टमेन्टल स्टोर अनि एयरपोर्टको ड्युटी फ्री झोलाहरू सबै प्लास्टिककै हुन्छन्। अझ विकसित देशहरूमा त स–साना घरहरूको छत, भित्ता, इन्सुलेसन सबैमा मुख्यतः प्लास्टिक नै प्रयोग गरिएको हुन्छ। पृथ्वीमा भएका सबै प्लास्टिकका सामानहरू तौलने हो भने एक अर्ब हात्तीको तौल बराबरको हुन्छ भन्छन् जानकारहरू। प्लास्टिक थुप्रिनुको प्रमुख कारण यसको ‘डिस्पोजेबल प्रकृति’ अर्थात् ‘युज एन्ड थ्रो’, कम समयका लागि प्रयोग गर्ने अनि फाल्ने आधुनिक संस्कृति हो।
डिस्पोजेबल उपभोक्ताबाट सचेत उपभोक्तातिर
हजारौं वर्षसम्म प्लास्टिकबिना पनि मान्छेको अस्तित्व सम्भव थियो। हजारौंं वर्षभित्र प्लास्टिकको इतिहास त करिब डेढ सय वर्षको मात्र हो। हामीलाई प्लास्टिकबिना जीवन नै सम्भव छैन जस्तो लाग्छ। प्लास्टिकको आविष्कार हुनुभन्दा अघि माटो, काठ, धातु, शिशा, रूखको चोपहरू प्रयोग हुन्थे। आधुनिक जीवन बाँच्न अब प्लास्टिकबिना सम्भव छैन जस्तो लाग्छ। प्लास्टिक निर्मित स्वास्थ्य उपकरणदेखि लिएर यातायातका आधुनिक साधनहरू, चस्मा, घडीदेखि लिएर बैंक कार्ड, खानेपानी ट्यांकीदेखि लिएर पीभीसी पाइपसम्ममा प्लास्टिकको प्रयोग छ। जसले आधुनिक जीवन बाँच्न अब प्लास्टिकबिना सम्भव छैन। केही हदसम्म यो सत्य पनि हो। अमेरिकी वैज्ञानिकहरूले गरेको गणनाअनुसार विगत ६५ वर्षमा लगभग आठ खर्ब टन प्लास्टिकको उत्पादन भएको छ।
प्लास्टिकको महासागरमा बाँच्न विवश छौं। प्लास्टिकका कारण पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको उत्सर्जनले जलवायु परिवर्तनमा प्रत्यक्ष र नकारात्मक असर छ। यसले पृथ्वीको स्वच्छताको क्षमतालाई खतरामा पारिरहेको रिपोर्ट आइरहेकै छन्। केही बर्षअघि गरिएको एउटा अध्ययनले नेपाल जस्तो विकासोन्मुख देशमा प्लास्टिकजन्य फोहोरमैलाको उचित व्यवस्थापनको अभाव र जलाइएको प्लास्टिक फोहोरका कारण प्रत्येक ३० सेकेन्डमा एक जनाको मृत्यु हुने तथ्यांक सार्वजनिक गरेको थियो। कतिपय विकासोन्मुख देशमा उपयुक्त पूर्वाधारहरूको अभाव र अव्यवस्थित प्लास्टिकजन्य फोहोरको थुप्रोले प्राकृतिक जलमार्गहरू अवरुद्ध गर्दै विपत्ति निम्त्याएका घटनाहरू छन्।
प्लास्टिकको बढ्दो माग र पर्यावरणका लागि ठूलो चुनौतीहरूमध्ये एक प्लास्टिक प्रदूषणको आजको वास्तबिकता सित जुध्न समाधानहरू पनि भेटिँदै जालान। पर्यावरण मैत्री, जैविक र नवीकरणीय सामग्रीहरूको अनुसन्धान गरी ढिलो–चाँडो प्लास्टिक जत्तिकै अथवा अझ बहुउपयोगी नयाँं चमत्कार को अविष्कार कुनै प्रयोगशालामा भइरहेको होला। आधुनिक जीवनलाई सहज बनाउन प्लास्टिकले महत्वपूर्ण खेल्यो। तर, पर्यावरणीय चुनौतीका चाङहरू पनि खडा ग¥यो। प्लास्टिकमा रहेका रसायनहरूको मान्छेसितको प्रत्यक्ष सम्पर्कले क्यान्सर, जन्मजात असक्षमता, प्रतिरक्षा प्रणाली समस्याहरू जस्ता स्वास्थ्य जटिलताहरूले पनि प्लास्टिकको भरपर्दो विकल्पलाई प्राथमिकता दिन थालिएको छ।
प्लास्टिकका फाइदा र बेफाइदा दुवैलाई ध्यानमा राख्दै आफ्ना उपभोगमा चेतनशील हुँदैछन् मानिस। पर्यावरणमैत्री जीवनशैली अपनाउने र अरूलाई पनि त्यही गर्न प्रोत्साहन गर्ने ‘कन्सस’ उपभोक्ताको एउटा जमात तयार हुँदैछ। यो समूहले आफूले बजारमा खरिद गर्ने दैनिक उपभोग्य वस्तुहरू र सामानहरूको उत्पादन प्रक्रियालाई ध्यान राख्ने र आफ्नो उपभोगको अर्थपूर्ण र आलोचनात्मक ढंगले हेर्न थालेको छ। प्राकृतिक स्रोत र साधनको बुद्धिमत्तापूर्ण उपयोग र आफूले प्रयोग गर्ने वस्तुको उत्पादन र वितरण प्रणाली र उपभोग सबैमा जवाफदेही उपभोक्ताको सुनिश्चित गर्न चाहन्छ। जुन सबैका लागि राम्रो कुरा हो।